पोखराको मञ्चमा फेरि ब्युँतियो मुनामदन


विजय नेपाली, पोखरा ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको उत्कृष्ट कृति मुनामदन पोखरको थिएटरमा फेरि ब्युँतिएको छ। पोखरा थिएटरको गन्धर्व नाटकघरमा यो नाटक मञ्चन भएको छ। मुनामदनको प्रेमकथालाई पोखरा विराट आदर्श साहित्यिक मञ्चको प्रस्तुतिमा गत साउन १० गतेदेखि साउन १८ गतेसम्म पोखरामा मञ्चन गरिएको हो।

१५ जना कलाकारको टिमले पोखरामा उक्त काव्यको मञ्चन गरेका हुन्। नाटकले अहिले पनि हरेक दर्शकको मन जित्न सफल भएको छ। नेपाली समाजको वास्तविकतालाई चित्रण गरिएको महाकवि देवकोटाको खण्डकाव्यले हरेक नेपालीको मन छुने गरेकै छ। नाट्य रूपान्तरण गरी देखाउँदा दर्शकको भने आँखा निकै रसाएको थियो।

महाकवि देवकोटाको खण्डकाव्य मुनामदनमा आधारित यो नाटकमा सरू कटुवाल, लकेश दंगोल, अनु श्रेष्ठ, निराशा ढुंगेल, सन्देश बाराकोटी, नवराज नेपाल, मिलन चाम्लिङ, नवराज गिरी, एन्जल बस्नेत, नुना कट्टेल र आशुतोष कोइरालाले सशक्त अभिनय गरेका थिए। नाटकको निर्देशन सविन कट्टेलले गरेका थिए भने नाटकको नाट्य रूपान्तरण कटुवाल दीपकले गरेका हुन्। विराटनगरको विराट आदर्श साहित्यिक मञ्च नाटक मञ्चनका लागि पहिलोपटक पोखरा आएको हो। पोखरेली दर्शकको माया र साथ पाएको निर्देशक सविन कट्टेलले बताए। यसअघि यो नाटक विराटनगर र काठमाडौंमा मञ्चन भइसकेको विराट आदर्श साहित्यिक मञ्चका अध्यक्ष कटुवाल दीपकले जानकारी गराए।

‘नाटकमा कलाकारले न्याय दिएका छन्, अधिकांश दर्शकले आँशु झारेका थिए, पोखरामा हामीले सोचेभन्दा बढी माया पाउन सफल भयौं।’ –नाटकका सल्लाहकार मीनकुमार नवोदितले भने। अन्य क्षेत्रमाभन्दा बढी दर्शकको साथ पाउँदा निकै खुसी लागेको उनले बताए। मुनामदन एक कारुणिक काव्य हो, जसले मुना र मदनको विछोडको प्रेमकथाको वर्णन गर्छ। मदन पैसा कमाउनका लागि विदेश जान्छ र फर्कने क्रममा बाटोमा बिरामी हुन्छ। बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथीहरू घर आउँछन् र मदनको मृत्यु भएको बताउँछन्। यसले मुनालाई निकै पीडा हुन्छ।

यही पीडा सहन नसकी शोकमै मुनाको मृत्यु हुन्छ। उता मदनलाई बाटोमा अलपत्ररूपमा एक जना भोटेले फेला पार्छ। उसले मदनको खुबै स्याहार गर्छ। जब मदन निको भएर घर फर्कन्छ, त्यो बेला उसको परिवार मुना र आमाको मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ। वियोगको पीडाले मदनको पनि मृत्यु हुन्छ। नेपाली समाजमा रहेको गरिबी र प्रेमको भावनालाई समेटिएको खण्डकाव्यले सामाजिक समस्याको चित्रण गरेको छ।