म्याग्दीमा जिप दुर्घटना, एकको मृत्यु, १३ घाइते

0
Shares

म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित हल्लेगौंडामा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन् । सदरमुकाम बेनीबजारबाट भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्बरको जीप दुर्घटना हुँदा बेनपा–३, भकिम्लीका ५५ वर्षीय रत्नबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

यसैगरी घाइते हुनेहरुमा बेनपा–३, भकिम्लीका २० वर्षीय ईन्द्रबहादुर विक, बेनपा–३, मुसुङडोलेका जीप चालक ३४ वर्षीय यामबहादुर श्रीष, बेनपा–३, भकिम्लीका ४० वर्षीया ज्ञानकुमारी श्रीष, सोही ठाउँकी ४० वर्षीया रुपा घर्ती, ७१ वर्षीय डम्बरबहादुर छन्त्याल र ५० वर्षीय आइतराम विक रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले जानकारी दिनुभयो ।

त्यस्तै बेनपा–३, भकिम्लीकै २२ वर्षीय बिक्रम सुनार, ३८ वर्षीया भुमीदेवी खाती, २५ वर्षीय विशाल शाक्य, २३ वर्षीया शान्ता शाक्य, उनको साढे २ वर्षको बच्चा साईरा शाक्य, मंगला गाउँपालिकाको बराङ्जाकी ७० वर्षीया बुद्धिकला सुनार र बागलुङ गुठीका २१ वर्षीया मन्जु खत्री घाइते भएको बेनी अस्पतालका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएकामध्ये ७१ वर्षीय डम्बरबहादुर छन्त्याललाई पोखरा रिफर गरिएको छ । घाइतेहरुको टाउँको, आँखा, छाती, हातखुट्टा र शरिरको अन्य भागमा चोटपटक लागेको बेनी अस्पतालका मेडिकल अधिकृत डा. भूषण सुवेदीले बताउनुभयो । जीप सडकबाट ३३ मिटर तल खसेको प्र्रहरीको भनाइ छ भने चालक स्वयं घाइते भएको हुनाले दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ ।