मकवानपुरमा माटो परीक्षण प्रयोगशाला भदौमा

0
Shares

हेटौंडा । प्रदेश– ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहहरुमा माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ ।

मकवानपुरमा भने यस वर्षबाट मकवानपुरगढी गाउँपालिकामा प्रयोगशाला स्थापना गरी काम गरिने मन्त्रालयले जनाएको छ । प्रदेशले आगामी वर्षहरुमा १ सय १९ वटै स्थानीय तहहरुमा प्रयोगशाला स्थापना गरी काम गर्ने बताएको छ ।

यस वर्ष मकवानपुरगढी गाउँपालिकासहित चितवनको खैरहनी नगरपालिका, नुवाकोटको विदुर नगरपालिका, काभ्रेको पाँचखाल नगरपालिका र धादिङको सिद्धलेक गाउँपालिकालाई साझेदारीपत्र दिएर प्रयोगशाला सुरु गर्न प्रदेश सरकार तातेको छ ।

स्थानीय तहको साझेदारीमा प्रयोगशाला स्थापना गरी स्थानीय तहले प्रयोगशाला कक्ष, जनशक्ति र सञ्चालन खर्च व्यहोर्ने गरी काम गरिने मन्त्रालयका प्रवक्ता निर्मल गदालले बताउनुभयो । स्थानीय तहले उक्त कार्य गरेपछि मन्त्रालयले उपकरण र तालिमको व्यवस्था गर्ने प्रवक्ता गदालले बताउनुभयो ।

प्रदेश सरकारले २८ लाखमा खरिद गरी पालिकालाई प्रदान गरेको माटो परीक्षण ल्याब मेसिन मकवानपुरगढी गाउँपालिकाले वडा–६, बागदलीमा रहेको आईपीएम कृषि सहकारी संस्थाको भवनमा प्रयोगशाला सञ्चालन गरिने गाउँपालिका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

संस्थाले निःशुल्करुपमा भवन दिएकोले तत्कालका लागि सोही भवनबाट माटो परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । भवनमा आवश्यक मर्मत र व्यवस्थापनपश्चात् भदौ दोस्रो सातापछि प्रयोगशाला सञ्चालन गरिनेछ ।

उहाँले कृषिमा पालिकामा पाँच जना कर्मचारी रहेको, प्रयोगशाला सञ्चालन गर्न उनीहरुलाई खटाइने र पछि ल्याबलाई हुने गरी कर्मचारी राखिने चौधरीले बताउनुभयो । माटो परीक्षणका लागि कृषकलाई विभिन्न कृषि सहकारी तथा अन्य सहकारीमार्फत् नमूना संकलन गर्न सिकाइने उहाँले बताउनुभयो ।
बालीअनुसार फरकफरक माटो हुनाले परीक्षण गर्न सोहीअनुसार ल्याउनुपर्छ । कुन माटोमा कुन बाली लाग्छ, त्यसअनुसार परीक्षण गरेलगत्तै लाग्ने बाली लगाउनुपर्ने उहाँले जनाउनुभयो ।

सञ्चालनमा आएपश्चात् दैनिक ५० भन्दा बढी माटोको परीक्षण गर्न सकिने चौधरीले बताउनुभयो । उहाँले सुरुवातमा साधारण परीक्षण गरी माटोको अम्लीयपना, क्षारीयपनको मात्रा, प्रांगारिक पदार्थको मात्रा, नाइट्रोजन, पोटिसियम, फस्फोरसको मात्रा परीक्षण गरिने बताउनुभयो ।

प्रदेश सरकारले पहिलो पटक पाँच स्थानीय तहमा माटो परीक्षण मेसिन प्रदान गर्दा मकवानपुरमा मकवानपुरगढीलाई प्रदान भएकोले गढीबासीलाई खेतीप्रणालीमा सहज हुने गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले बताउनुभयो । अध्यक्ष हुमागाईंले माटो परीक्षण गराएर खेती गर्न आग्रह गर्नुभयो ।

व्यावसायिक उत्पादन क्षेत्रमा तत्काल बढी उत्पादन लिने हेतुले बिना माटो परीक्षण अधिक मात्रामा रासायनिक मल र विषादी प्रयोग गर्ने प्रचलन बढेकोले एकातर्फ उत्पादन खर्च बढ्नु र अर्काेतर्फ माटोको स्वास्थ्य दिनानुदिन बिगँ्रदै गएकोले प्रयोगशाला सञ्चालन गर्न लागिएको हो ।