झा–भट्ट–विक पत्रकारितामार्फत लैङ्गिक समानताको अभियानमा


कपिल काफ्ले, काठमाडौं ।
तीन पत्रकार– जनकपुरका सुजित झा, कञ्चनपुरका भवानी भट्ट र हुम्लाका तिलसरा विकले पत्रकारितामार्फत लैङ्गिक समानताको अभियानलाई अझ सक्रियताका साथ अघिबढाउने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पत्रकार महासंघ र मदरल्यान्ड नेपालले प्रदान गरेको लैङ्गिक समानता पत्रकारिता पुरस्कार प्राप्त गरेपछि मंगलबार उहाँहरुले यस प्रकारको प्रतिबद्धता जनाउनुभएको हो । पुरस्कारको राशि जनही ४० हजार रुपियाँको छ ।

झा (तस्वीरमा सबैभन्दा बायाँ) ले भन्नुभयो– ‘लैङ्गिक समानताको अभियान भन्नु हाम्रो समाजमा महिलाको अधिकार हो, समताको पक्षमा जोड नदिई समानता सम्भव छैन भन्ने सोचेर मैले पत्रकारिता र साहित्यको माध्यमद्वारा विगत अढाइ दशकदेखि मिसनका साथ कलम चलाएको छु ।’

पहिला नेपाल समाचारपत्रमा लामो समय जनकपुरका संवाददाता रहेका झा अहिले एभिन्युज टेलिभिजन, राजधानी दैनिक र शिलापत्र न्युजपोर्टलमा एकसाथ काम गर्दै आउनुभएको छ । धनुषाको बभनगाका झाले महिलामाथि हुने विभेद र हिंसाका विभिन्न स्वरुपलाई पत्रकारिताका अतिरिक्त कथा संग्रहमा पनि समेट्नुभएको छ । भन्नुहुन्छ– ‘हामीजस्ता लेखक–पत्रकार र अन्य अभियन्ताको प्रयासले दहेज घटेको छ, महिला हिंसाका घटना पनि बाहिर आउन थालेका छन्, कारबाही हुने गरेको छ तर जन्ममै केटीको संख्यामा कमी आउन थालेको छ, यो गम्भीर विषय हो ।’

कञ्चनपुरका भवानी भट्ट (बायाँबाट दोस्रा) ले पनि १४ वर्ष लामो पत्रकारिता यात्रामा चार वर्ष नेपाल समाचारपत्रमा पत्रकारिता गर्दै लैङ्गिक समानताका पक्षमा दर्जनौं समाचार र आलेख तयार पार्नुभयो । अहिले कान्तिपुर दैनिकमा महिला हिंसाविरुद्धका समाचार–फिचर तयार पार्न उहाँलाई पुरानो अभ्यास सहयोगी भएको छ ।

भन्नुहुन्छ– ‘भारतमा बेचिएका र कुनै अवसर खोजेर फर्की आएका महिलाका सम्बन्धमा मैले लेखेका समाचारले चर्चा पाएका छन्, कञ्चनपुर क्षेत्रमा महिलाको आत्महत्याको संख्या पनि बढ्दो छ, यो उनीहरुविरुद्ध हुने हिंसाकै परिणाम हो, यस्ता विषयलाई मैलै प्राथमिकता दिँदै आएको छु ।’ भट्टले २०७५ साउन १० गते कञ्चनपुरकै उल्टाखाममा भएको निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनालाई निरन्तर अनुगमन गरेर न्यायका लागि सरकारमाथि दबाब दिनुभएको छ ।

तिलसरा विक कर्णाली प्रदेशमा विभिन्न कठिनाइसँग जुद्धै आएकी पत्रकार हुनुहुन्छ । हुम्लामा रहेर कर्णाली एफएममा काम गर्दै आएकी विक भन्नुहुन्छ– ‘राज्यले हाम्रो क्षेत्रलाई सम्झिँदैन, त्यसमाथि महिलालाई हेर्दैन, अझ दलित त पूरै सीमान्तकृत छन्, नेपाल पत्रकार महासंघ र मदरल्यान्ड नेपालले सम्झियो, मैले आजै आजीवन पत्रकारिता गर्ने प्रण गरें ।’ हुम्लामा पत्रकारिता गर्ने वातावरण नभए पनि उहाँ एफएमका साथै कचहरी नामको साप्ताहिकमा पनि कलम चलाइरहनुभएको छ ।

