डोटीमा प्रभावकारी भएन पशुपंक्षी बिमा कार्यक्रम


विमल विष्ट, डोटी । डोटी जिल्लामा वर्षौ पहिले देखी सञ्चालन भएको पशुपंक्षी बिमा गर्ने कार्यक्रम प्रभावकारी हुन सकेको छैन । सरकारले बिसं २०६९ साल माघ महिना देखि बाली तथा पशुपंक्षी बिमा कार्यक्रम शुरु गरेको थियो । डोटीमा रहेका विभिन्न बिमा कम्पनीहरूले अझैं पनि जिल्लाका ग्रामीण क्षेत्रहरुमा कार्यक्रम पुर्याउन नसकेका कारण उक्त कार्यक्रम प्रभावकारी हुन नसकेको स्थानियवासीको आरोप छ ।

जिल्लाका अधिकांस ग्रामीण वस्तीका किसानहरु पशुपंक्षीको बिमाबारे जानकारी नभएको बताउँछन् । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउपालिका–२ तोलनीका रामबहादुर वलीले सदरमुकाम तिर बाख्राको बिमा गरेको भन्ने सुनिएको तर ग्रामिण क्षेत्रका जनतालाई सो वारेमा जानकारी नभएको वताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला सदरमुकाममा बाली तथा पशुपंक्षी बिमा हुन्छ भन्ने हल्ला सुनेकाछौँ तर गाउँमा कसैलाई जानकारी छैन् ।”

जिल्लाका केही स्थानीय तहले समेत किसानहरूकालागि व्यवसायिक पशुपालन तथा कृषि कार्यमा विभिन्न किसिमका अनुदान कार्यक्रम सञ्चालन गरे पनि पशुपंक्षी बिमा कार्यक्रममा प्रेरित गर्न नसकेको दिपायलका स्थानिय हिक्मतबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामिण क्षेत्रमा रहेका स्थानियतहले नै पशुपंक्षी बिमा कार्यक्रम सञ्चालन नगर्दा नागरिक अलमलमा परेका हुन् ।” उता जिल्लाको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले पशुपालन गरिरहेका कृषकहरूबाटनै पशु बिमा कार्यक्रममा सहभागी बन्नका लागि माग नआएका कारण बाली तथा पशुपंक्षी बिमा बारे गाउँपालिकाको ध्यान नगएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पशुपंक्षी पालक किसान बाट नै बिमाको बारे कुनै कुरो नआएकाले यो कार्यक्रम लागु गर्न सकेनौ,बिमा गर्ने कुरा ल्याए पक्कै बिमा गराउनछौँ ।” नेपालमा रहेका बिभिन्न १७ वटा बिमा कम्पनीहरूलाई कृषि तथा पशुपंक्षी बिमा अनुमती प्रदान गरिएको छ । कृषि तथा पशुपंक्षी व्यवसायलाई प्रवद्र्धनकालागि बिमा समितीद्वारा प्रत्येक कम्पनीलाई तीनदेखि पाँच जिल्ला कार्यक्षेत्र तोकिएको छ ।