दुई मञ्चमा आदिवासी जनजाति दिवस

भाषा पहिचानको सशक्त कडी : देव गुरुङ


लमजुङ । संघीय संसदमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देव गुरुङले भाषा जातीय पहिचानको सशक्त कडी हो भन्नुभएको छ । २५औं आदिवासी तथा अन्तराष्ट्रिय भाषा दिवसका अवसरमा जिविसको सभाहलमा आयोजित कार्यक्रमको उदघाटन गर्दै त्यस्तो बताउनु भएको हो ।

उहाँले जातीय पहिचानका विभिन्न सशक्त माध्यम मध्ये भाषा प्रमुख हो भन्नु भएको छ । उहाँले भाषा हरायो भने संस्कार संस्कृति सभ्यता सबै हराउँछ भन्दै इतिहास चिनारीको आधार भाषा भएकाले यसको संरक्षण र सम्वद्र्धनका लागि यो वर्ष सरकारले विशेष कार्यक्रम लाउन लागेको बताउनुभयो । उहाँले पहिचानका लागि भाषाको संरक्षण मूल कारण भएको हुँदा २५औं आदिवासी दिवसलाई अन्तराष्ट्रिय भाषा दिवसका रूपमा मनाइएको हो भन्नुभयो । उहाँले विश्वमा आदिबासीको जनसंख्या पाँच प्रतिशत रहेको र तीमध्ये १५ प्रतिशत गरीबीको रेखा मुनी रहेको बताउनु भयो ।

मानवसभ्यताको विकासको क्रममा पशुपालनसँगै खेतीपातीको परम्पराको विकाससँगै आदिबासी जनजातिको पहिचान हुन थालेको बताउनु भयो । उहाँले संरासंघले सन् १९९४ देखि एक दशकसम्म मर्यादाको दशकको रूपमा मनाएको र त्यसपछि पनि प्रत्योक वर्ष यो अभियानलाई सार्थक बनाउन अगष्ट ९ तारिखका दिन यो दिवस मनाइएको बताउनु भयो । उहाँले समान पहुँचका लागि आदिवासी अधिकार आवश्यक छ भन्नुभयो । कार्यक्रममा उहाँले केक काट्नु भएको थियो भने उहाँलाई बेसीशहरका तमुसमाजको तर्फबाट सम्मान पनि गरिएको थियो ।

गण्डकी प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक तथा सोही दलका लमजुङ इन्चार्ज मायानाथ अधिकारीले संविधानमा उल्लेख भएका अधिकारको व्यवहारमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले पहुँच र अधिकारका लागि थप जागरुक हुन आयोजक र सहभागीलाई आह्वान गर्नु भएको थियो ।

कार्यक्रममा समन्वय समितिका प्रमुख लोकराज पाण्डे, दुरा समाजका केन्द्रीय सचिव इन्द्र दुरा, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, आदिवासी जानजाति महासंघ पूर्वजिल्ला उपाध्यक्ष इमानसिंह तामाङ, जिल्ला ह्योल्मो समाजका अध्यक्ष यमबहादुर लामा, दुरा सेवा समाज लमजुङका अध्यक्ष कुमारध्वज दुरा, तमु ह्युला छोज धीं गुरुङ राष्ट्रिय परिषद् लमजुङका सचिव जिवराज घले, कुमाल समाजका जिल्ला अध्यक्ष कुमार कुमालसहितले शुभकामना व्यक्त गर्नु भएको थियो ।

आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष हरिजंग तामाङका अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य धर्मराज श्रेष्ठले स्वागत तथा सञ्चालन आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङका सचिव यामबहादुर आलेले गर्नुभएको थियो ।
यसैबीच, आदिवासी जनजाति महासंघकै अर्को कार्यक्रम तमु छोंजधिंको सभाहलमा गरिएको छ ।आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य खेमजंग गुरुङको विशेष आतिथ्यतामा भएको सो कार्यक्रममा उहाँले २५औं आदिबासी जनजाति दिवसलाई संघर्षको रूपमा मनाउन केन्द्रले निर्देशन दिएको जानकारी दिनु भयो । उहाँले आदिबासीको अधिकार के हो ? त्यसमा एफपिआईसीबाट प्राप्त अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्दै नीतिगत जानकारी बिना आन्दोलन अधुरो हुने बताउनु भयो । उहाँले जिल्लाका हाइड्रो पीडित र उनीहरूको अधिकारका लागि सञ्चालन गरिएको आन्दोलनका बारेमा जानकारी गराउनु भएको थियो ।

उक्त कार्यक्रममा अर्का विशेष अतिथि तमुह्योला छोजधिं गुरुङ राष्ट्रिय परिषद भोटेओडारका पूर्व अध्यक्ष टकमाया गुरुङ, मगर संघका पूर्व केन्द्रीय सदस्य बलबहादुर रानाले आदिवासी जनजातिको आन्दोलनका बारेमा विश्लेषण गर्नु भएको थियो । आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष दूधकाशी तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विकास गुरुङले गर्नु भएको थियो ।

यो समितिवालाले हरिजंग समितिवालालाई राजनीतिकरणबाट हावी भएको समिति दावी गर्दै आफू आधिकारीक भएको बताउने गरेका छन् । अर्को समिति समितिले दुधकाशीको अध्यक्ष रहेको समितिलाई अहमताको उपज भन्ने दावी गर्दै आफू आधिकारीक भन्ने दावी गरेका छन् । आदिवासीको केन्द्रले दुवैलाई मिलेर आउनु भन्ने निर्देशन दिई दुवै समितिलाई को आधिकारीक हो भन्ने घोषणा नगरेको बुझिएको छ ।