पार्टी छोड्ने कागज गर्दै, विप्लवका कार्यकर्ता रिहा


भद्रपुर । नेकपा विप्लब समूहका एक कार्यकर्ता रिहा भएका छन् । पार्टी त्यागेर स्वतन्त्र जीवन बिताउने विज्ञप्ती जारी गरेपछि २५ दिन अघि पक्राउ परेका झापाली कार्यकर्ता रिहा भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर–१० का ४१ वर्षीय अधिकारीलाई प्रहरीले झापाबाट काठमाडौं जान लाग्दा विर्तामोडमा पक्राउ गरेको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाउँनुभयो ।

रिहा भएका अधिकारीले आगामी दिनमा समेत सो पार्टीमा नलाग्ने लिखित प्रतिबद्धता विज्ञप्तिमार्फत सार्वजनिक गरेपछि उनलाई जिल्ला प्रशासन कार्यालय झापाले रिहा गरी परिवारलाई जिम्मा लगाएको बताउँनुभयो ।

नेकपा बिप्लव समूह प्रतिबन्धित भएपछि झापामा पक्राउ परेकामध्ये ५ जना कार्यकर्तालाई स्थानीय प्रशासनले स्वतन्त्र जीवन बिताउने लिखित प्रतिबद्धता पश्चात रिहा गरिसकेको छ । प्रतिबन्ध घोषणापछि जिल्लामा १६ जना विप्लवका कार्यकर्ता पक्राउ परेको प्रहरीको भनाई छ ।