न्हुच्छेबहादुर महर्जन
वडाअध्यक्ष, कीर्तिपुर– ६
कीर्तिपुर आफ्नै गौरवपूर्ण इतिहास बोकेको नगर हो । लिच्छवि र मल्लकालीन वास्तुकला उपत्यकाकै पहिचान हो तर कीर्तिपुर नगरपालिका यसको प्राकृतिक पर्यटनका कारण पनि थप विशेषतायुक्त छ । यस नगरको वडा नं. ६ चोभार गल्छी, गुफा, मञ्जुश्री पार्क, टौदह, आदिनाथ मन्दिर आदिका कारण बढी चर्चित छ । यस वडाका वडा अध्यक्ष न्हुच्छेबहादुर महर्जन यस क्षेत्रको विकासका लागि के गर्दै हुनुहुन्छ त ? उहाँसँग नेपाल समाचारपत्रका लागि कपिल काफ्लेले गर्नुभएको कुराकानीः
शुरुवात तपाईको व्यक्तिगत राजनितिक यात्राबाट गरौं । वडा अध्यक्षसम्म कसरी हुनुभयो ?
मेरो राजनीतिक जीवन विद्यार्थी कालबाटै सुरु भएको हो । म टौदह माविमा पढेको हुँ । २०३९ सालमा कक्षा सातमा पढ्दादेखि नै मेरा शिक्षकहरुले राजनीतिक उत्प्रेरणा जगाउनु भयो । विज्ञान विषय पढाउने अहिलेका नेताहरु टोपबहादुर रायमाझी र नेपाली विषय पढाउने राम कार्की हुनुहन्थ्यो, उहाँहरुकै प्रेरणाले म राजनीतिमा लागें । एमाले पार्टीबाट मैले टिकट लिएर चुनाव जितेको हुँ ।
एमाले र माओवादी मिलेर नेकपा भएको अवस्था छ । भर्खर जिम्मेवारी बाँडफाँड गरेका छन्, कीर्तिपुरमा त्यसको प्रभाव कस्तो छ ?
पार्टी एकता भैसकेपछि लामो समयसम्म पनि हुनुपर्ने क्रियाकलापहरु अवरुद्ध भए । यसको मूल कारण पार्टी एकीकरण तल–तलसम्म हुन नसक्नु नै हो । दुइटा पार्टीलाई एउटै बनाउनु भनेको कमिटी गठन प्रक्रिया मात्र नभई भावनात्मक रुपमा एक गराउनु हो, तर त्यो हुन सकेन । अहिले जब्बरजस्ति ढंगले कमिटीहरुलाई एकता गर्ने कामहरु भएको छ । यसलाई राजनीतिक, सामाजिक, आर्थिक भावनात्मक र सैद्धान्तिक रुपमा एकता गरेर लगिएको पाइएन । भागवण्डामा लान गणितीय आधार खोजियो । यो वास्तवमा नै कम्युनिस्ट पार्टीको मर्म विपरीत छ ।
कीर्तिपुर वडा नं.६ मा पार्टीको एकाइ गठन गर्दा गणितीय होइन योगदानको आधारलाई प्राथमिकता दिन सकिएला त ?
साच्चिकै भन्नुपर्दा कीर्तिपुर ६ मा मैले अभियान सुरु गरिसकेको छु । गणितीय हिसाव नगरौं भावनात्मक सम्बन्ध राखौं भनेर । पार्टीलाई अघि बढाउनको लागि चार–पाँच चरणमा छलफल अन्तरक्रिया ग¥यौं, त्यसले सबैको मन माझिएको छ । मलाई आशा छ कीर्तिपुर ६ मा गणितीय हिसावमा काम हुदैन । त्याग भएका क्षमता भएका साथीहरुलाई एकाइको अध्यक्ष बनाउछौं भन्ने कुरामा दुवै पार्टीका साथीहरु सहमत भैसक्नु भएको छ ।
सैद्धान्तिक रुपमा तपार्ईंले भनेको कुरा हुन्छ तर योग्यता र अनुभव वा त्यागको फाइल हामीले राख्दैनौ कसैले योग्यता देखाएर लफडा सुरु गर्न सक्छ, त्यसका आधारहरु तय गर्नु भएको छ त ?
त्यो विषयमा पनि हामीले कुराकानी र छलफल गर्यौं । राजनीतिमा आउने भनेको सबै कुरा त्याग गरेर आउने हो । त्याग गर्न नसक्ने मान्छे राजनीतिमा आउनु हुदैन । यस वडामा विगतमा माओवादी केन्द्रमा भएका साथीहरु पनि हामीसँंगै वसेर काम गरेका साथीहरु नै हो, कसको कति त्याग छ भन्ने कुरा सबैले बुझेका छन् । त्यसैले हामीलाई सहज हुन्छजस्तो लागेको छ ।
अब हामी स्थानीय विकासतिर लागौं, तपाईंले वडाअध्यक्ष भएर सोचेजस्तै वडालाई विकास गर्नसक्नु भएको छ ?
म जनप्रतिनिधिको हिसावले आइसकेपछि मैले जुन अनुभूत गरेर जुन भावनाका साथ काम गर्न खोजेको थिए त्यसलाई अगाडि लानको लागि स्रोत–साधनको निकै कमी देखियो । सोचे अनुसारको काम गर्न सकिएन ।
के के सोच्नु भएको थियो ?
