हुलाक टिकटमा तुलस्यानलाई लार्ज गोल्ड


सरोज राजोपाध्याय, काठमाडौं । विश्व हुलाक टिकट प्रदर्शनीमा नेपालले वृहत् स्वर्ण पदक प्राप्त गरेको छ । नेपालबाट सहभागी ऋषि कुमार तुलस्यानले उक्त पुरस्कार पाएपछि सरकारले उहांलाई सम्मान गरेको छ । उहांलाई सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सम्मान गर्नुभएको थियो ।

सोमबार हुलाक विभागले आयोजना गरेको एक कार्यक्रममा उहांलाई मन्त्री बाँस्कोटाले सम्मानपत्र प्रदान गर्नुभएको थियो । सन् २०१९ को जून ११ देखि १७ सम्म चीनको हुबेई प्रान्तको वुहान शहरमा आयोजित विश्व हुलाक टिकट प्रदर्शनी प्रतियोगितामा हुलाक टिकट संकलक तुलस्यानले उक्त पदक प्राप्त गर्नु भएको थियो ।

उहांले कुल ९६ अंक प्राप्त गरी उक्त पदक पाउनु भएको हो । यो संगै तुलस्यान उक्त पदक पाउने नेपालकै पहिलो ब्यक्ति समेत बनेका छन् । उक्त प्रदर्शनीमा ८९ देशका प्रतियोगीहरु सहभागी भएका थिए ।

नेपाल फिलाटेलिक सोसाइटीका आजीवन सदस्य तुलस्यानले सो प्रतियोगितामा प्रदर्शन गर्नु भएको संकलन “नेपालः द प्रि स्टाम्प एण्ड क्लासिक पिरियड सन् १७७९–१९०७” सर्वोत्कृष्ट घोषित भएको थियो ।

नेपालले फिलाटेलिक सोसाईटीका माध्यमबाट सन् १९८० देखि नै विश्वका विभिन्न प्रतियोगितामा हुलाक टिकट प्रदर्शनीहरुमा निरन्तर रूपले भाग लिई विभिन्न पदक प्राप्त गरेपनि वृहत् स्वर्ण पदक भने पहिलो पटक पाएको हो ।
उहांले विगत २८ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हुलाक टिकट प्रदर्शनीहरुमा भाग लिंदै आउनु भएका छन् ।

सन् २०१९ मा ब्राजिलमा आयोजित विश्व हुलाक टिकट प्रदर्शनीमा पनि उहांको यही संकलनले स्वर्ण पदक जितेको थियो । वुहानमा आयोजित प्रदर्शनीमा नेपालका अन्य संकलनकहरुमा श्याम न्हुच्छें प्रधानको संकलन “रेभेन्यूज ऑफ नेपाल” ले लार्ज भर्मेल पदक, डा. अशोक राणाको संकलन “श्री पशुपति इसूज ऑफ नेपाल” ले भर्मेल पदक, श्यामन्हुच्छें प्रधानकै संकलन “द हिमालयान किङ्गडम ऑफ नेपालः १८७५–१९५०” लाई लार्ज सिल्भर पदक प्राप्त भएको थियो ।

उक्त कार्यक्रममा हुलाक टिकट मार्फत् देशको नाम राख्न सफल हुनु भएकोमा मन्त्री बांस्कोटाले तुलस्यानलाई बधाई र्दिदै फिलाटेलिक सोसाइटीलाई गरिदैं आएको सहयोग बृद्धि गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । यस्तै हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले पनि आफ्नो मन्तब्य राख्ने क्रममा धन, मन र बुद्धि भएमा मात्र अन्तराष्ट्रिय हुलाक प्रदर्शनीमा जित्न सकिन्छ भन्ने प्रमाण तुलस्यानले दिएको बताउनु भयो ।

यसैगरी नेपाल फिलाटेलिक सोसाइटीका आजीवन सदस्य श्रीरामसिंह बस्नेतले नेपालमा हालसम्मका हुलाक टिकटको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

सोसाइटीका अध्यक्ष शंकर श्रेष्ठले सन् २०२० को पर्यटन वर्ष सफल पार्न विश्व हुलाक टिकट प्रदर्शनी जस्तो कार्यक्रम गर्न सकेमा पर्यटन वृद्धि गर्न टेवा मिल्ने बताउनु भयो । सो कार्यक्रममा सम्मानित हुनुभएका तुलस्यानले धन्यवाद ब्यक्त गर्दै थप जिम्मेवारी बढेको बताउनु भयो ।

उक्त अवसरमा मन्त्री बांस्कोटाबाट विशेष संस्मरणात्मक आवरणमा टांचा प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालक चन्द«रवि श्रेष्ठले पनि कार्यक्रमको माहौललाई मनोरञ्जनात्मक बनाएका थिए ।