युएस–बंगला एयरलाइन्स पीडितद्वारा २ अर्ब क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका सात जना एमबीबीएस विद्यार्थीका आमाबाबुले वायुयान धनी सञ्चालक कम्पनीविरुद्ध २ अर्ब १० करोड रुपिया“ (१९ मिलियन ९० हजार अमेरिकी डलर) भन्दा बढी क्षतिपूर्ति रकम दाबी गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

दुर्घटना भएको १६ महिना बितिसकेता पनि कम्पनीको तर्फबाट अन्तर्राष्ट्रिय कानुन बमोजिम माग दाबी गरिएको क्षतिपूर्ति प्रदान गर्न कम्पनीले अस्वीकार गरेपछि पीडितहरुले मुद्दा दायर गरेका हुन् । उक्त दुर्घटनामा मृत्यु भएकी एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबुबाले मुद्दा दायर गरेका छन् ।

वायुयान धनी र सञ्चालक एयर क्यारियरको दायित्वसम्बन्धी अन्तर्राष्ट्रिय कानुन बमोजिम क्षतिपूर्ति प्राप्तिका लागि नेपाल पक्ष रहेको मन्ट्रियल महासन्धि १९९९, वार्सा महासन्धि १९२९ र हेग प्रोटोकल १९५५ एवम् दुष्कृति कानुनबमोजिम ‘रङफुल डेथ’ वापत निर्धारित क्षतिपूर्ति रकम एकमुष्ट दिलाउन माग गर्दै मुद्दा दर्ता गरिएको पीडितहरुका प्रमुख कानुनी सल्लाहकार अधिवक्ता अमृत खरेलले जानकारी दिनुभयो।

ग्लोबल रिस्क कन्सल्टेन्ट्सले गरेको एक्चुरियल मूल्यांकन प्रतिवेदनसमेतको आधारमा बीआरएस नेउपाने एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सले तयार पारेको क्षतिपूर्तिको प्रक्षेपित प्रतिवेदनमा उक्त दुर्घटनाबाट मृतकको परिवारलाई क्षतिपूर्ति निर्धारण गरिएको छ । क्षतिपूर्ति रकम निर्धारण गर्नका लागि पीडित परिवारलाई भएको आर्थिक र गैरआर्थिक क्षतिको वर्गीकरण गरी दायित्व निर्धारण गरी दावी गर्ने अन्तराष्ट्रिय परिपाटी अनुरुप नै दाबी गरिएको अधिवक्ता अमृत खरेलले बताउनुभयो ।

क्षतिपूर्ति रकमका अतिरिक्त मन्ट्रियल महासन्धिको धारा २१ अनुच्छेद १ बमोजिमको १ लाख १३ हजार स्पेसल ड्रइङ राइट्सले हुन आउने रकम र मन्ट्रियल महासन्धिको धारा २२ को अनुच्छेद ६ बमोजिम मुद्दामा लाग्ने अदालती शुल्क एवम् मुद्दा मामिला गर्दा लाग्ने खर्च र त्यसमा लाग्ने ब्याज समेत थप गरी एकमुष्ट रकम वायुयान धनी र सञ्चालक युएस–बंगला एयरलाइन्स लिमिटेडबाट दिलाउन माग गरिएको छ ।

त्यस्तै मन्ट्रियल महासन्धिको धारा २१ को अनुच्छेद २ र वार्सा महासन्धिको धारा २५ को व्यवस्थाअनुसार वायुयानको हेलचेक्याइँबाट भएको दुर्घटनामा वायुयान सञ्चालकले असीमित दायित्व वहन गर्नुपर्ने व्यवस्था रहेको छ ।
मन्ट्रियल महासन्धिको उक्त व्यवस्थको आधारमा नेपालमा अन्तर्राष्ट्रिय वायुयान धनीका विरुद्ध मुद्दा दायर भएको यो पहिलोपटक हो ।

मन्ट्रियल महासन्धिको धारा १७ को व्यवस्था अनुरुप यात्रुको विमानमा भएको दुर्घटनाबाट मृत्यु भएकोमा धारा ३३ अनुसार क्षतिपूर्ति दाबीका गरी वायुयान सञ्चालक र धनीका विरुद्ध वायुयान दर्ता रहेको देशको अदालतमा वा वायुयानको मुख्य व्यवसाय रहेको देशमा वा दुर्घटना भएको विमानको गन्तव्य देशको अदालतमा वा विमानको टिकट खरीद गरेको वायु यानको व्यवसाय रहेको देशमा वा मृतक यात्रुको मुख्य र स्थायी बसोबास रहेको देशको अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था छ । वार्सा महासन्धिको धारा २९ बमोजिम दुर्घटना भएको मितिबाट दुई वर्षको हदम्याद पनि बा“की नै रहेको अवधिमा नै मुद्दा दर्ता भएको छ ।