पशुपतिमा जोगीको लस्कर: दर्शनार्थीको ‘पुण्य’ मा जोगीको ‘आम्दानी’


हेटौंडा ।
भगवान् शिवका उपासक श्रद्धालुलाई साउने सोमबार हेटौंडा–४ मा रहेको प्रसिद्ध शिव शक्तिपीठ भुवनेश्वर मन्दिरपरिसरमा असहज वातावरण देखियो । माग्न बस्नेहरुको आशालाई निराशा पार्न भएन । ‘माग्नेको मुठी आश, दिनेको उठिबास’ भन्ने उखान त्यहाँ चरितार्थ भएको देखियो ।

यही दिनलाई कसैले ‘पुण्य कमाउने’ ढंगले प्रयोगमा ल्याउँदा जोगी र सन्न्यासीलाई भने ‘आम्दानी गर्ने’ मेसो बनेको देखियो । मन्दिरपरिसरमा सकभर धेरै संख्यामा बोरा ओच्छ्याएर परिवारका प्रायः सबै सदस्य लामबद्ध भई शिवको नाममा दानदक्षिणा र भिक्षा मागी त्यसबाट जीविकोपार्जन गर्नेहरु मन्दिरपरिसरमा देखिए ।

सोमबार मन्दिरपरिसरको कालोपत्रे सडकमा लाइनको पहिलो नम्बरमा बस्न जोगीहरुबीच प्रतिस्पर्धा नै भयो । दर्शनार्थीहरुले पूजा गरिसकेपछि दानदक्षिणा दिने प्रचलन रहेकोले मन्दिरबाट दर्शनार्थी फर्कंदाको पहिलो स्थानमा बस्ने होड चलेको एक प्रत्यक्षदर्शीले बताए ।
सोमबार विहान करिब नांै बजे हेटौंडा–४ स्थित मन्दिरमा पुग्दा त्यसवरिपरि सडकका किनारहरुमा कम्तिमा दुई दर्जन जोगी÷सन्न्यासी बोरा ओच्छ्याएर दानवीरको प्रतीक्षामा देखिए ।

सीमित संख्यामा रहेका महिला जोगीका छोराछोरी पनि छुट्टै बोरा ओच्छ्याएर आमानजिकै बसिरहेका देखिन्थे । ‘जति धेरै बोरा भयो, त्यति नै धेरै चामल र पैसा संकलन हुन्छ,’ आफूलाई भारतबाट आएको बताउने एक अधवैंशे जोगीले हिन्दी भाषामा थपे–साउनको अन्तिम मंगलबारमात्र हामी भारत फर्कन्छौं ।

उनका अनुसार यस वर्ष परेका सोमबारबाट मन्दिरपरिसर क्षेत्रमा रहेर करिब तीस किलो चामल र कम्तिमा सात हजार रुपियाँ संकलन हुनेछ । सोमबार मन्दिरपरिसरमा बसी भिक्षा माग्ने र अरु बार बजारका घरपसल चहारेर उनीहरु आम्दानी गर्छन् ।

मन्दिरपरिसरमा भेटिएकामध्ये अधिकांश भारतीय मूलका छन् । यहाँबाट फर्किएपछि भारतका घरघर र रेल्वे स्टेसनवरिपरि मागेर आफूहरु बाँच्ने गरेको उनीहरु बताउँछन् ।

धर्मशास्त्रअनुसार साउनको सोमबार भगवान् पशुपतिको शक्तिपीठमा दर्शन गरे पुण्य मिल्छ । साउनको सोमबार शिवोपासनाले एक विशेष धार्मिक महत्व बोकेको छ ।