११ परिवारको लाभग्राही फाइल नै गायब

0
Shares

राजेन्द्र गजुरेल, नुवाकोट ।
लाभग्राहीे सूचीमा आफ्नो नाम दर्ता गराएका भूकम्पपीडितको फाइल नै गायब भएको छ । नुवाकोटको विदुर नगरपालिका–१३ का भूकम्पपीडितले दर्ता गराएको ११ घरपरिवारको फाइल हराएको हो । एक वर्ष अगाडि नाम दर्ता गराएको तर आजसम्म पनि लाभग्राहीमा नाम ननिस्केपछि पुनर्निर्माण प्राधिकरण बुझ्न आउँदा उक्त फाइल नै नभेटिएको विनपा–१३ का नारायण श्रेष्ठ बताउनुहुन्छ ।

‘लाभग्राहीको सूचीमा नाम आउने आशामा नै एक वर्ष वित्यो, हामी गुनासो फारम भरिरह्यौ तर फाईल भने हराएको पत्तै पाइएन’ –पीडित श्रेण्ठले बताउनुभयो । ६८ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको नुवाकोटमा कोहि भूकम्प पिडितको भने नाम दर्ता गराउदा समेत नाम ननिस्कने समस्या रहेको छ । विदुर १३ का नारायण श्रेष्ठ जस्तै पदमबहादुर रानामगर, हितबहादुर रानामगर, शेरबहादुर तामाङ, ईन्द्रमान तामाङ, आईतराम तामाङ, विनिसा तामाङ, गर्भ सिह,ं बाबुकाजि सारुमगर र तुलबहादुर रानामगरको फाईल हराएको हो ।

वडा कार्यालयबाट २०७५ भाद्र ११ गते दर्ता गराएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार जिल्ला आयोजना कार्यान्वयन इकाई नुवाकोटलाई उक्त फाईंलहरु बुझाईएको सोहि वडाका वडाध्यक्ष दलबहादुर तामाङले बताउनुभयो । राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटले भने गत सालको असोज १८ गते केन्द्रमा पठाईएको आयोजनाले जनाएको छ ।

‘पिडितहरुको गुनासो पश्चात आयोजनाले फाईल खोज्दा कार्यालयमा नभेटाएकाले केन्द्रमा जानकारी गराउदाँ उता पनि नभएको र यता बाट केन्द्रमा उहाँहरुको फाईल पठाईएको तथ्याङक रहेको आयोजना प्रमुख शम्भुकुमार शाहले बताउनुभयो । शाहले फाईल हराएकाहरुको नयाँ दर्ता गरीने बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार नुवाकोटमा ७६ हजार ८ सय ९ लाभग्राहि संङख्या रहेकोमा हाल सम्म ७३ हजार ८ सय ३ ले सम्झौता गरीसकेका छन् । निजि आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम लिनेमा ७३ हजार ३२, दोस्रो किस्ता लिनेमा ६७ हजार २ सय १३ र तेस्रो किस्ता लिनेको संङख्या भने ५१ हजार ५ सय ७९ रहेको आयोजना कार्यान्वयन इकाई जनाएको छ ।

त्यस्तै कोहिको फाईल हराएको छ भने कसैको वडा कार्यालयले सुनुवाई नै नगरेको पिडितहरुको गुनासो रहेको छ । सोहि वडामा सपना राना, रामबहादुर रानामगर, शिव बहादुर थापामगर, पूर्णकुमारी रानामगर र खेनारण श्रेष्ठको गुनासो सुनुवाई नभएको पिडितहरुको गुनासो रहेको छ ।