तीनदिनदेखि सुख्खा बन्दरगाह ठप्प

0
Shares

 

कृष्णउदास खनाल, वीरगन्ज ।
भन्सार क्लियरिङ एजेन्टहरुको आन्दोलनका कारण वीरगन्जमा रहेको सिर्सिया सुख्खा बन्दरगाह तीन दिनदेखि बन्द भएको छ।

बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनल प्रालिका कार्यकारी अधिकृत विष्णुकान्त चौधरीका कारण काम गर्न सक्ने अवस्था नरहेको भन्दै भन्सार क्लियरिङ एजेन्टहरुले बिहीबारदेखि आन्दोलन गरी बन्दरगाह बन्द गरेका हुन्।

बन्दरगाह बन्द भएपछि भन्सार कार्यालयको राजस्व असुली पनि प्रभावित भएको छ। सुख्खा बन्दरगाह भन्सार कार्यालयले दैनिक औसत १२ करोड रुपिया“ राजस्व संकलन गर्दै आएको र बिहीबारदेखि भन्सार क्लियरिङ एजेन्टहरु काम नै बन्द गरेर आन्दोलनमा रहेका कारण दुई दिनयता सुख्खा बन्दरगाह भन्सार कार्यालयले राजस्व संकलन नगरेको भन्सार कार्यालयका सूचना अधिकारी विकास साहले जानकारी दिनुभयो । भारत तथा तेस्रो मुलुकबाट रेलमार्ग हु“दै आयात भएका माल सामानका दुई हजारभन्दा बढी कन्टेनर सुख्खा बन्दरगाहमै थन्किएका छन्।

समस्या सामाधानका लागि वीरगन्ज उद्योग वाणिज्य संघको मध्यस्थतामा बिहीबार सा“झ वार्ता भएको थियो। वार्तामा कार्यकारी अधिकृत चौधरीले अपशब्द प्रयोग गरेपछि विवाद झन चर्किएर वार्ता निष्कर्षविहीन भएको भन्सार क्लियरिङ एजेन्टले बताएका छन् । भन्सार क्लियरिङ एजेन्टले कार्यकारी अधिकृत चौधरीले माफी माग्नुपर्ने शर्त राखेका कारण वार्ता निष्कर्षविहीन भएको वार्तामा सहभागी वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुबोध गुप्ताले जानकारी दिनुभयो । भन्सार क्लियरिङ एजेन्ट संघका पूर्वअध्यक्ष उमेश शर्माले भने कार्यकारी अधिकृत चौधरीले माफी नमागेसम्म आफूहरु काममा नफर्किने बताउनुभयो ।