प्लाष्टिकको बोराभित्र लुकाएको अवैध मदिरा प्रहरी नियन्त्रणमा


भक्तपुर ।  महानगरी प्रहरी बृत्त जगातीले प्लाष्टिकको बोराभित्र लुकाएर बजारमा लैजादै गरेको अबस्थामा करिब एक सय लिटर अबैध मदिरा बरामद गरेको छ ।भक्तपुरको कमलबिनायकबाट बा ७१ प १९९२ नम्बरको स्कुटरमा प्लाष्टिकले बेरेर काठमाडौंतर्फ लाँदै गरेको अबस्थामा आज बिहान जगातीबाट प्रहरीले अबैध मदिरा नियन्त्रणमा लिएको हो ।

यस अघि गत शनिबार भक्तपुरमा प्रहरीले दुई हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको थियो । महानगरीय प्रहरी परिसर भक्तपुर तथा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले सुर्यविनायक नगरपालिका वडा नं.७ स्थित किवाचोक एरियाबाट दुई हजार ९० लिटर घरेलु मदिरा नष्ट गरेको हो ।

सो क्रममा प्रहरीले घरेलु मदिरा र कच्चा पदार्थ सहित घरेलु मदिरा बनाउन प्रयोग गरिने बिभिन्न भाँडाकुडा र ड्रमहरु सहित नियन्त्रणमा लिई स्थानिय वुद्धिजीवी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको महानगरीय प्रहरी परिसरका प्रबक्ता रेवती रमण पोखरेलले बताउनुभयो । अबैध रक्सीको बिक्री बितरण बढेपछि पछिल्लो समयमा भक्तपुर प्रहरीले यसतर्फ निगरानी बढाउँदै गएको छ ।