अब कर्मचारीको सामुहिक राजिनामा स्वीकृत हुने


मधुसुदन रामयाझी, काठमाडौ ।

निजामती कर्मचारीहरुले सामूहिक राजीनामाको धम्की दिए सरकारले राजिनामा स्वीकृत गर्ने भएको छ । आफ्नो माग पूरा गर्न सामुहिक राजिनामा दिने घोषणा गरे सरकारले लगत्तै राजिनामा स्वीकृत गर्ने भएको हो ।

सरकारले हालै ल्याएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सो प्रावधान राखिएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा सो विधेयकमाथि दफावार छलफल भई उक्त व्यवस्थामा सहमति जुटेको हो ।

बुधवार बसेको राज्य व्यवस्था समितिको बैठकले विधेयकको दफा १२१ मा विभिन्न कारणले निजामती सेवाका कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्नसक्ने व्यवस्था गरिएको छ । उक्त प्रावधानमाथि सत्तारुढ दल नेकपाका सांसदले समर्थन जनाएका थिए । तर प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले भने असहमति प्रकट गरेका छन् । यद्यपि मतविमतका बीच उक्त व्यवस्था समितिबाट पारित गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सो प्रावधानको पक्षमा मत राख्नुभएको थियो । ट्रेड युनियन संस्थागत वा चिकित्सकबाट विगतमा सरकारलाई सामूहिक राजीनामा दिने चेतावनी आउने गरेको थियो । जसको कारण सरकारले उठाएको माग सम्बोधन गर्न बाँध्य हुँदै आएको थियो ।

नेकपाका सांसद तथा पूर्व मन्त्री जनार्दन शर्माले सामूहिक राजीनामा दिने कर्मचारीको राजीनामा स्वीकृत गर्नु जायज बताउनुभयो । यसैगरी नेकपाकै अर्का सांसद पम्फा भुसालले पनि राज्य निरीह हुने अवस्था अन्त्य गर्नका लागि यो व्यवस्था गर्नुपरेको बताउनुभयो ।

विगतमा कर्मचारीका सवालमा सामूहिक राजीनामाबारे स्पष्ट व्यवस्था थिएन । पटकपटक सरकारी चिकित्सक तथा कर्मचारीहरुले आन्दोलन गर्दै सामूहिक राजीनामा दिने भन्दै सरकारलाई झुकाउन धम्की दिने र सेवा नै ठप्प पार्ने गरेका थिए । सोही कुरालाई ध्यानमा राखी नयाँ व्यवस्था गरिएको हो ।