सवारी व्यवस्थापनमा बाधक टेम्पो र रिक्साको छिटै व्यवस्थापन गर्छौँ : मन्त्री चौधरी


यमलाल भुसाल, बुटवल । प्रदेश पाँचका भौतिक पूर्वाधार बिकास मन्त्री वैजनाथ चौधरीले टेम्पो तथा ई–रिक्साका कारण तराईका जिल्लामा सवारी व्यबस्थापनमा समस्या बढ्दै गएको उल्लेख गर्दै अव छिटै त्यसको व्यबस्थापन गरिने बताउनु भएको छ ।

मन्त्री चौधरीले स्थानीय तहको आवश्यकताका आधारमा संख्या निर्धारण गर्ने र त्यसैका आधारमा स्थानीय तहले नै दिएको रुट प्रमिट अनुसार दर्ता गरिने बताउनु भयो ।

मन्त्रीकै रोहवरमा गत चैतमा बसेको यातायात व्यबस्था कार्यालयको बैठकले गत बैशाख मसान्त सम्मलाई समय निर्धारण गरि स्थानीय तहको सिफारिसका आधारमा साना (ई–रिक्सा) सवारी साधन दर्ता गर्ने निर्णय भएको थियो । उक्त निर्णय अनुसार स्थानीय तहले रुट निर्धारण गर्ने र प्रमिट दिने तथा त्यस्ता रिक्सालाई दर्ताकालागि सिफारिस गर्नुपर्ने छ ।

तर स्थानिय निकायबाट अहिलेसम्म एउटा पनि सिफारिस नआउँदा त्यस्ता सवारी साधन दर्ता हुन नसकेको मन्त्री चौधरीले बताउनु भयो । अब स्थानीय तहलाई केही समय दिईने र सिफारिस सहित दर्ताका लागि आउँदैनन् भने बिना दर्ता सञ्चालन हुने रिक्सालाई कारवाही गरिने मन्त्री चौधरीले बताउनु भयो ।

लुम्बिनी ईम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले शनिवारदेखि बजारमा ल्याएको भारतीय कम्पनीको बिद्युतीय टेम्पो तथा बिद्युतीय साईकलको बिक्रि शुभारम्भ गर्दै मन्त्री चौधरीले आवत जावतका लागि जनतालाई सहज भएपनि आवश्यक भन्दा धेरै र अव्यबस्थित सञ्चालनका कारण ट्राफिक व्यबस्थापनमा समस्या भएको बताउनु भयो ।

उहाँले यसको व्यबस्थापनको प्रमुख काम स्थानीय तहको भएको बताउँदै स्थानीय तहमा कति आवश्यक हो ? त्यसको लेखाजोखा गरेर रुट समेत निर्धारण गरि सम्बन्धित स्थानीय तहले सिफारिस गर्नुपर्ने बताउनु भयो ।

‘‘ई–रिक्सालाई व्यबस्थित गर्नकालागि दर्ता हुनुपर्यो, अनि पूर्ण रुपमा ईन्स्योरेन्स हुनुपर्यो, लाईसेन्स हुनु पर्यो ।”, उहाँले भन्नुभयो–‘दर्ता पनि नहुने, ईन्स्योरेन्स पनि नहुने, चालकको लाईसेन्स पनि नहुनेलाई सवारी सञ्चालन गर्न दिँदैनौं ।” उहाँले यी तीन कुरा नभएकालाई सवारी सञ्चालन गर्न दिनुपर्छ भनेर कसैलाई पनि पैरवी नगर्न आग्रह गर्नुभयो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले ट्राफिक नियमको पालना गरेर मात्रै सवारी चलाउन आग्रह गर्दै अटो रिक्साका कारण बुटवल तथा आसपासका क्षेत्रमा ट्राफिक व्यबस्थापनमा समस्या भएको बताउनु भयो । उहाँले अटो रिक्सालाई व्यस्थित गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको समेत उल्लेख गर्नुभयो ।

यातायात व्यबस्था कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डेले ट्राफिक व्यबस्थापनमा ई रिक्सा चुनौती बनेको भएपनि यसको व्यबस्थापनमा भएका प्रयासमा सरोकारवालाले ध्यान नदिएको बताउनु भयो । उहाँले बैशाख मसान्त सम्ममा यसलाई व्यबस्थापन गर्नेगरी कार्यालयले योजना बनाएको भएपनि गत बैशाख मसान्तसम्मलाई दिईएको समयमा सिफारिस लिएर कोही पनि दर्ताकालागि नआएको बताउनु भयो ।

त्यस अवसरमा कम्पनीको तर्फबाट ईलाका प्रहरी कार्यालय बुटवललाई ५ थान बिद्युतीय साईकल प्रदान गरिएको थियो ।
त्यस अवसरमा रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिका निर्देशक ज्ञानप्रसाद बस्यालले स्थानीय तहहरुले अहिले ग्रिन सिटी बनाउने काम सुरु गरेकाले त्यसमा सहयोगी बन्नका लागि वातावरण मैत्री टेम्पो तथा साईकल ल्याएको बताउनु भयो । उहाँले यस्ता साधन

सञ्चालनकालागि अझै पनि दर्तामा समस्या भएको बताउँदै दर्तालागि सहज वाताबरण बनाईदिन मन्त्री चौधरीलाई आग्रह गर्नुभयो ।
भारतीय कम्पनी गयम मोटर्स वक्र्सको उत्पादन ई–टेम्पो तथा चिनियाँ कम्पनीको ई–साईकल वातावरण मैत्री भएको कम्पनीका अर्का निर्देशक निराजन कंडेलले बताउनु भयो । उक्त ई–टेम्पोको नेपाली बजारमा बिक्रि मुल्य ६ लाख रुपैंया र ई–साईकलको बिक्रि मुल्य ५० हजार रुपैंया रहेको उहाँले बताउनु भयो ।