लोकेन्द्रबहादुर शाही
गाउँपालिका प्रमुख: केआईसिंह गाउँपालिका
जनताका बीचमा गइराख्ने, पीरमर्का सुनिराख्ने र त्यसमा आफूले सक्ने भूमिका खोज्ने पात्रका रुपमा चिनिनुहुन्छ डोटीको केआईसिँह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही । उहाँको यही प्रवृत्तिकै कारण जनताले केआईसिंह गाउँपालिकामा उहाँको सिङ्गो प्यानललाई निर्वाचित ग¥यो । पहिलो गाउँ सरकार प्रमुख भएर चलाएको दुई वर्षको अनुभव र आगामी योजनाका विषयमा गाउँपालिका प्रमुख शाहीसँग नेपाल समाचारपत्रका लागि डोटी संवाददाता विमल विष्टले गरेको कुराकानी ।
लामो संघर्ष, उतारचढावपछिको परिवर्तित संरचनाको स्थानीय सरकारको पहिलो प्रमुख भएर काम गर्दै हुनुहुन्छ । कस्तो छ यहाँको अनुभव ?
बेलाबेलाका तानाशाह, प्रतिगमनविरुद्ध लड्दै दिगो लोकतन्त्र स्थापित गर्ने लडाइँमा देश रुमल्लिएको अवस्था थियो । त्यसमा पनि ४७ सालपछिको अवस्थामा केन्द्रीकृत राज्यव्यवस्थाबाट हामीजस्तो सुदूर, त्यसमा पनि दूरदराजका गाउँमा सिंहदरबारको विकास पुग्न सकेन भनेर संघीयतासहितको व्यवस्था अंगिकार गरिएको छ । हामी चर्चामा ल्याइएको शक्तिशाली स्थानीय सरकारको नेतृत्वमा छौं । यद्यपि चर्चा गरिएजस्तो अधिकार र स्रोत साधन त संघ र प्रदेश सरकारले दिएको त छैन ।
तापनि जति छ त्यसलाई उपयोग गरेर हामी गर्दै सिक्दै स्थानीय सरकारको जग बसाउने काममा सक्रिय छांै । अझै पनि हामीले जग बसाउन नै धेरै बाँकी छ । सबैजसो कानुन बनाउन सकिएको अवस्था छैन । पूर्वाधारको काम अझै सुरुवातको चरणमा छ । यी यावत् कुराका बीचमा हामी हाम्रो परिकल्पित योजनाको बाटोमा अग्रसर छौं ।
केआईसिंहको पहिलो गाउँसरकारको प्रमुखले आफ्नो कार्यकालभरि परिकल्पना गरेको गाउँपालिका कस्तो छ ?
हामी सुरुआतमा छौं । पहिलो त हामीले गाउँपालिकाको जग बसाउनु नै बाँकी छ । पर्याप्त भौतिक पूर्वाधार बनाउनु छ । स्थानीय अवस्था सुहाउँदा कानुनी व्यवस्था गर्न बाँकी छन् । यी सबै कुरालाई सम्बोधन गरेर गाउँपालिका क्षेत्रमा रहेको कृषि, पशुपालन, स्वास्थ्य, पूर्वाधार विकास, प्राकृतिक स्रोत र पर्यटकीय क्षेत्रको उचित सदुपयोग एवं विकास गरी सुखी, समृद्ध र समतामूलक गाउँपालिका बनाउने हाम्रो उद्देश्य हो । सोहीअनुसार गाउँपालिकाका गतिविधि सञ्चालन गरिरहेका छौं ।
गाउँपालिकाले हालसम्म चारवटा गाउँसभा र दुईवटा बजेट कार्यान्वयन गरिसक्यो । त्यसमा तपार्इंको परिकल्पनालाई सम्बोधन गर्ने योजना कसरी समेट्नुभएको छ ?