लैङ्गिक समानता पत्रकारिता पुरस्कार वितरण समारोहमा सरिक हुन अमेरिकाको क्यालिफोर्नियाबाट काठमाडौं आएका अनिल पाण्डे (सुटमा) यस पुरस्कारका संस्थापक हुनुहुन्छ । अमेरिकामै सक्रिय मदरल्यान्ड नेपाल नामक सामाजिक संस्थाका तर्फबाट तीन वर्षअघि उहाँले १० लाख रुपियाँको अक्षय कोष खडा गरी पुरस्कार वितरणको जिम्मेवारी नेपाल पत्रकार महासंघलाई सुम्पनुभएको थियो ।

पाण्डे भन्नुहुन्छ– ‘मदरल्यान्ड नेपालले सशस्त्र द्वन्द्वकालदेखि नै पत्रकारले समाचार संकलन तथा लेखनका क्रममा भोग्दै आएका समस्या सम्बोधनका लागि आर्थिक तथा नैतिक रुपमा ऐक्यवद्धता जनाउँदै आएको हो, पछिल्लो समयमा एक विधा समाएर पत्रकारिता पेशालाई समृद्ध बनाउने उद्देश्यले यस पुरस्कारको स्थापना गरेको हुँ ।’ पाण्डे पत्रपत्रिका तथा अनलाइनमा स्तम्भकार हुनुहुन्छ भने चलचित्र तथा टेलिफिल्महरुमा अभिनय पनि गर्नुहुन्छ ।

पत्रकार महासंघले सोही समारोहमा राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार– २०७५ पनि वितरण ग¥यो । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५ नागरिक दैनिकका पत्रकार रुबी रौनियारलाई प्रदान ग¥यो । यसको राशि रु. ५१ हजारको छ । सात प्रदेश र उपत्यकालाई एक प्रदेश मानी आठ प्रदेशबाट एक–एक पत्रकारलाई प्रदान गरिने रु. २० हजार राशिको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५ प्रदेश नं १ बाट सुजन तिम्सिना (इलाम), २ बाट सन्तोष सिंह (जनकपुर), ३ बाट सरिता श्रेष्ठ (धादिङ), गण्डकी प्रदेशबाट कमल खत्री (म्याग्दी), प्रदेश ५ बाट प्रेमनारायण आचार्य (अर्घाखाँची), कर्णाली प्रदेशबाट गोविन्द केसी (दैलेख), सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट (कञ्चनपुर) र उपत्यकाबाट लक्ष्मी पौडेल (काठमाडौं) लाई प्रदान गरियो ।

यसै गरी, सात प्रदेश र उपत्यकालाई एक प्रदेश मानी आठ प्रदेशबाट दुई–दुई जनालाई प्रदान गरिने रु. १५ हजार राशिको प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेश नं. १ बाट रोहित राई (सुनसरी) र सुशीला पाठक (मोरङ), प्रदेश नं. २ बाट बृजलाल प्रसाद पासवान (पर्सा) र सुनिल ठाकुर (सर्लाही), प्रदेश नं. ३ बाट शरद अधिकारी (काठमाडौं) र सविता श्रेष्ठ ( चितवन), गण्डकी प्रदेशबाट रोशन तिवारी (पर्वत) र शान्ता कमली (लमजुङ ), प्रदेश नं. ५ बाट विकास बन्जाडे (कपिलवस्तु) र भगवती पाण्डे (रुपन्देही), कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने (कालीकोट) र हरि गौतम (रुकुम), सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय (बझाङ ) र भूमिराज जोशी (बझाङ) तथा उपत्यकाबाट राजन रुचाल (ललितपुर) र प्रशान्त वली (काठमाडौं) लाई प्रदान गरियो ।

त्यसैगरी संस्थागतमा एफएमतर्फ २० हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश नं. १ बाट तमोर एफएम (ताप्लेजुङ), प्रदेश नं. २ बाट रेडियो अपन मिथिला (महोत्तरी), प्रदेश नं. ३ बाट रेडियो सन्देश (मकवानपुर), गण्डकी प्रदेशबाट ह्याप्पी एफएम (नवलपुर), प्रदेश नं. ५ बाट रेडियो मदनपोखरा (पाल्पा), कर्णाली प्रदेशबाट रेडियो शारदा (सल्यान), सुदूरपश्चिमबाट रेडियो जनप्रिय (अछाम) र उपत्यकाबाट क्यापिटल एफएम (काठमाडौं) लाई दिइयो । संस्थागततर्फ नै छापाबाट शिक्षालय मासिक (ललितपुर), अनलाइनबाट सेतोपाटी डटकम र टेलिभिजनबाट जनता टिभीलाई २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार २०७५ प्रदान गरियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।