घोडाघोडी नगरपालिकामा आर्थिक चलखेलः अनुगमन नै नगरी योजनाको भुक्तानी

खाजामा मासिक पाँच लाख र ईन्धनमा साढे चार लाख रुपैयाँ खर्च, टोल र वडाभेला नगरेर योजना बाँडफाँड

0
Shares

हेमन्त पौडेल, कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकामा आर्थिक अनियमितता बढ्दै गएको जनगुनासो बढेको छ । नगरपालिकाले नगरका विभिन्न वडाहरुमा निर्माण गरेका विकास निर्माणका योजनाहरु तथा अन्य कार्यक्रममा आर्थिक अनियमितता गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

नगर क्षेत्रमा निर्माण गरेका सडक ग्राभेल, सडक कालोपत्रे, भवन निर्माण, तालतलैया सरसफाई, स्विमिङ्गपुल निर्माण, कल्र्भट निर्माण, लक्षित वर्गका कार्यक्रम सञ्चालन, खाजा खर्च, ईन्धन खर्च, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, लक्षित वर्ग अनुदान कार्यक्रम आदिमा आर्थिक अनियमितता गरेको घोडाघोडी नगरपालिकाका नेकपाका एक नेताले बताउनुभयो ।

‘यो नगरपालिकामा हाम्रै पार्टीको नेतृत्वमा स्थानीय सरकार छ, तर आफ्नो पार्टीको नेतृत्वमा सरकार छ भन्न पनि लाज मान्नुपर्ने अवस्था सृजना भएको छ,’ ती नेताले नाम उल्लखे नगर्ने शर्तमा भन्नुभयो, ‘वृहत घोडाघोडी पर्यटन वोर्डको नाममा समेत ठूलो रकम अनियमितता हुँदै आएको छ, यस्लाई रोक्ने कस्ले ?’

यस्तै घोडाघोडी नगरपालिका वडा नम्बर १ लोहोरपुरको मगर टोलमा सडक ग्राभेल गरेको एक महिना बित्न नपाउँदै सडकको आवस्था नाजुक बनेको स्थानीयले सन्तोष चौधरीले बताउनुभयो । तीन लाखको लागतमा करिब तीन सय मिटर सडक ग्राभेल र करिब ३० मिटर सडक छेउमा पर्खाल लगाइएको भएपनि १५ दिन नबित्दै पर्खाल भत्केको र ग्राभेल गरेको सडक समेत हिलाम्य भएको उहाँले बताउनुभयो ।

उक्त सडक ग्राभेलको लागि तीन लाख रुपैयाँ छुट्याइएको भएपनि १ लाख भन्दा बढी सो सडक मर्मतमा खर्च नगरिएको उहाँले बताउनुभयो । नगरपालिकाले सडक ग्राभेलको लागि स्थानीय दिलबहादुर सारुको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । तर, वडा नम्बर १ का अध्यक्ष मनराज शाहीको निर्देशनमा सडक निर्माणको काम ठेक्कामा दिन लगाइएको बताइएको छ ।

उपभोक्त समितिलाई १० हजार राख्नु बाँकी २ लाख ९० हजारमा आफ्ना नातेदार बक्त शाहीलाई ठेक्का दिनु भन्दै वडाध्यक्ष शाहीले निर्देशन दिएकाले त्यही अनुसारकाम भएको एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा बताउनुभयो । बक्त शाहीले आफ्नो डोजर मार्फत सुखडका हाम तामाङ्गलाई काम गर्न लगाएको उहाँले बताउनुभयो ।

यस्तै, नगरपालिकाको वडा नम्बर ७ करैचादेखि जोशीपुर गाउँपालिकाको लोखरी जोड्ने सडकको छेउमा उम्रेको ढोडी सफा गर्ने नाममा पनि दुई लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ । करैचाको विद्यालय जोड्ने करिब नौ सय मिटर सडक ग्राभेलको लागि १० लाख रुपैयाँ खर्च गरिएको बिल भरपाई पास गरेर पैसा निकासा गरिएको भएपनि उक्त सडकमा दुई लाख रुपैयाँ पनि खर्च नगरिएको स्थानीय रुद्र बोहराले बताउनुभयो ।

यसका साथै नगरपालिकाले खाजा नास्तामा मासिक चार लाख ७५ हजार र ईन्धनको नाममा मासिक दुई लाख ५० हजार भन्दा बढी रकम खर्च गर्दै आएको नगरपालिकाका एक कर्मचारीले बताउनुभयो । यसको साथै नगरप्रमुख ममता प्रसाद चौधरीले ठूलो डल्लो बजेट राख्ने र आफ्ना आपेपासेलाई बाँड्ने गरेको उहाँको भनाई छ । गत आर्थिक वर्षको असार ५ गतेसम्ममा ५५ लाख डल्लो बजेट राखेको र असार १५ गतेभित्र १० दिनमा सबै बजेट बाँडेर सकेको नगरपालिका स्रोतले जनाएको छ ।

