दुर्घटना बढ्न थालेपछि अटो नियन्त्रण

0
Shares

सिन्धुली ।
सिन्धुलीमा प्रमुख जिल्ला अधिकारी सवार गाडीलाई एक अटोले ठक्कर दिएपछि अहिले धमाधम अटो नियन्त्रणमा लिइएको छ । आज मात्र नौ वटा अटो नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयतर्फ जाँदै गर्दा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सवार गाडीलाई एक अटोले पछाडिबाट ठक्कर दिएको थियो । जिल्लामा सञ्चालनमा रहेको केही अटोबिना कागजात सञ्चालन हुँदै आएका थिए । सवारी चालक अनुमतिपत्र, सवारी दर्ता अनुमतिपत्र र रुट पर्मिटबिना सञ्चालनमा रहेका अटोलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका अटोलाई सबै कागजात ल्यापछि मात्र जरिवाना तिराएर छाडिने उहाँको भनाइ रहेको छ । जिल्लामा नियम विपरीत चलेका सबै अटोलाई नियन्त्रणमा लिई दुर्घटना न्यूनीकरण गरिने उहाँको भनाइ रहेको छ ।
जिल्लामा अटो दुर्घटना बढेपछि ट्राफिक प्रहरीले थप कडाइका साथ जाँचलाई अघि बढाएको छ । अटोमा ८ देखि १० जनासम्म सवार हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै अहिले चालकसहित चारजना भन्दा बढी यात्रु ओसार्ने अटोलाईसमेत कारवाही गरिने उहाँको भनाइ छ ।

क्षमता भन्दा बढी यात्रु बोक्ने ६ वटा अटो आज कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कमलामाई नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले तीन पाङ्ग्रे अटो सञ्चालकलाई नियम अनुसार मात्र सञ्चालन गर्न पटक–पटक समय सीमा दिइएको भए पनि बेवास्था गरेकाले कारवाहीलाई थप कडाइ गरिएको ट्राफिक प्रहरीकार्यालय सिन्धुलीले जनाएको छ ।

यसैबीच आज जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले आज नियम विपरीत चलेका २५ भन्दा बढी सवारीलाई कारवाही गरेको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न राजमार्ग तथा भित्री सडकमा समेच चेकजाँच बढाएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।रासस