आर्थिक विकासका लागि पर्याप्त तयारी नभएको पूर्वअर्थमन्त्रीहरुको आरोप


नेपाल समाचारपत्र, काठमाडौं  ।
सरकारले आर्थिक विकासका लागि लगानीको व्यवस्था गर्न आवश्यक तयारी गर्न नसकेको पूर्व अर्थमन्त्रीहरुले निष्कर्श निकालेका छन् । सरकारले आर्थिक विकासको लक्ष्य लिए पनि पर्याप्त तयारी गर्न नसकेको उनीहरुको निष्कर्श छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न नेपाल इकोनोमिक आउटलुक सार्वजनिक कार्यक्रममा पूर्वअर्थमन्त्रीहरुले दिगो आर्थिक विकासका लागि आवश्यक लगानीको वातावरण सिर्जना गर्न सरकारलाई सुझाव दिनुभयो ।
अर्थमन्त्रीसमेत भइसकेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री डा. रामशरण महत र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आर्थिक विकासका लागि पर्याप्त तयारी नगरेको बताउनुभयो ।

कार्यक्रममा डा. भट्टराईले आर्थिक विकासलाई सरकारले मूल एजेन्डा बनाए पनि त्यसका लागि आवश्यक लगानीको वातावरण बनाउन नसकेको दाबी गर्नुभयो । आन्तरिक तथा बाह्य लगानीको व्यवस्था र पूर्वाधार विकासमा जोड दिएर मात्रै नेपालका दिगो विकास लक्ष्य हासिल हुने उहा“ले दाबी गर्नुभयो ।
यस्तै डा. महतले सरकारले दिगो विकास लक्ष्य हासिल हुने गरी मुलुकको आर्थिक विकास गर्न आवश्यक योजना समेत तय गर्न नसकेको बताउनुभयो । उहा“ले मुलुकको दिगो आर्थिक विकासका लागि सरकारले संस्थागत क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

अर्का पूर्वअर्थमन्त्री पाण्डेले राजनीति सुधार नभएका कारण मुलुकमा दिगो विकास लक्ष्य हासिल हुन गरी आर्थिक विकास हुन नसकेको दाबी गर्नुभयो । उहा“ले राजनीतिक, प्रशासनिक र शैक्षिक क्षेत्रको सुधार गरेर मात्रै मुलुकमा दिगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न सकिने उल्लेख गर्नुभयो ।