सहायक वन अधिकृतसहित १० जनाविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडाँै ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रूकुमका सहायक वन अधिकृत विनोद प्रसाद कानु लगायतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले कानुसहित दुर्गादिप इन्टरप्राइजेज, काठमाडौंका प्रोप्राईटर दुर्ग बहादुर खड्का, दिपक जडिबुटी सप्लायर्स एण्ड ट्रेडर्स सुर्खेतका प्रोप्राईटर मान बहादुर वली र नेपाल हर्वल प्रोसेसिङ प्लान्ट, बाँकेका प्रोप्राईटर लाल बहादुर वलीविरुद्ध सोमबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।

कानुले नक्कली इजाजतपत्र तयार गरी जिल्ला भित्रका जडिबुटीहरूको चोरी निकासी गर्ने गरेको अनुसन्धानमा खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार उनले वन अधिकृत नभएका बेला आवादीको जग्गाबाट जडिबुटी संकलन गरेको भनि कार्यालयबाट चलानी नभएका नक्कली चलानी नम्बरहरू राखी राजस्वसमेत नतिरेको पुुष्टि भएको छ ।

उनले छ लाख चौध हजार सात सय तीस रुपैयाँको जडिबुटी हिनामिना गरेकाले उनलाई सोहि रकम बराबरको जरिवानाको माग गरिएको प्रवक्ता कोइरालाले बताउनुभयो । साथै दुर्गबहादुर, मानबहादुर र लालबहादुर जडिबुटी संकलनको इजाजत नलिइ नक्कली चलानीको आधारमा राजस्व नतिरी लाभ लिएको खुलेको छ । कोइरालाका अनुसार दुर्गबहादुरलाई एक लाख अठसठ्टी हजार छ सय चालीस रुपैयाँ, मानबहादुर एक लाख अठार हजार चालीस रुपैयाँ र लालबहादुरलाई तीस हजार रुपैयाँ जरिवाना माग गरि मुद्दा दायर गरिएको छ ।

आयोगले सिँचाई विकास डिभिजन गौर, रौतहटका तत्कालीन डिभिजन प्रमुख अजित कुमार श्रीवास्तव, तत्कालीन इन्जिनियर नविन कुमार यादव, तत्कालीन सवइन्जिनियर संजय साह र उपभोक्ता समितिका अध्यक्ष कलाम अक्तरविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुले बाढीपीडित कार्यक्रम अन्तर्गत १६ वटा योजनाहरूमा कुनै कामै नगरी फर्जी बिल बनाई करोडौँ ठगी गरेकाले आयोगले मुद्दा दायर गरेको हो ।

उनीहरुले तीन करोड ७२ लाख पाँच हजार एक सय ३२ रुपैयाँँ बढी रकम हिनामिनागरेकाले उनीहरुलाई ससोहि रकम बराबरको जरिवाना माग गरि मुद्दा दायर गरिएको छ ।

यस्तै आयोगले प्रहरी चौकी वगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापाविरुद्धसमेत मुद्दा दायर गरेको छ । थापालाई आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले तीन हजार पाँच सय घुस लिइसकेको अवस्थामा पक्राउ गरि मुद्द दायर गरेको हो ।

थापाले सेवाग्राहीहरूको हार्डवेयरका सामानहरू बिक्री वितरणको लागि सहज बनाइदिने भन्दै घुस माग गरेका थिए । उनलाई सोशि रकम बराबरको जरिवानासहित कानुन बमोजिम कारवाहीको माग गरि मुद्दा दायर गरिएको छ ।