बाढीपहिरो विस्थापितलाई राहतको निर्णय , पुनर्निर्माणका लागि अधिकतम् ५० लाख

0
Shares

हेटौंडा । प्रदेश– ३ को विपद् व्यवस्थापन समितिले बाढी, पहिरो, डुबानलगायत घटनामा परेर विस्थापित भएकालाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । समिति अध्यक्ष प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रदेशका बाढी, पहिरो तथा डुबानमा परेर विस्थापित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

अविरल वर्षाका कारण आएको बाढी, पहिरो, डुबानलगायत घटनामा परेर खाद्यान्न, लत्ताकपडालगायत घर पूर्णरुपमा नष्ट भएका वा पूर्ण नष्ट नभए पनि सम्भावित खतराबाट जोगिन अन्यत्र सर्नुपर्ने वा विस्थापित भएर सुरक्षित स्थानमा नयाँ आश्रयस्थल निर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई प्रतिपरिवार १ लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । समितिले राहत रकम तत्काल उपलब्ध गराउन कार्यकारी समितिलाई निर्देशन दिएको छ ।

बैठकले मकवानपुर, सिन्धुली, दोलखा र ललितपुरका बाढी, पहिरो र डुबानलगायत घटनाबाट अतिप्रभावित स्थानीय तहहरु पहिचान गरी ती स्थानीय तहमा खानेपानी, सिंचाई, सडक, विद्यालयलगायत भौतिक संरचनाको क्षति विवरण सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् माग गर्ने निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त क्षतिको विवरणका आधारमा पुनर्निर्माणका लागि अधिकतम् ५० लाखसम्म स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । बैठकले विपद्को सामना गर्न सबै निकाय, सामाजिक संघसंस्था, उद्योगी, व्यापारी एवम् सर्वसाधारणलाई सहयोगका लागि सार्वजनिक आह्वान गर्ने निर्णय गरेको मन्त्री जम्कट्टेलले बताउनुभयो ।