कामपाले बनाएछ २५ वटा कानुन

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं । काठमाडौं महानगरपालिकाले आ.व. २०७५÷०७६ मा २५ वटा स्थानीय कानुन बनाई कार्यान्वयनमा ल्याएको छ ।
ती कानुनहरूमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि), सार्वजनिक निजी साझेदारी तथा लगानी, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, सवारी तथा यातायात व्यवस्थापन, शिक्षा, सार्वजनिक खरिद र विवाद निरुपण ऐन, (२०७५) लगायत छन् ।

उक्त महानगरपालिकाले ती कानुनहरू बनाउनुका अतिरिक्त अन्य विभिन्न कार्यलाई व्यवस्थित रुपमा अघि बढाइरहेको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र खोली मेलमिलाप हुने प्रकृतिका विवाद वडास्तरमै सल्ट्याउने, महानगरपालिका क्षेत्रमा अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र सुशासन प्रवर्धन गर्न सहरी क्षेत्रको झण्डै १ सय ६० स्थानमा करिब ५ करोड लगानीमा महानगरीय प्रहरीको सहकार्यमा मुख्य–मुख्य चोकहरुमा सिसिटिभी क्यामरासहितको ट्राफिक लाइट राख्ने जस्ता कार्यहरूले निरन्तरता पाएका छन् ।

यस्तै बिकास प्रारुपलाई बिकेन्द्रीकरण गर्नका लागि वडा कार्यालयबाट नै वडास्तरीय विकास योजना सञ्चालन गराउन जनसंख्या, क्षेत्रफल, कर परिचालन र विकास गरी तीन आधारमा वर्गीकरण गरिएको छ ।
महानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गाको पहिचान गर्ने, अतिक्रमण रोकी संरक्षण गर्ने र छिमेकी नगरलाई हरियाली, खुलाक्षेत्र संरक्षण र पार्क निर्माण गरी ती वडालाई बिकासमा साथसाथै लैजान नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत १० वटा नगरपालिकालाई १÷१ करोड रुपैयाँ उपलब्ध गराइएको थियो ।

यसका लागि मेयर बिद्यासुन्दर शाक्यको संयोजकत्वमा उपत्यकाका २ वटै जिल्लाका प्रमुख र उपप्रमुख सदस्य रहेको उपत्यका नगरपालिका फोरम गठन गरिएको थियो ।
प्रवक्ता डंगोलले कमलपोखरी संरक्षण, शंखपार्क गुरुयोजना र चेस पार्कको डिजाइन तयार गरी कार्यान्वयनमा ल्याउनु, ४७ वटा परियोजनाको सर्भे, डिजाइन, ड्रइङ्ग र इस्टिमेट तयार पार्नु, मेयर उज्यालो कार्यक्रमअन्तर्गत करिव १५ हजार स्मार्ट सडक वत्ती जडान गर्नु र न्युरोड र दरबारमार्ग क्षेत्रमा स्मार्ट पार्किङ्ग सञ्चालन सुरुवात गर्नु गत वर्षका महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

यसैगरी कामनपाले काष्ठमण्डप र रानीपोखरी पुननिर्माण, इन्द्रायणी, कंकेश्वरी, लखतीर्थ, पचली भैरब, कोटेश्वर भगवती मन्दिर, हनुमानढोकादेखि स्वयम्भुसम्मको सम्पदा पदमार्गको विकास, संरक्षण, सम्वर्धन र प्रबर्धनको बृहत गुरुयोजना बनाउन भ्याएको छ ।

महानगर क्षेत्रभित्र रहेका ऐतिहासिक पोखरी र ढुंगेधाराको तथ्याङ्क संकलन, युरो–४ मापदण्डका २० वटासहित गरी ५१ वटा ठूला बस ल्याउन १५ करोड रुपैयाँ लगानी भएको छ भने महानगरभित्रका ७५ बर्ष उमेरका महिला र ८० बर्षका पुरुष वरिष्ठ ज्येष्ठ नागरिकलाई महानगर बिशेष भत्तावापत बार्षिक १२ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सरकारको योजनाअनुसार घर–घरमै सामाजिक सुरक्षा भत्ता पु¥याउनु, उनीहरूलाई नियमित र निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गर्नु, परिचयपत्र भएका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई साझा बसमा निःशुल्क यात्रा गर्ने व्यवस्था मिलाउनु महानगरको अर्को महत्वपूर्ण उपलव्धी भएको कामनपाको दावी छ ।

कामनपाले गत आवमा अत्याधुनिक प्रविधिजडित १० वटा एम्बुलेन्स, मनोरोगी, असहाय, अशक्तको संरक्षण र उद्धार प्रयोजनका लागि मानव सेवा आश्रमलाई २० लाख रुपैयाँ प्रदान, सहरलाई क्रमशः नो मास्क सिटिका रुपमा विकास गर्न ५ वटा अत्याधुनिक बु्रमर खरिद गरेको छ भने २ वटा बु्रमर खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।