कर्जन्हामा बाढी पिडीतलाई राहत वितरण

0
Shares

 सुभेन्द्र दास, लहान ।
सिरहामा अविरल वर्षा र बाढीबाट पूर्ण प्रभावित घरपरिवारहरुलाई राहत वितरण गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिकामा भित्रका बाढी पिडीतलाई राहत वितरण गरिएको हो ।

कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमानको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा ग्रैह्र खाद्यय सामाग्री सेट त्रिपाल १, कम्बल २, भाडा सेट १, साडी १, धोती १, पोपलीन कपडा ७ मिटर, टेरिकोटन कपडा ४ मिटर, सुटिङ्ग कपडा ३।५ मिटर, वाल्टीन १ डोरी १, बोरा १ थान गरी राहतका समाग्री वितरण गरिएको सिरहा रेडक्रसका सभापति राजदेव यादवले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा प्रदेश सभा सदस्य दिलिप साहले दुःखको समयमा राहतको समाग्री लिएर नगरपालिकामा आएको सबै प्रति आभार प्रकट गर्दै प्रदेश सरकारले बाढी पिडितलाई राहत दिन तथा समय समयमा आइ रह्ने विभिन्न विपद्लाई ख्याल गर्दै छिटोछरितो राहतका समाग्री वितरण गर्ने योजनामा रहेको बताए ।

हामीले बाढी पिडितको समस्याबारे प्रदेश प्रमुख समक्ष राखेका छौं । वर्षा र बाढीले कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका र सिरहा नगरपालिका लगायतमा अत्यधिक क्षति भएको भन्दै आ–आफ्नो स्थानबाट सहयोग गर्न सबै संग सांसद साहले आग्रह समेत गरे ।

जिल्लामा कुनै प्रकारको विपद आउने वितिकै मानिसको मनमा सबभन्दा पहिले रेडक्रसको नाम आउने गरेकाले हामीले आफ्नो तर्फबाट सहयोग पनि त्यहि हिसाबले गर्न तत्पर रहेको र दुःखको घडीमा सधै नेपाल रेडक्रस सोसाइटी सिरहा रह्ने सभापति राजदेव यादवले बताए ।

कर्जन्हा नगरपालिकामा राहत लिएर आउने गरेका सबै संघ संस्थाहरुलाई धन्यवाद दिदै अब लामो समय राहतका लागि अरुको भर नपर्नुपर्ने कर्जन्हाका नगर प्रमुख गंगा पासमानले बताए । कर्जन्हा नगरपालिकाले अब आफ्नै नगरपालिकामा राहत कोष खडा गरेर राहत कसरी बिपद पर्ने बितिकै दिन सकिन्छ यस प्रकृयालाई थाल्नी गर्ने बताए । राहतका लागि अरुको भरपर्दा निकै ढिलो हुने तथा समस्या परेकै बखतमा सहयोग हुन नसकिने भएकोले विपदलाई ध्यानमा राख्दै कार्य अघि बढाउने तथा यस्तो बखतमा घाउमा मलहम लगाउन आएका सम्पुर्ण सहयोगी संस्थालाई थप राहतका समाग्री नगरमा जुटाइदिन पहल गरिदिन उनले आग्रह समेत गरेका छन् ।

ढिलै भएपनि राहत घरमै ल्याइदिदा आफु निकै खुसीभएको कर्जन्हा नगरपालिका वडा नं। ४ वस्ने श्रीचन दासले बताए । राहत वितरण कार्यक्रममा कर्जन्हा नगरपालिकाको नगर उप प्रमुख ज्ञान कुमारी श्रेष्ठ, कर्जन्हा नगरपालिका वडा नं। ५ को वडा अध्यक्ष भुषण खाती कर्जन्हा प्रहरी चौकीका प्रहरी लगायतको उपस्थिती रहेको थियो ।