उक्त बजेटबाट देखिने काम कुनै नभएको र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखले कमिशनको आधारमा आफ्ना नजिककालाई बजेट दिएको आरोप लागेको छ । गत आर्थिक वर्षमा सञ्चार क्षेत्रको लागि भन्दै छुट्याइएको २४ लाख रकमको समेत चरम दुरुपयोग भएको बताइएको छ । आफ्ना नजिकका पत्रकारहरुलाई मनोमानी रुपमा रकम दिएको समेत आरोप लागेको छ ।

यस्तै, घोडाघोडी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष धनबहादुर बमले वडाले गर्नुपर्ने कार्यक्रम समेत सबै नगरपालिकामै राखेको बताउनुभयो । सामान्य रुपमा वडालाई दिने भन्ने नाममा भौतिक पूवार्धारमा करिब ४५ लाख जति दिएको भएपनि अन्य सबै कार्यक्रमहरु नगरपालिकामै राखेको उहाँले बताउनुभयो ।

नगरपालिकामा राखेका नगरपालिकाका कर्मचारी र नगर प्रमुख मिलेर कमिशनको आधारमा कार्यक्रमहरु बाँड्न सजिलो हुने भएकाले सामाजिक विकास तथा लक्षित वर्गका कार्यक्रमहरु नगरपालिकाले आफै सोझै वितरण गर्न सक्ने गरी राखेको उहाँले आरोप लगाउनुभयो ।

साथै वर्षा सुरु भइसकेपछि निर्माणका काम सुरु गरिएको स्थानीयले आरोप लगाएका छन् । पानीले बगायो भन्ने देखाउन पानी परिरहेकै समयमा विभिन्न सडकहरुमा ग्राभेल हाले जस्तो देखाएर पैसा खाने काम भएको पनि स्थानीय र स्वयम गरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु बताउँदै आएको छन् ।

यति मात्र नभई नगरपालिकाका विभिन्न वडामा निर्माण गरिएका योजनाहरुको अनुगमन नै नगरी कमिशनको आधारमा सोझै भुक्तानी दिइएको समेत पाइएको छ । यस्तै, प्रतिपक्ष दल नेपाली काँग्रेसको अनुगमन समितिले घोडाघोडी नगरपालिका क्षेत्रमा चरम आर्थिक अनियमितता भएको पाइएको बताएको छ ।

नगरपालिकामा निमार्ण भएका भौतिक पूर्वाधार तथा अन्य कामहरु नियम विपरित तथा कमशल प्रकारले निर्माण गरेर रकम अनियमितता गरेको पाइएको घोडाघोडी नगरपालिकाका मेयर पदका उम्मेदवार तथा अनुगमन समिति संयोजक रिता चौधरीले बताउनुभयो । वडा मार्फत भन्दा पनि नगरपालिका र प्रदेश सरकारको बजेटबाट गरिएका काममा बढी आर्थिक अनियमितता भएको पाइएको उहाँले बताउनुभयो ।

अहिले अनुगमन गरिएका योजना तथा कार्यक्रमहरुमा अनुगमननै नगरेर रकम भुक्तानी भएको पाइएको पनि उहाँले बताउनुभयो । घोडाघोडी नगरपालिकाका सबै वडाहरुमा अनुगमन गर्ने कार्यक्रम रहेको र अझै तीनवटा वडाको अनुगमन गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयो । सबै वडाको अनुगमनपछि पत्रकार सम्मेलन गरेर फिल्डमा देखिएका कुराहरु सार्वजनिक गर्ने चौधरीले बताउनुभयो ।

उता घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत खगेन्द्रबहादुर सिंहले नगरपालिकामा कमसल प्रकारले काम भएको र आर्थिक अनियमितता भएको भन्नेबारे कतैबाट गुनासो नआएको बताउनुभयो । साथै प्रदेश सरकारले यो नगरपालिकाका कुन ठाउँमा के काम गरेको छ भन्ने नगरपालिकालाई कुनै जानकारी समेत नभएको उहाँले बताउनुभयो ।

प्रदेशले नगरपालिकासंग कुनै समन्वय नगर्ने गरेका काम सबै आफ्नै किसिमले गर्ने भएकाले प्रदेश सरकारको रकममा नगर क्षेत्रमा के काम भयो भन्ने रेकर्डसमेत नगरपालिकामा नरहेको उहाँले बताउनुभयो । यो विषयमा बुझ्न घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसार चौधरीलाई सम्पर्क गर्न खोज्दा उहाँको फोन उठ्न सकेन ।