मृतक परिवारलाई साढे तीन लाख राहत

0
Shares

लमजुङ, (नेस) ।
लमजुङ र मनाङ क्षेत्रमा कार्यरत यातायात मजदुरले साढे तीन लाख राहत रकम संकलन गरी हस्तान्तरण गरेका छन् । चालक स्व. धनबहादुर आचार्यको परिवारलाई यातायात मजदुरहरुले राहत दिएका हुन् ।

बेसीशहर–चामे सडक खण्डमा जीप चलाउँदै आएका धनबहादुर आचार्यको दुर्घटना परी मृत्यु भएको थियो । मृतक परिवारलाई यातायात मजदुरहरूले संकलन गरेको राहत रकम ३ लाख ४६ हजार ५ सय २० रुपैयाँ मृतक आचार्यका श्रीमती मधुमाया आचार्यलाई बेसीशहरमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका हुन् ।

बेसीशहरदेखि मनाङ चल्ने यातायात मजदुरहरूले एक लाख ६८ हजार, मृतकले चलाउने गरेको जीपका धनी नेत्रबहादुर गुरुङले एक लाख १० हजार रुपैयाँ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बेसीशहर नगर समितिले संकलन गरेको ६८ हजार पाँच सय २० रुपैयाँ गरी एकमुष्ट तीन लाख ४६ हजार पाँच सय २० रुपैयाँ प्रदान गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बेसीशहर नगर समितिका अध्यक्ष मोहन भण्डारीले बताउनुभयो ।

जीप चालक धनबहादुर आचार्यको गत साउन ८ गते राती लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेबाट बेसीशहरतर्फ आउने क्रममा जीप दुर्घटना भई मृत्यु भएको थियो । राहत रकम बुझ्दै श्रीमती मधुमाया आचार्यले सहयोगी सबैलाई धन्यवाद दिदै प्राप्त रकम छोराहरूको पढाईमा खर्च गर्ने बताउनुभयो ।