हामीले विगतका बजेटमा पूर्वाधारमा विशेष जोड दिएका छौं । यसबाहेक गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि जमिन प्राप्ति पनि गरिसक्यौं । यसबाहेक कृषियोग्य जमिनको उपयोग गर्ने, पशुपालनलाई व्यावसायिक बनाउने, पर्यटकीय क्षेत्रको संरक्षण र व्यवस्थापन गर्ने, समावेशी विकासमा जोड दिने, उद्यमशीलताको विकास गर्ने एवं भौतिक पूर्वाधारको विकास गरी गरिबी न्यूनीकरण गर्ने खालका योजनामा बजेट खर्च गरेका छौं ।
आगामी आर्थिक वर्षमा कस्ता योजनाले प्राथमिकता पाउँछन् त ?
सरकारले जनतालाई कहिल्यै अपनत्व महसुस गराउन सकेको छैन । दुई दशकअघिका स्थानीय निकायको अवस्था पनि त्यही थियो । अहिलेको संरचनामा आउँदा हामीले परिवर्तित राज्यव्यवस्था र लोकतन्त्रप्रतिको विश्वास जनताका कायम गराउन जरुरी देख्छु । यसकारण मैले स्थानीय सरकारलाई जनताप्रति अत्यधिक उत्तरदायी बनाउने प्रयास गरिरहेको छु । त्यसैले जनताको घरदैलोमा बेलाबेला पुगिरहन्छु । जसले जनताले अपनत्व महसुस गर्ने योजनाबारे मलाई ज्ञान छ । तीनै योजना मेरो प्राथमिकता हुन्छ । त्यसमा पनि दिगो विकासमा फाइदा पुग्ने, विपन्न, गरिब, दलित र पिछडिएका समुदायको मागमा आधारित योजना निर्माण गर्दै उनीहरुको जीवनस्तर माथि उकास्ने योजनामा मेरो मुख्य प्राथमिकता हुन्छ ।
विपन्न, गरिब, दलित र पिछडिएका समुदायको जीवनस्तर उकास्ने त्यस्ता योजना के छन् ?
हामीले स्थानीय सम्भावना तथा परम्परागत सीपका आधारमा उनीहरुको आयआर्जनका क्षेत्रलाई बढावा दिने खालका कार्यक्रम शुरु गरेका छांै । यस्ता समुदायलाई कृषि तथा परम्परागत सीपमूलक कार्यमा लाग्न अभिप्रेरित गर्ने, तालिम तथा सामग्रीहरु प्रदान गर्ने, यसैमा पनि दलित समुदायको जीवनस्तर उकास्नका लागि ‘दलितसँग अध्यक्ष’ भन्ने कार्यक्रम नै ससीप प्रवद्र्धन अभियान नै सञ्चालन गरेका छौ । सुकुम्बासीलाई एकीकृत बस्तीका लागि कार्यक्रम तय गर्दै छौं । विपन्नलाई आयआर्जनका काममा अग्रसर गराउने खालका कार्यक्रम हरेक वर्षको बजेटमा समेटिएका छन् ।
सामाजिक विकासका सवालमा केके गरिरहनुभएको छ ?
