मालढुंगा माझी बस्तीको पीडा: दुई महिना बालुवा निकालेर बर्ष दिनलाई गर्जो

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
कालीगण्डकी नदीमा उर्लेको भेलमा बालुवा निकालेर यहाँका डेढ सय परिवारले जीविका चलाउँदै आएका छन ।

पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगाको बगरमा बालुवा चालेर माझी बस्तीका मज्दुरहरुले दुई महिना बालुवा निकालेर बर्षभरीका लागि गुजारा चलाउँदै आएका हुन ।

पोखरा–बाग्लुङ सडक निर्माणका तीन दशक पहिले देखि आएका मज्दुरले सडक निर्माणको काम पछि मालढुंगामा नै कालीगण्डकीको बालुवा चालेर जीबिकोपार्जन गर्दै आएका हुन । नदी किनारको बगरमा बस्ती बसाएपछि बिहान बेलुका हातमुख जोड्न बालुवा निकाल्दै आएको स्थानिय बिष्णु माझी बताउनुहुन्छ । ‘साउन भदौको भेलमा बालुवा निकालेर हिउँदमा खाने अन्नको जोहो गर्नुपर्छ ’ उहाँले भन्नुभयो ‘यो बेला दुःख नगरे हिउँदभर खाने खर्च हुँदैन’
कालीगण्डकी किनारमा असारदेखि भदौसम्म स्काभेटर प्रयोग गरेर खोलाकिनारको बालुवा निकाल्न स्थानीय तहले रोक लगाएको छ । स्काभेटर प्रयोग गर्न स्थानिय तहले रोक लगाएपछि पछि मज्दुरले निकालेको बालुवाले राम्रो मुल्य पाएको छ । यतिबेला मेसिनले निकाल्न रोकेकोका कारण राम्रो मुल्य पाएको स्थानीय गणेश माझीले बताउनुभयो ।

अहिले भेलमा पसेर निकालेको बालुव ाप्रति ट्याक्टर चार हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। भदौको दोस्रो सातापछि बेल्चाले बालुवा निकाल्न स्थानीय तहबाट प्रतिबन्ध लगाउने भएकाले पनि यहाँका बासिन्दाहरु दिनरात नभनी बालुवा निकाल्नमै ब्यस्त छन । यहाँका महिला र पुरुषले नै समान रुपमा बालुवा निकाल्ने काम गरिरहेका छन ।

मज्दुरले ज्यान हत्केलामा राखेर निकालेको बालुवा पनि आफूखुसी बेच्न नपाउँदा निराश छन । ठेकेदारले मज्दुरबाट किनेको बालुवा दोब्बर मुल्यमा बिक्री गर्दै आएका छन । मजदुर संग ४ हजारमा किनेर ९ हजारमा बिक्री गर्दै आएको उनीहरुको भनाई छ । यहाँका अधिकांश पुरुष निर्माण मजदुर तथा ट्याक्टर र ट्रक व्यवसायीमा सहयोगीका रुपमा काम गर्दै आएका छन भने केही खाडी मुलुक पुगेका छन ।