एनएमबिको तेस्रो म्युचुअल फन्ड आयो, दुई योजनाले लाभांश दिँदै


काठमाडौं, (नेस) ।
एनएमबि क्यापिटलले फरक अवधारणासहित तेस्रो म्युचुअल फन्ड ‘एनएमबी–५०’ शुरुआत गरेको छ । शेयरमा लगानी गरी राम्रो लाभांश वितरण गर्ने उद्देश्यसहित एनएमबि क्यापिटलले तेस्रो म्युचुल फन्डको रुपमा ‘एनएमबि–५०’ लन्च गरेको हो ।

यो म्युचुल फन्ड नेपाल स्टक एक्सचेन्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वटा कम्पनीको शेयरमा मात्र केन्द्रित हुनेछ । यस्तो अवधारणाको म्युचुल फन्ड नेपालमा पहिलो भएको कम्पनीको दाबी छ

एनएमबि क्यापिटलको सञ्चालक समिति अध्यक्ष पशुपति मुरारकाले एक वर्ष लामो अध्ययनपछि यो स्किम ल्याइएकाले बजारमा तरलता प्रवाहमा समेत सहयोग गर्ने र घट्दो बजारमा समेत लगानीकर्तालाई राम्रो प्रतिफल मिल्ने दाबी गर्नुभयो । यो म्युचुअल फन्डको प्रतिइकाई मूल्य १० अंकित १२ करोड इकाई साउन १३ गतेबाट बिक्री खुला हुनेछ ।

त्यस्तै एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड –१ का इकाई धनीहरुलाई आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट करसहित १५ प्रतिशतका दर र एनएमबि हाइब्रिड फन्ड एल –१ का इकाई धनीलाई आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट करसहित १० प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने भएको छ ।