मानबहादुर खड्का
नगर प्रमुख: लालबन्दी नगरपालिका
२०४६ सालबाट राजनीतिमा लाग्नुभएका मानबहादुर खड्का जब्दी गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । नागरिक शिक्षित भए मात्र गाविसको विकास हुन्छ भन्ने लागेर खड्काले गाविस अध्यक्ष हँुदा पहिलो प्राथमिकता शिक्षालाई दिनुभएको थियो । अहिले पनि खड्काले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीलाई प्राथमिकतामा राख्नुभएको छ । विकास निर्माणका विषयमा नगर प्रमुख खड्कासँग नेपाल समाचारपत्रका लागि सर्लाही संवाददाता पुष्पा थापाले गर्नुभएको कुराकानी :
तपाईं लालबन्दी नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएपछि नगरको विकासका लागि के–कस्ता योजना अगाडि सार्नुभएको छ ?
यस नगरपालिका भौगोलिक हिसाबले जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका भएको र केही वडा अति विकट चुरे पहाडमा समेत पर्ने भएकाले सडक सञ्जालसँग सबै वडालाई जोड्ने योजना नै प्रमुख छन् । त्यस्तै नगरभित्रका सबै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा कायम गराउनका लागि अंग्रेजी माध्यमबाट अध्यापन, बालविकास शिक्षालगायतका विभिन्न योजना अघि सारिएको छ । स्वास्थ्यमा नगरबासीको सहज पहुँचका लागि नगरको १ मात्र अस्पताल प्राथमिक स्वास्थ्य केन्द्रलाई २४ घण्टा सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ । सबै लक्षित वर्गको व्यक्तित्व र व्यावसायिक विकासका लागि विभिन्न सीपमूलक तथा प्राविधिक तालिमको व्यवस्था गरिएको छ ।
नगरभित्र तत्काल सुधार गर्ने काम के हो र त्यसका लागि के कस्तो योजना आवश्यक पर्छ ?
नगरमा मुख्यतः खानेपानीकै समस्या रहेको छ । त्यसको समाधानका लागि बृहत् तेस्रो साना शहरी खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यसले धेरै समस्या हल हुने अपेक्षा छ । त्यस्तै खानेपानी रिचार्जका लागि विभिन्न सार्वजनिक स्थानमा ठूला पोखरी निर्माण गर्ने योजना अघि सारिएको छ । वर्षात्को समयमा केही क्षेत्रमा डुबान हुने समस्या रहेको छ त्यसको निकासका लागि पूर्व–पश्चिम लोकमार्गको दायाँबायाँ ठूलाठूला नाला निर्माण गरी कालिन्जोर र लखन्देही खोलामा पानी निकास गर्ने लक्ष्य राखिएको छ । लालबन्दी नगरपालिकाको सबैभन्दा ठूलो समस्या खानेपानीको हो । नगरभित्र हिउँद सुरु भएसँगै खानेपानीको हाहाकार हुने गरेको छ । शुद्ध पिउने पानीको व्यवस्था गर्न नगरको जिम्मेवारी हो । नगरपालिकाभित्रका केही वडा अति विकट चुरे पहाडमा पर्ने भएकाले सडक सञ्जालसँग सबै वडालाई जोड्ने योजना नगरले प्राथमिकतामा राखेको छ । त्यसबाहेक स्वास्थ्य र शिक्षा पनि हो ।
नगरलाई संम्बृद्ध बनाउन नगरको मुख आयस्रोत के छ ?
आन्तरिक आय वृद्धिका लागि नगरपालिकाले आफ्नै लगानीमा बजार क्षेत्रमा केही व्यावसायिक भवन निर्माण सम्पन्न गरी आन्तरिक आय संकलन गर्न थालिसकेको छ । केही निर्माणका चरणमा रहेका छन् । आन्तरिक आय बढाउनका लागि प्रत्येक वर्ष एउटा व्यावसायिक भवन निर्माण गर्ने लक्ष्य राखेका छौँ । अन्य विभिन्न हाटबजारको ठेक्कामार्फत आय संकलन गर्दै आइरहेका छौँ । नगरवासीले तिर्ने विभिन्न कर, दस्तुर र सेवाशुल्कको दर निकै न्यून छ तथापि केही दायरामा वृद्धि गरी त्यसबाट पनि सन्तोषजनक नै आय संकलन भइरहेको छ ।
यस वर्षको योजनामा तपाईंले लक्षित तथा सीमान्तकृत समुदायका लागि ठोस योजान के ल्याउनुभएको छ ?