हाम्रो समाज सामाजिक विकासको दृष्टिकोणले निकै पछाडि छ । शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा हामी नाजुक स्थितिमा छौ । विद्यालयको शैक्षिक गुणस्तर खस्कँदो अवस्थामा छ । जसले हाम्रा नानीबाबुको भविष्य अन्धकार त छ नै मुलुकको भविष्य नै त्यसले संकटमा पारेको छ । यसर्थ नमुना विद्यालय बनाउँदै विद्यालयको गुणस्तर सुधारका योजनामा हामी छौं । हामी सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठनलाई निरन्तर सबैजसो विद्यालयमा विस्तारमा जोड दिँदै छौं ।
विद्यार्थीलाई पढ्ने बानीको विकास गर्न ‘किताबसँग बालक’, विद्यालयको शैक्षिक गुणस्तरप्रति विद्यालय व्यवस्थापन समिति र अभिभावकलाई जिम्मेवार बनाउन ‘व्यवस्थापन र समन्वय मेरो जिम्मेवारी’ तथा ‘विद्यालयसँग अभिभावक’ जस्ता कार्यक्रम सञ्चालन गदै छौं । यस्तै स्वास्थ्य क्षेत्रमा जनता सामान्य रोग बिरामका लागि पनि ऋण काढेर उपचारका लागि बाहिर गएको पीडा मेरो मनमा पहिल्यैदेखि गडेर बसेको थियो । त्यसमा अब गाउँमै एमबीबीएस डाक्टर ल्याएर सेवा शुरु गरेका छौं । यसरी स्थानीय तहको लगानीमा डाक्टर ल्याउने केआईसिंह देशकै पहिलो गाउँपालिका बनेको छ । यसबाहेक बेलाबेला स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा दिइरहेका छौं । स्वस्थ जनशक्ति उत्पादन होस् भनेर हामीले सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परिक्षण गरिरहेका छौं ।
अहिले सुशासनको सवाल देशव्यापी चर्चामा छ । स्थानीय तहमा चरम भ्रष्टाचार भएको जनप्रतिनिधिले ब्रम्हलुट गरिरहेको चर्चा छ । तपार्इंका तिर के छ ?
हामी नागरिकको सेवाका लागि जीवन समर्पित गरेका मान्छे हौ । जनताको हित हाम्रो पहिलो कर्तव्य हो । जनतालाई ढाँटेर, ठगेर हामीले लिने सुखसुविधाले हामीले पोल्छ भन्ने मलाई लाग्छ । तसर्थ मैले आफैं फजुल खर्चमा शून्यता ल्याउने प्रयास गरेको छु । तपाईंले देख्नुभएको छ अन्य स्थानीय तहका प्रमुखले महँगा गाडी चढेका छन् मैले अहिलेसम्म खरिद गरेको छैन । बरु त्यो रकम जनताको विकासमा खर्चेको छु । गाडी, घोडा, भ्रमण, मनोरञ्जन तालिम गोष्ठीका नाममा हुने खर्च मैले पूर्ण रोकतोक गरेको छु । विकासका योजनामा हुन सक्ने भ्रष्टाचारमा सबै चनाखो छौं । योजना छनोट भइसकेपछि उपभोक्ता समितिका पदाधिकारी, स्थानीय, कर्मचारीलाई सँगै बसाएर प्राविधिकलाई आफ्नै मोटरसाइकलमा बोकेर टोलटोलमा गई कसैले पनि गाउँपालिकाका योजनाको काम गर्दा अतिरिक्त पैसा नदिनु होला भन्दै सम्झाउने गरेको छु ।
अन्तमा आफूले गरेका अन्य कामका बारेमा केही भन्नुहुन्छ कि ?
हामी गाउँपालिकाको विकासको जग बसाउने क्रममा छौं । धेरै कुराको प्रणाली अझै बसाउन सकिएको छैन । हामी सबै स्थानीय तह सिक्ने र सिकाउने क्रममा छांै । यसर्थ यो अभियानमा सबै सँगसँगै भएर हिँड्न जरुरी छ । गाउँपालिका सञ्चालन गर्दैगर्दा चुनावी नतिजामा पछाडि परेका साथीहरु तथा पार्टीको धारणा समेत समेटेर अघि बढ्ने प्रयत्न गरेको छु । यति हुँदाहुँदै पनि कमीकमजोरी हुन सक्छन् । त्यसलाई बुझेर असल नियतका साथ गरिएको काममा माफी दिँदै गाउँपालिकालाई विकास गर्दै समृद्ध बनाउने अभियानमा जुट्न सबैमा आग्रह गर्छु ।
प्रतिक्रिया