एक्कासि बढ्यो बूढीगंगाको बहाव, ताप्रीसेरा पुलमाथिबाटै बग्न थाल्यो पानी

0
Shares

दयाराम पण्डित, बाजुरा ।
सोमवार रातिदेखि आएको अबिरल वर्षासंगैं बूढीगंगा नदीको बहाव एक्कासि बढेको छ । नदीको बहाव बढेपछि बूढीगंगा नगरपालिका र त्रिबेणी नगरपालिकाको वीचमा पर्ने ताप्रीसेरा पुलमाथिबाट पानी बग्न थालेको हो । पुलमाथिवाट पानीको बग्न थालेसंगै उक्त पुल जोखिममा परेको छ । तल गुँहीगाड खोला र माथि द्वाराको पहिरो खस्दा बीचमा रहेको उक्त पुल पुरिने खतरा बढेको स्थानीय रनसिंह थापाले बताउनुभयो ।

बिशेष गरी बूढीगंगा र त्रिबेणी नगरपालिकाबाट आवागमन गर्ने यात्रुलाई सास्ती भएको स्थानीयले बताएका छन् । गत वर्ष द्वारी मनागाड पुल बूढीगंगा नदीले पुरेको थियो । पुलमाथिबाट पानी बग्न थालेपछि पैदल यात्रु फर्किएका छन् । त्रिबेणी र बूढीगंगा नगरपालिका जोड्ने चारवटा पुल नदीमा पुरिएपछि बल्देमा रहेको एउटै पुलको प्रयोग गर्न बाध्य छन् ।

गुुंइँगाड खोलाले बूढीगंगा थुनिदा केही वर्ष पहिले सेराबगरको पुल पुुरिएको थियो । एक दशकयता त्रिबेणी नगरपालिकाको मौरेदेखि द्वारीसम्मका चारवटा पुल बूढीगंगा नदीले पुरीसकेको छ । बूढीगंगा नदीको बहाव र सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर नगरी नदी सतहबाट ३÷४ मिटर माथिबाट पुल निर्माण गर्दा खोला बढ्नेवित्तिकै पुल जोखिमा पर्ने गरेको स्थानीयको गुनासो छ ।

भौतिक पूर्वाधार विकास कार्यालय अछाम–बाजुरा प्रमुख जंगबहादुर थापाले भन्नुुभयो– ‘बूढीगंगा नदीको बहाव माथिवाट उच्च छ तल गुंईगाड खोलाले पानीको वहाव अवरोध गरेको छ । बूढीगंगा नदीको केही भाग डि–ग्रेडिङ्गमा परेकोले विगतदेखि ढुुंगा गिट्टी बालुवालगायतका वस्तु थुपार्दे गएको छ । पुल प्रोटेक्सन गर्न कटअप मेथर्ड प्रयोग गर्न सथानीय तहका प्रमुखलाई डोजर प्रयोग गरी पानीको वहाव खुकुलो गर्न एक वर्ष अघि जानकारी गराएको तर, कार्यान्वयन नहुंदा पुल पुुरिने समस्या आएको हो ।’

द्वारी पहिरो र गुँईगाड खोलामा बृहत तटबन्धन नगरेसम्म बूढीगंगा नदी थुनिने बग्ने खतरा यथावत् रहने अछाम–बाजुरा पूर्वाधार विकास कार्यालय प्रमुख थापाले बताउनुुभयो । बूढीगंगा नदी थुनिदा बाजुराका केही भाग र छिमेकी अछामको बैजनाथसम्मका बस्तीलाई असर पर्ने देखिन्छ ।