लक्षित तथा सीमान्तकृत समुदायका लागि विभिन्न व्यावसायिक तथा प्राविधिक तालिमको कार्यक्रम अघि सारेका छौँ । व्यावसायिक तालिम तथा सीप सिकाई आत्मनिर्भर बनाउने र व्यवसाय सञ्चालनमा विशेष सहयोग गर्ने नीति लिएका छौं । त्यस्तै कृषि तथा पशुपालनका क्षेत्रमा व्यावसायिक सुधारका लागि विभिन्न कार्यक्रम छन् । व्यक्तित्व तथा नेतृत्व विकासका लागि विभिन्न तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ ।
लक्षित तथा सीमान्तकृत समुदायका लागि करको दायरा के कस्तो छ ?
उहाँहरुलाई करको दायरामा ल्याउने तर लक्षित तथा सीमान्तकृत समुदायका लागी विशेष सहुलियत र छुटको व्यवस्था गरेका छौं ।
सुशासन कायम गर्दै नागरिकप्रति जवाफदेही र पारदर्शिताका लागि तपाईंले नगरमा के–कस्ता योजना अगाडि सार्नुभएको छ ?
नगरका विभिन्न सूचना तथा सेवा प्रवाहबारे नगरवासीले घरैमा बसीबसी थाहा पाऊन् भन्ने उद्देश्यले नगरलाई सूचना प्रविधिमैत्री बनाउँदै लगिएको छ । नागरिक बडापत्रको व्यवस्था, नगरको वेभसाइट, मोबाइल एप्लिकेसन, फेसबुक पेज, ट्विटर ह्यान्डलमार्फत सार्वजनिक सूचना तथा जानकारी प्रवाह गर्दै आएका छौं, स्थानीय एफएम रेडियोहरु तथा पत्रपत्रिकासँग समन्वय गरी विभिन्न खाले जानकारीमूलक कार्यक्रम तथा सूचनाहरु प्रशारण÷प्रकाशन गर्ने गरेका छौँ, नगरको समग्र गतिविधिबारे नगरवासीको सहजताका लागि सूचना अधिकारीको व्यवस्था तथा विभिन्न समयमा सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा सार्वजनिक लेखापरीक्षणका कार्यक्रम सञ्चालन गर्दै आएका छौं । कर्मचारीको व्यक्तित्व र क्षमता विकासका लागि विभिन्न खाले तालिम तथा अध्ययन अवलोकन भ्रमणको कार्यक्रम राखिएको छ ।
अहिले धैरै स्थानीय तहलाई सुशासन कायम गर्न निकै चुनौती छ ? जनप्रतिनिधि र कर्मचारीबीचमा एकता छैन, तपाईंले यसलाई कसरी हेर्नुभएको छ ?
चुनौती त छ, तर हामी मिलेरै अघि बढेका छौँ, त्यसले मलाई कुनै असर गरेको छैन । कर्मचारी साथीहरु सबै सहयोगी भावकै हुनुहुन्छ । दरबन्दीअनुसारको कर्मचारी नहुँदा कार्यसम्पादनमा केही समस्या उत्पन्न नभएको त हैन तर सकेसम्म सेवाग्राहीलाई चुस्त र छरितो सेवा प्रदान गर्ने कार्यप्रति सजक छौँ ।
स्थानीय तहले अहिलेसम्म पनि धेरै कानुन बनाएर लागू गर्न नसकेको के छ ?
कानूनी मामिलामा हामी अलि अघि नै छौँ । आव २०७४÷०७५ र २०७५÷०७६ मा गरी जम्मा २७ वटा कानुनी दस्तावेज राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएका छौं । चालू आवमा पनि केही ऐन, कार्यविधि र निर्देशिका पारित गरेका छौँ । ती पनि चाँडै लागू हुँदै छन् ।
नगरपालिकामा यस वर्ष कुन शीर्षकमा ठूलो योजना राख्नुभएको छ ?
खेलकुदको प्रचुर सम्भावना रहेको यस नगरमा रङ्गशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । विभिन्नसडक कालोपत्रे, नाला निर्माणलगायतका ठूला योजना राखेका छौँ ।
जनप्रतिनिधि किन पूर्वाधार विकासमा ठूलो योजना राख्छन् ?
जनप्रतिनिधिमा देखिने काम होस् भन्ने चाहना हुन्छ, पूर्वाधार भनेको देखिने योजना हो र तत्कालै प्रतिफल पाइन्छ तथा नगरवासीको माग पनि पूर्वाधारमै केन्द्रित हुन्छ । जनप्रतिनिधिले जनताको मागअनुसारको काम गर्नुपर्ने भएकाले जनताले जे अपेक्षा बढी गर्नुहुन्छ त्यसैमा केन्द्रित हुनुपर्ने बाध्यता हुन्छ ।
प्रतिक्रिया