नयाँ भुक्तानी सेवा ‘सेलपे शुरू

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
भुक्तानी सेवा प्रदायक कम्पनी सेलकम प्रालिले ‘सेलपे सेवा’ सञ्चालनमा ल्याएको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसनको माध्यमबाट आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिनेछ ।
दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, पसल, रेष्टुरेन्ट, सिनेमा हलमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर आदि सेलपेबाट भुक्तानी गर्न सकिन्छ ।

सेलपे मार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब कुनै ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा सञ्चित रकमबाट निर्देश भए बमोजिमको रकम कट्टी भई भुक्तानी गरिनुपर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट बिना नै विभिन्न भुक्तानी गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता हो ।

सेलपे सेवा अत्यन्तै भरपर्दो सेवा हो । यस सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवास“ंग आबद्ध भएका बैंकका ग्राहकले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्प स्टोरमा उपलब्ध छ ।

विक्रेताहरुको हकमा आफ्नो व्यवसाय सेलपेमा आबद्ध गरी ग्राहकले सेलपेमार्फत गरेको भुक्तानी रकम तुरुन्तै रियल टाइममा बैंक खातामा प्राप्त हुनेछ । अन्य भुक्तानी माध्यमबाट प्राप्त गर्दा लाग्ने शुल्कभन्दा न्युन शुल्कमा सेलपे सेवा प्राप्त सकिन्छ । यसरी न्यून शुल्क तथा भुक्तानी रकम प्राप्त गरी दोहोरो फाइदा हुने छ ।

सेलपे सेवा, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले सञ्चालन गरेको विभिन्न किसिमका भुक्तानीहरु गरिने सेवा हो । सेलपे सेवाबाट मोवाईल तथा वेबको माध्यममार्फत आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सेलपे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली पालन गरिएको कम्पनीले जनाएको छ ।

गुगल प्लेस्टोर वा एप्पल एप्प स्टोर वा वेबसाइटमा गई सेलपे एप्प आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नुपर्ने हुन्छ । ततपश्चात एप्पमा भनिए अनुरुप आफूलाई दर्ता गरी आवश्यक केवाईसी भरी आफ्ना बैंक खाताहरु जोड्न सकिन्छ । आफूले चाहेको जति पनि बैंक खाता सेलपे सेवामा आबद्ध गर्न सकिन्छ । तर, ती बैंक कम्पनीको साझेदार बैंक हुनुपर्नेछ ।