मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने, बिस्तार कार्य सुचारु गर्ने तयारी


पर्वत । तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ्ग खण्डमा अबरुद्ध सडक सञ्चालनमा आउन करिब तीन हप्ता लाग्ने भएको छ भने पर्वत खण्डमा रोकिएको सडक बिस्तारको काम छिट्टै सुचारु गरिने भएको छ ।

बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा रहेको तुरतुरे ताल फुट्दा सोमबार मध्यपहाडी लोकमार्गको २ सय मिटर सडक बगाएको थियो । सडकमा नयाँ ट्रयाक खोल्न करिब तीन हप्ता लाग्ने अनुमान गरिएको मध्य पहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ ।

बाढीले बगाएको क्षेत्रमा नयाँ ट्रयाक खेल्नुपर्ने भएकाले भदौ ५ सम्म सडक सुचारु गर्न सकिने आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले बताउनुभयो । पहिरो र बाढीले बगाएको सडक भन्दा १० मिटर माथिबाट नयाँ ट्रयाक खोल्ने काम सुरु भएको छ । ‘छिटो काम सकिँदा पनि भदौको पहिलो साताभित्र यातायात सञ्चालन गर्न सक्ने बिश्वास लिएका छौ’ उहाँले भन्नुभयो ‘ ट्रयाक खोल्ने ठाउँमा ठूलो ढुंगाको चट्टान भएकाले थप केही समय पनि लाग्न सक्छ’ तत्कालका लागि अस्थायी ट्रयाक खोल्ने र पछि पुरानै ठाउँबाट सडक सञ्चालन गर्ने योजना रहेको छ ।

सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन ठप्प छन् । लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फपनि सवारीसाधन चल्न नसकेको बताइएको छ । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारीसाधन बडीगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् । बुर्तिबाङ क्षेत्रबाट छुट्ने सवारीसाधन ढोरपाटन नगरपालिका–२ तुरतुरे नजिक आएर रोकिने गरेको बताइएको छ ।

यसैगरी लोकमार्गको पर्वत खण्डमा दुई महिना देखि रोकिएको सडक स्तरउन्नतीको काम पनि भदौको पहिलो साता देखि पुर्णरुपमा सुचारु हुने भएको छ । असारपछि रोकिएको बिस्तारको काम सुचारु गर्ने तथा तत्काल खाल्डा पुर्ने र अत्यावश्यक ठाउँमा मर्मत लगायतका काम शुरु गरिएको आयोजना जिल्ला कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले बताउनुभयो । ‘निर्माण ब्यबसायीलाई निरन्तर दबाब दिने काम भैरहेको छ’ उहाँले भन्नुभयो ‘अब काममा ढिलाई हुँदैन, तत्काल शुरु हुन्छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने पोखरा –बागलुङ्ग खण्डमा सडक बिस्तारका क्रममा बनेका खाल्डामा जमेको पानी र जुनसुकै बेला पनि पहिरो खस्न सक्ने खतरा भएकाले सडक बिस्तार र खाल्डा पर्न माग हुँदै आएको छ । प्रतिनिधीसभाको शुन्य समयमा बोल्दै पर्वतबाट निर्वाचित साँसद पदम गिरीले सडकमा रहेका खाल्डाखुल्डी र पहिरो झर्ने खतराका कारण रोकिएको काम तत्काल शुरु गर्न माग गर्नुभएको थियो । बर्षा शुरुभएपछि धेरै ठाउँमा पहिरो झरेको छ भने कटान गरिएका भीरहरुमा जुनसुकैबेला पनि पहिरो खस्ने संभावना छ । सडकको पर्वत खण्डमा पर्ने कुस्मा देखि पातीचौर सम्म र डिमुवा देखि नयाँपुल खण्ड तथा कास्कीमा पर्ने नयाँपुल देखि गिरीचोक सम्मको खण्ड पहिरोको उच्च जोखिममा छ ।

आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ । कम्पनीले असार सम्ममा ९० प्रतिशत काम सक्ने लक्ष्य सहित काम गरेपनि अहिले सम्म ५० प्रतिशत जति काम भएको छ ।