एकै परिवारका ३ सदस्यमा डेंगु


सरोज यादव, विराटनगर । पूर्वका विभिन्न स्थानमा डेंगुको संक्रमण फैलिरहेका बेला विराटनगरमा पनि एकै परिवारका तीनजनामा डेङ्गुको संक्रमण फेला परेको छ । पछिल्लो समय छिमेकी जिल्ला सुनसरीको धरान, इनरुवा लगायतका स्थानमा डेङ्गुका बिरामीको संख्या थपिदै जाँदा विराटनगरभित्र पनि एउटै घरका ३ जनामा डेङगुको संक्रमण देखिएको छ ।

विराटनगर–३ का जगनाथ गुरागाई, सूर्य गुरागाई, सुदृष्टि गुरागाई डेंङगुबाट संक्रमित भएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । विराटनगरमा हालसम्म २१ जनामा डेङ्गु देखा परेको छ भने महानगरपालिकाले खोज र नष्ट गर अभियान निरन्तर जारी राख्नुका साथै जनचेतनाका कार्यक्रम गर्दे आएको स्वास्थ्य महाशाखाका प्रमुख लजिता योञ्जनले बताउनुभयो ।

यस्तै विराटनगरस्थित कोशी अस्पतालमा उच्च ज्वरो आएर आउनेमध्ये जेठ ३२ गतेदेखि हालसम्म ३२ जनामा डेङ्गु रोग भेट्टिएको इमर्जेन्सी विभागका इन्चार्ज रघुनन्दन अधिकारीले बताउनुभयो । उहाँले प्लेटेलेट शरीरमा १ लाखभन्दा कम हुनु र डब्लु बिसी ४ हजारभन्दा कमी देखिएमा डेङ्गु परीक्षण गर्ने गरेको बताउनुभयो ।

मोरङमा हालसम्म ७५ जनामा डेङ्गु संक्रमित पाइएको छ । धरानमा भने ४ हजार डेंगु संक्रमित फेला परेका छन् ।