कांग्रेस बैतडीको उपसभापतिमा चन्द


बैतडी । नेपाली कांग्रेस बैतडीको उपसभापतिमा चतुरबहादुर चन्द मनोनयन हुनु भएको छ । जिल्ला कार्यसमितिमा सभापति नरेन्द्रसिंह थापाले चन्दले उपसभापतिमा मनोनयन गर्नका लागि गरेको प्रस्ताव सर्वसम्मत पारित भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको विधान २०१७ (संसोधित सहित ) को दफा १० को २ क(३) बमोजिम जिल्ला कार्यसमितिका पदाधिकारीमा निर्वाचित कार्यसमिति सदस्य/महासमिति सदस्य/महाधिवेशन प्रतिनिधि मध्येवाट पदाधिकारी मनोनयन हुने व्यवस्था रहेको छ ।

यस्तै जिल्ला कार्यसमितिले लेखापरीक्षण गरेर एकप्रति पार्टीका सबै निकायहरुलाई पठाउने निर्णय समेत भएको छ । शनिवार पार्टी सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा बसेको बैठकमा पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दको समेत उपस्थिती रहेको थियो ।
यसैबीच नेपाली कांग्रेस बैतडीको उपसभापतिमा मनोनित चतुरबहादुर चन्दले पार्टीलाई गतिशील बनाउने दाबी गर्नुभएको छ । उपसभापति चन्दले जिल्लाभरी पार्टीको संगठनलाई मजबुत बनाएर लैजाने बताउनुभयो । जिल्लामा पार्टीलाई एकढिक्का बनाएर लैजाने र भातृसंस्थाहरुलाई पनि गतिशीलता प्रदान गर्ने उपसभापति चन्दको दाबी रहेको छ ।

नेपाली कांग्रेस बैतडीको १३ औं जिल्ला अधिवेशन सम्पन्न भएको ३ बर्ष सम्म पनि पुर्ण हुन नसकेको अवस्था तथा बैतडीमा नेपाली कांग्रेसको संगठनलाई सुदृढ गर्ने उद्देश्यले चन्दलाई उप– सभापतीमा मनोनित गरेको सभापती थापाले बताउनुभयो । उप– सभापतीमा मनोनित चन्द यसअघि नेपाली कांग्रेसका महासमिति सदस्य रहेका थिए ।