उत्कृष्ट सामुदायिक वन पुुरस्कारद्वारा दम्सीडोल प्रथम

94
Shares

ललितपुर । जिल्लाको सामुदायिक वन विकास कार्यक्रम तर्फको उत्कृष्ट सामुदायिक वन पुरस्कारद्वारा दम्सीडोल ठूलो सामुदायिक वन उपभोक्ता समूह प्रथम भएको छ ।

डिभिजन वन कार्यालय, ललितपुरले दिने यस वर्षको पुरस्कारद्वारा गोदावरी–६, को उक्त वन उपभोक्ता समूह प्रथम भएको हो ।
राष्ट्रिय वनमा नविनतम सोच, उत्पादन, उद्यम र समृद्धिमा जोड भन्ने मुल नाराका साथ शनिवार गोदावरी–६ स्थित पन्युँडाँडा सामुदायिक वन उपभोक्ता समूह छम्पीमा भएको कार्याक्रम दम्सिडोल सहित तीन सामुदायिक वन पुरस्कृत भएको हो ।

राष्ट्रिय सामुदायिक वन दिवस २०७६ को अवसर पारेर डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वन उपभोक्ता महासंघ ललितपुरको आयोजनामा पुरस्कार वितरणका साथै वृक्षारोपण समेत भएको सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रेमा थापाले बताउनुभयो । उक्त कार्यक्रममा पन्युँडाँडामा लौठसल्लो, पैयुँ, बकैनु, धुपी लगायतका विरुवा रोपिएको छ ।

जिल्लाभरीको सबै सामुदायिक वन समूह उत्कृष्ट रहेको बताउँदै उक्त उत्कृष्ट समूहहरु मध्ये तीन समूहलाई उत्कृष्ट घोषणा गरी प्रोत्साहन स्वरुप नगद सहित पुरस्कार दिएको डिभिजनल वन प्रमुख नविन गिरीले बताउनुभयो ।

कार्यक्रममा कोन्ज्योसोम–५ को गुप्तेश्वर पाखा सामुदायिक वन उपभोक्ता समूह द्धितीय र महांकालको खोर भञ्ज्यांङ सामुदायिक वन उपभोक्ता समूह तृतीय हुन सफल भएको छ ।

महासंघको जिल्ला अध्यक्ष प्रेम घिमिरे, वडा अध्यक्ष आत्मराम थापाले कार्याक्रमलाई सम्बोधन गर्दै सामुदायिक वनले परम्परागत काठ दाउराको भर परेर मात्रै नभई बढी भन्दा बढी लाभ लिन सक्ने बोटविरुवा रोप्नु पर्ने धारणा राख्नुभयो ।