वारीबेनी र सेतिबेणी बजार जोखिममा, तटबन्ध बनाउन माग


दुर्गाप्रसाद शर्मा, पर्वत । वर्षा याम शुरु भएपछि पर्वतका दुई महत्वपुर्ण ब्यापारिक केन्द्र वारीबेनी र सेतीबेणीबजार कालीगण्डकीको कटानका कारण जोखिममा परेका छन ।

म्याग्दीको सदरमुकाम बेनी संग जोडिएको बेनीबजार र तीन जिल्ला र दुई प्रदेशको संगम संगममा रहेको सेतीबेणीबजारमा कटानका कारण बजार नै डुबान र बगाउने खतरा आएको हो ।

कालीगण्डकीको निरन्तर कटानका कारण जोखिममा रहेका यी दुई बजारलाई बचाउनका लागि स्थायी प्रकृतिको तटबन्ध बनाउनुपर्ने माग आएको छ । प्रतिनिधीसभाको शुन्य समयमा बोल्दै पर्वतबाट निर्वाचित प्रतिनिधीसभा सदस्य पदम गिरीले कालीगण्डकीको कटान नरोक्ने हो भने वारीबेनी र सेतीबेणी बजार बगाउने खतरा रहेको छ भन्नुभयो । उहाँले बजार संरक्षणका लागि आवश्यक बजेट ब्यबस्था गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनलाई अनुरोध पनि गर्नुभयो ।

पर्वतको जलजला गाउँपालिका वडा नं ३ मा पर्ने वारीबेनी र बगरफाँट बजारमा कालीगण्डकी नदीको कटानबाट बचाउन तारजाली नदीले बगाउँदै आएको छ । यस बर्ष पनि बजार संरक्षणका लागि तटबन्ध बनाइएको छ । तर म्याग्दीको बेनी बजार तर्फ स्थायी खालको तटबन्ध रहेकाले नदीको धार पर्वत तर्फ सोझिदै आएको छ । हरेक बर्ष नदीको धार सोझिदै आएका कारण समस्या भएको उद्योग बाणिज्य संघ वारीबेनी उपशाखाका अध्यक्ष डिलबहादुर बरुवालले बताउनुभयो ।

यसैगरि साविक धौलागिरी, गण्डकी र लुम्बिनी अञ्चल तथा, पर्वत, स्याङजा र गुल्मी जिल्लाको संगममा रहेको सेतिबेणीबजार कालीगण्डकी ‘ए’ को बाँध र कालीगण्डकीको कटानका कारण हरेक बर्ष डुवानको पर्ने खतार बढेको हो । बर्षायाम सुरु भएसंगै नदीको सतह बढ्न थालेकाले बजार डुवानको खतरामा परेको स्थानियबासी बताउँछन । बाँधकै कारण एसियाकै ठूलो शालिग्राम शिला समेत खतरामा परेको छ । शिला वरीपरीको भाग नदीले खोलेको छ ।

उक्त बजारमा पाल्पा,बुटवल,भैरहवाबाट खाद्य सामग्री ल्याई बिक्रि गर्ने गरिएको छ । तीन जिल्लाको प्रमुख ब्यापारिक केन्द्र रहेको उक्त बजार आसपासमा बांध निर्माण गर्न नसक्दा खतरा बढेको हो । नदीमा यात्रु र सामान ढुवानी गर्दै आएका स्टिमर भने नदीमा पानीको बहाव बढेसंगै बन्द भएका छन् । ड्यामले गर्दा बजारमा खतरा बढेपनि यसबारे कसैलाई नभनेको बजारबासीले बताए ।