किशोरकिशोरीमैत्री बन्यो सकार स्वास्थ्यचौकी

0
Shares

नेपाल समाचारपत्र, बैतडी ।
बैतडीको पाटन नगरपालिका–१ स्थित सकार स्वास्थ्यचौकीलाई किशोरकिशोरीमैत्री स्वासथ्यचौकी घोषणा गरिएको छ । किशोरकिशोरीमैत्री स्वास्थ्यचौकीका सबै मापदण्ड पूरा भएपछि सकार स्वास्थ्यचौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्यचौकी घोषणा गरिएको स्वास्थ्यचौकीका अहेव नरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

किशोरकिशोरीमैत्री प्रमाणीकरणका ४५ आधार र ९ ओटा मापदण्ड पूरा भएपछि सकारलाई किशोरकिशोरीमैत्री स्वासथ्यचौकी सूचीकृत गरिएको हो । स्वास्थ्यचौकीमा सेवा लिन आउने किशोरकिशोरीहरुका लागि अलगै कोठाको व्यवस्था गरेर सेवा दिने गरिएको छ । उनीहरुको समस्यालाई मध्यनजर गरेर स्वास्थ्यकर्मीहरुले चाहेको स्वास्थ्य सेवा उपलब्ध गराउने गरेको बताइएको छ ।

स्थानीयस्तरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि आफूहरु लागिपरेको सकार स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवं पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेश भट्टराईले बताउनुभयो । आफूहरुले स्वास्थ्यचौकीमा आएर विभिन्न सेवा लिने गरेको स्थानीय किशोरी जानकी भट्टराईले बताउनुभयो । सकार सहित बैतडीका सातओटा स्वास्थ्यचौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्यचौकी घोषणा गरिसकिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो ।

किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थामा किशोरकिशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्यका विभिन्न सेवाका साथै अन्य स्वास्थ्य सेवा पनि प्रदान गरिने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख निशा जोशीले बताउनुभयो । बैतडीमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, आड्रा नेपालकालगायतका संस्थाहरुले सहयोग गरिरहेको उहाँले बताउनुभयो ।