अवैध नापतौल सामग्री नियन्त्रणमा, लापरवाही देखिए कारवाही


चिप्लेढुङ्गा । पोखरा मुख्य व्यापारिक क्षेत्रको बजार अनुगमन गर्दा अवैध तरिकाले नापतौल र मानापाथी प्रयोग भएको पाइएपछि नियन्त्रणमा लिन थालिएको छ । पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालय र उपभोक्ता मञ्चले गरेको बजार अनुगमनमा उक्त नापतौलका सामग्री नियन्त्रणमा लिइएको हो ।

संयुक्त अनुगमन टोलीले स्प्रिङ ब्यालेन्स तराजु ३१, माना १९ र अन्य १९ गरी ६९ थान नापतौलका सामग्री नियन्त्रणमा लिएको उपभोक्ता मञ्चका अध्यक्ष कपिल कोइरालाले जानकारी दिनुभयो । महेन्द्रपुल, पृथ्वीचोक र चिप्लेढुङ्गा क्षेत्रका फुटपाथमा गरिएको अनुगमनमा त्यस्ता नापतौलका सामग्री भेटिएको उहाँले बताउनुभयो ।

स्प्रिङ ब्यालेन्स तराजुबाट उपभोक्ताका लागि सामान खरीद बिक्री गर्न पाइँदैन यो अवैध हो, स्प्रिङ तराजु प्रयोग गर्दै जाँदा लुज हुने र त्यसले एक हजारबाट घट्दै ६०० ग्रामसम्म देखाउने हुँदा यस्तो तराजुबाट उपभोक्ता ठगिने नापतौल विभागका अनुगमन निरीक्षक युवराज अधिकारीले बताउनुभयो । पहिलो चरणको अनुगमनमा कम लगानीका साना व्यापारी भएकाले सजक गराइएको र दोस्रो चरणको अनुगमनमा पनि लापरवाही देखिए कारवाही गरिने उहाँले बताउनुभयो ।रासस