ट्रक व्यवसायीको बन्दमा होटल व्यवसायीको विरोध

0
Shares

हेटौंडा । आयशर मिनी गाडी सञ्चालक समितिले बुधबारदेखि हुने भनिएको भीमफेदी–कुलेखानी यातायात बन्द आह्वानको उक्त रुटका होटल व्यवसायीले विरोध गरेका छन् ।

होटल व्यवसायी संघ अध्यक्ष सुमन श्रेष्ठका अनुसार कुनै जानकारी र छलफल नगरी यातायात अवरुद्ध गर्दा होटल व्यवसायीलाई ठूलो क्षति हुने तथा बन्द हडतालले समस्या समाधान नहुने भन्दै इलाका प्रहरी कार्यालयसमक्ष समस्या समाधान गर्न अनुरोध गरेका छन् ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबालक रायका अनुसार भीमफेदी–कुलेखानी रुटमा बेलुका ८ बजेदेखि विहान ६ बजेसम्म मिनी ट्रक सञ्चालनमा ल्याउने तथा जाडोमा बेलुका ७ बजेदेखि विहान ६ बजेसम्म यातायात खुला हुने जानकारी गराउनुभयो ।

दिउँसो भने उक्त किसिमका कुनै यातायातलाई सवारी अनुमति नदिइने उहाँले बताउनुभयो । आयशर मिनी गाडी सञ्चालक समितिका पदाधिकारी प्रताप लामा तथा शिव अर्यालले उक्त रुटमा निर्वाधरुपमा मिनी गाडी सञ्चालन अनुमतिप्राप्त नभए आन्दोलन जारी रहने तथा माग फिर्ता नहुने दाबी गर्नुभयो ।

इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले भीमफेदी–कुलेखानी सडक साँघुरो तथा वर्षाले क्षति भएको र उक्त रुटमा सयांै साना तथा मझौला जिप र भाडाका सवारी आवतजावत गर्ने भएकोले मालबाहक तथा ठूला गाडी दिउँसो सञ्चालनमा ल्याउन नसकिने बताउनुभयो ।
भीमफेदी–कुलेखानी रुटमा मिनी ट्रक यसअघिकै सहमतिअनुरुप चल्न पाउने भएका छन् । मकवानपुरका प्रजिअ अस्मान तामाङको संयोजकत्वमा मंगलबार हेटौंडामा भएको छलफलमा गत वर्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको सहमतिअनुसार दिउँसो साना सवारीलाई बाधा नपर्ने गरी मिनी ट्रक सञ्चालन गर्ने सहमति भएको हो ।

इन्द्रसरोवर गाउँपालिका अध्यक्ष लामा, उपाध्यक्ष उमाकुमारी लामा, वडा–२ र ३ का अध्यक्ष क्रमशः राजुमान महर्जन र चीरञ्जीवी पौडेल, प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराई, सहायक प्रजिअ चीरञ्जीवी शर्मालगायत सहभागी बैठकले पुरानै सहमतिमा मिनी ट्रक चल्न दिने निर्णय गरेको हो । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्ग बन्द गर्ने चेतावनी दिएर बुधबारदेखि बन्द गर्ने कार्यक्रम हाललाई स्थगित भएको छ ।

छोटो बाटो सिस्नेरी तथा फाखेल हुँदै हेटौंडा–काठमाडौं जोड्ने सडकलाई बुधबारदेखि बन्द गर्ने चेतावनी संघले दिएको थियो । भीमफेदी–कुलेखानी सडकमा मिनी ट्रक चलाउन प्रतिबन्ध लगाइएपछि ट्रक व्यवसायी आन्दोलनमा उत्रने घोषणा गरेका थिए ।