कांग्रेस बैठकः सर्वसम्मतिको प्रयास जारी


रामकृष्ण चापागाईं, काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा संघीय संरचनाअनुसार पार्टी संरचना निर्माण गरी १४औं महाधिवेशनको कार्यतालिका निर्माण प्रक्रिया अघि बढाउने एजेन्डाको सम्बन्धमा सर्वसम्मति निर्णय गर्ने प्रयास भइरहेको छ ।

बैठकको पहिलो एजेण्डा संशोधित नियमावली मस्यौदालाई सर्वसम्मतिले पारित गरेको कांग्रेसले दोस्रो एजेण्डा महाधिवेशनको सम्बन्धमा पनि सर्वसम्मति निर्णयको प्रयास गरेको हो । बैठकमा अन्तरिम संरचना गठन गर्दा मतदानबाट नेतृत्व चयन गर्ने कि सहमतिको आधारमा नेतृत्व चयन गर्ने भन्ने बारेमा छलफल भइरहेको छ । कांग्रेस बैठकमा छलफलका लागि प्रस्तुत गरिएको अन्य १२ एजेण्डा अझै बाँकी छ ।

‘सहमति वा निर्वाचनबाट गर्ने भए पनि केन्द्रिय समितिले सर्बसम्मत निर्णय गर्नेछ’, कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘नियमावली मस्यौदामा पनि विवाद थियो छलफलपछि सर्वसम्मत निर्णय भयो ।’ तल्लो तहको अधिवेशनको सन्दर्भमा पनि केन्द्रीय समितिले सर्वसम्मत नै निर्णय गर्ने उहाँको भनाइ थियो ।

–नेतृत्व चयनबारे अझै छलफल
–१२ एजेन्डा अझै बाँकी

कांग्रेसको संघीय संरचनाअनुसारको सांगठनिक संरचना छैन । तल्काल तल्लो तहको संरचना बनाउनुपर्ने बाध्यतामा रहेको कांग्रेसभित्र अहिलेकै अधिवेशनलाई १४औं महाधिवेशनको शुरुवात गरौं भन्ने धारणा पनि आइरहेको छ । केन्द्रीय बैठकमा विधानअनुसार अन्तरिम संरचना १३औं महाधिवेशनको बाँकी अवधिका लागि मात्र हुने भन्दै विधानको धारा निलम्बन गर्न समेत सुझाव पनि आइरहेको छ । अन्तरिम संरचना बाँकी अवधिका लागि मात्र हुने भन्दै केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इंले अन्तरिम संरचना निर्माणपछि मात्र १४औं महाधिवेशनको प्रक्रिया अघि बढाउन मिल्ने बताउनुभएको छ ।

केही जिल्ला सभापतिले भने अहिले १४औं महाधिवेशनको निरन्तरताको रुपमा पहिले स्थानीय र जिल्ला तहसम्मको अधिवेशन गर्ने र अर्को वर्ष प्रदेश र केन्द्रको अघिवेशन गर्नुपर्ने सुझाव दिएका छन् । यसो गर्दा समयमै महाधिवेशन शुरु भयो भन्ने संकेत पनि जाने कांग्रेस जिल्ला सभापति मधु आचार्य बताउनुहुन्छ । सहमतिबाट नेतृत्व छाने पनि निर्वाचनबाट नेतृत्व छाने पनि समयमै अघिवेशन शुरु भयो भन्ने संदेश जानु पनि कांग्रेसका लागि ठूलो फाइदाको विषय भएको उहाँको भनाइ थियो ।

१३औं महाधिवेशनबाट चुनिएका नेतृत्वको चारवर्षे कार्यकाल आउँदो फागुनमा सकिँदै छ । विधानअनुसार एक वर्ष समयावधि थप्न पाउने र संविधानअनुसार साढे ५ वर्षसम्ममा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । अहिले बाँकी अवधिका लागि मात्र नेतृत्व छान्दा केन्द्रीय महाधिवेशन दुई वर्षपछि धकेलिने भन्दै संस्थापन पक्ष इतरका नेता तथा कार्यकर्ताले अहिले गर्ने अधिवेशनलाई नै १४औं महाधिवेशनको निरन्तरता दिनुपर्ने बताएका छन् । विधानमा केन्द्रीय महाधिवेशन भन्दा एक वर्षअघि नै तल्लो तहको अधिवेशन गरिसक्नुपर्ने व्यवस्था छ ।

टोल तहदेखि संरचना गर्नुपर्ने भएकाले निर्वाचनमा जाँदा अझै ढिलाइ हुने भन्द्रै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत भन्नुहुन्छ– ‘निर्वाचन प्रक्रियामा जाँदा अझ धेरै समय लाग्ने भएकाले सहमतिमै अन्तरिम संरचना गठन गर्नु उपयुक्त हुन्छ ।’ बैठकमा १४ एजेन्डा पेस भए पनि भर्खर दुईवटा एजेन्डामै यति लामो समय लागेकोले भन्दै उहाँले यसरी नै छलफल भए केन्द्रीय समिति बैठक एक महिना चल्ने बताउनुभयो । अन्तरिम व्यवस्थाअनुसार संरचना निर्माण गरेर १४औं महाधिवेशनमा जान ढिलाइ भइरहेको भन्दै केन्द्रीय सदस्य डा. डिला संग्रौलाले छिटो निर्णय गर्न केन्द्रीय समितिलाई आग्रह गरेको बताउनुभएको छ ।