डीभी परेर वडा अध्यक्ष अमेरिकामा

उपनिर्वाचन गराउन वडाबासीको निवेदन

0
Shares

हेटौंडा, (नेस) ।
एकताका डीभी–पीआर लिएकाले देशलाई माया गर्दैनन्, यसले राष्ट्रिय भावना घटाउँदै लगेकोले कर्मचारीलाई डीभी–पीआर निषेध गर्न आवश्यक देखिएको प्रसंग केन्द्रीय मन्त्रिपरिषद्मै चर्कोरुपमा उठेको थियो । यसको असर परेको थियो– केही ठूला पदधारी सरकारी कर्मचारीलाई । उनीहरु सेवा छाड्न विवश भए ।

यसबारे विधेयक तयार गरेर १३ जेठ २०७१ को मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । ‘ग्लोबलाइजेसनको युगमा यस्ता कुरालाई रोकेर हुन्छ ?’ –प्रतिपक्षले सरकारसमक्ष आक्रोश पोखेको थियो । ‘हामी राष्ट्रप्रति समर्पित हुन्छौं कि हुँदैनौं ? परिवर्तन चाहन्छौं कि चाहँदैनौं ? हाम्रो प्रशासन सुधार हुन्छ कि हुँदैन ? राष्ट्रप्रति गौरवान्वित र जनताप्रति इमानदार र कर्तव्यनिष्ठ हुन्छौं कि हुँदैनौं’ –डीभीबारे चर्चित मन्त्री लालबाबु पण्डितले भन्नुभएको थियो ।

यी त भए सरकारी कर्मचारीतर्फका कुरा । तर, मकवानपुरको एक गाउँपालिकाका जननिर्वाचित वडा अध्यक्ष नै डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) धारी भएर सपरिवार अमेरिका गएपछि नागरिक र सरकार र निर्वाचन आयोगले के अब गर्ला ?

यसै प्रसंगमा मकवानपुरको भीमफेदी गाउँपालिका–८ का स्थानीयले वडा अध्यक्षको उपनिर्वाचन गर्न भन्दै सोमबार जिल्ला निर्वाचन आयोग कार्यालयमा निबेदन दर्ता गराएका छन् । वडा अध्यक्ष जगत्मान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि रिक्त वडा अध्यक्षमा उपनिर्वाचन गराउन निवेदन दिइएको हो ।

इपापञ्चकन्याका स्थानीयले संयुक्तरुपमा वडा अध्यक्षको उपनिर्वाचन गराउन माग गर्दै निर्वाचन कार्यालय मकवानपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा निवेदन दर्ता गराएका हुन् ।
वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष घिसिङ परिवारसहित अमेरिका उडेपछि स्थानीयको कामकारबाहीमा प्रभाव परेको भन्दै स्थानीयले उपनिर्वाचन गराउन निवेदन दिएका हुन् ।

गाउँपालिका अध्यक्ष हिदम लामाले उहाँ (घिसिङ) ले राजीनामा नदिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘वडा अध्यक्षज्यू पारिवारिक व्यवस्थापनका लागि मात्र जानुभएको हो । करिब एक महिनाभित्र उहाँ स्वदेश फर्किनुहुनेछ ।’
‘घिसिङले कार्यको जिम्मेवारी दिएर जानुभएकोले जनताका काम रोकिएका छैनन्,’ गाउँपालिका अध्यक्ष लामाको दाबी छ । उहाँको दाबीलाई स्थानीय मान्न तयार छैनन् । भन्छन्– यसरी कानुनविपरीत पद रिक्त राख्न मिल्दैन ।

स्थानीयले दिएको निबेदनमा भनिएको छ– निर्वाचन ऐनअनुसार बढीमा ३ महिनासम्म कार्यवाहक दिन पाइने व्यवस्था रहेको बुझिएकोले ४ महिना नाघिसक्दा पनि आफूखुशी परिवारसहित उतै काम गरी बसेकोले छानबिन गरी मंसिर १४ गते हुने भनिएको उपनिर्वाचनमा पदपूर्ति गराउन आग्रह गर्दछौं । उपनिर्वाचनको सूचीमा मकवानपुर छैन ।

एमालेबाट उठ्नुभएका घिसिङले ५ सय १४ मत ल्याएर जित्नुभएको थियो । उहाँका प्रतिस्पर्धीहरु राप्रपाका सुन्दर कुँवरले २ सय २३ र नेपाली कांग्रेसका दीपेशकुमार विश्वकर्माले १ सय ९१ मत ल्याउनुभएको बताइएको छ ।
जनप्रतिनिधिहरु केही समयका लागि भ्रमणमा जान मिले पनि लामो समयसम्म जनताको कामकारबाहीमा असर पर्ने गरी विदेशमा काम गरेर बस्न नमिल्ने कानुन व्यवसायीले बताएका छन् । ५ वर्षसम्म जनताको काम गर्न चुनिएका जनप्रतिनिधि डीभी परेर परिवारसहित विदेशमा रही काम गरिरहेको अवस्थामा उपनिर्वाचन गराउन निर्वाचन कार्यालय लाग्नुपर्ने निवेदक स्थानीयको दाबी छ ।