पर्यटन मन्त्रीको ‘एक्सन’निगम सुधार गर्न समिति गठन

0
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले घाटामा गएको नेपाल वायुसेवा निगममा सुधार गर्नको काम अगाडि बढाउनु भएको छ । उहाँले निगममा भएको समस्या र समाधान खोजी गर्नका लागि सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गर्नुभएको हो ।

बुधबारको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलको संयोजक पूर्व सचिव सुशिल घिमिरे रहनुभएको छ भने सदस्यहरुमा लेखा विज्ञका रुपमा सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल र क्याप्टेन सुधीर शमशेर राई रहेका छन् ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव तोकिनुभएको छ । कार्यदललाई एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावको कार्यान्वयन गर्ने कार्ययोजना समेत पेश गर्न भनिएको छ ।

व्यवस्थापकीय समस्याबाट निगमबाहिर निस्किन नसकेको र प्रभावकारी व्यवस्थापनका विभिन्न प्रयासहरुले गति नलिएपछि ठोस योजना सहित अघि बढ्न लागिएको पर्यटन मन्त्रालयले बताएको छ । पर्यटन मन्त्री भट्टराईले निगमलाई सुधार गरेर लैजाने प्रतिबद्धता साथ आफू अगाडि बढेको बताउनुभयो ।

कार्यदलाई तोकिएका जिम्मेवारीमा नेपाल वायु सेवा निगमको समग्र सुधारका लागि हाल सम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने, वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने, निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीयएवं व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने अधिकार दिइएको छ । पर्यटन मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री भट्टराईले नीतिगत रुपमा सुधार गरेर अगाडि बढ्नका लागि कार्यदल बनाएर नै काम अगाडि बढाउनुभएको छ ।