मैले कीर्तिपुर वडा नं. ६ लाई वास्तवमै विकासको केन्द्रविन्दु बनाउने हो भने नम्वर वनमा पर्यटकीय हिसाबले अगाडि बढाउनुपर्छ भनेको थिएँ । पहिलो बजेटमा थोरै–थोरै मात्र बजेट विनियोजन गर्न सकियो । सिंगो कीर्तिपुर नगरपालिकाको ३२.८ प्रतिशत भाग यो वडाले ओगटेको छ । स्वाभाविक रुपमा सबै टोलको आकांक्षा हाम्रो टोलमा पनि बजेट आओस् भन्ने हुन्छ । सुरुमा ७५ लाख बजेट दिइयो । अरु पूर्वाधारमा जस्तो शिक्षा, महिला, बालवालिका आदि त्यो सबै छुट्याउँदा त बजेट कनिका छरेको जस्तै भयो ।
मेरो उहाँहरुसँंग अनुरोध के हो भने कम्तिमा मापदण्डका आधारमा बजेट बनाउनु होस् । यसका लागि अहिलेसम्म पनि म लडिरहेकै छु । पाँच जना वडाको टीम हुन्छ, टीमका सदस्याहरुले पनि म त्यहाँ यस्तो विकास गर्छु भनेर आ–आफ्नो क्षेत्र छुट्याउनु भएको छ सोअनुसार नहुँदा जनता खिन्न हुनु स्वँभाविक नै हो । यसरी हेर्दा मेरा योजनाहरु अपुरो नै भए । सबैभन्दा चिन्ताको विषय यही भयो । वडा नंं. ६ लाई कीर्तिपुर नगरपालिकाको नेतृत्वले बुझ्न सकेकै छैन भन्ने मेरो बुझाइ हो ।
दोस्रो, बजेट एक करोडमा २५ लाख मापदण्डमा छुट्याइ ७५ लाखलाई पर्यटनमा लगाउँछु भनेर साथीहरुलाई मनाएँ र मञ्जुश्री भ्यू प्वाइन्टमा साढे ३७ लाख, अर्को टौदहको पोखरीमा साढे ३७ लाख विनियोजन गरें । त्यसपछि हामीमाथि आलोचना पनि आयो– अरु क्षेत्रमा पनि बजेट पार्नुपर्नेमा दुई ठाउँमा मात्र पारेको भनेर । मञ्जुश्री पार्कमा बजेटको राम्रो सदुपयोग भयो तर टौदह पोखरीमा सन्तोषजनक रुपमा बजेटको सदुपयोग भएको पाइएन, तरपनि विकास चाहिं भएको छ ।
अहिले यहाँ विभिन्न ठाउँबाट उठाइएको करको केही रकम वडालाई पनि चाहिन्छ भनेर नगरपालिकाबाट स्वीकृत गराउन सफल भएको छु । अब राजस्वमा पनि अलि वृद्धि गरेर राम्रो ढंगले जान्छौं ।
राज्यले दिएको बजेटले मात्र विकास सम्भव छैन । राज्य नै बाहिरी सहयोगले चलेको छ । त्यसैले हामीले स्थानीय विकासमा व्यक्ति, संस्था, प्राइभेट कम्पनीलाई साझेदार वा लगानीकर्ता पो बनाउनुपर्ने हो कि ?
यो मोडालिटी सुरुदेखि नै साथीहरुसँंग मैले राखेको हुँ । समस्या के भैदियो भने अहिले भएका संघ–संस्थाहरुको चिन्तनमा परिवर्तन आएको देखिन उहाँहरुमा सबै आफूले नै गर्नुपर्छ, बाहिरको व्यक्तिलाई दिनुहुन्न भन्ने विषयले जरा गाडेको छ । यस विषयमा केही साथीहरुसंँग मेरो मनमुटाव पनि भयो । तर पटक–पटकको अन्तरक्रिया र संवादले अहिले उहाँहरु सकारात्मक नै हुनुहुन्छ । यो वडालाई पर्यटकीय नगरी बनाउने हो भने वाह्य लगानी नगरी सम्भव छैन ।
एकातिर पर्यटन नगरी बनाउने भन्ने तपाईंहरु अर्कोतिर यसमा मेल नखाने सुख्खा बन्दरगाह बनाउन भवन निर्माणको लागि नक्सा पास नै गरिदिनु भयो ?
सुख्खा बन्दरगाहको कुरा आएपछि मैले सार्वजनिक सुनुवाई कार्यक्रम राखें । त्यहाँ थोरै मात्र जनसमुदायको उपस्थिति भयो । कुनै निचोड निकाल्नै सकिएन । ७२ सालमा नै निर्णय भएको कुरो हो, त्यतिखेर हुदैन भनेर रोक्न सकिएन । हिमाल सिमेन्ट सरोकार समिति त थियो, त्यसले पनि केही गरेन खालि कवाडी सामान बेच्ने र पैसा थुपार्ने कामबाहेक अरु केही गरेन । जब सरकारले काम सुरु गर्यो अनि सबैजना तात्नुभयो । मेरो पनि सुख्खाबन्दरगाह बनाउने ईच्छा होइन ।
कवाडीको पैसा सदुपयोग भएको छ कि छैन ?
भएको छैन । साथीहरुले यो पैसामा व्यक्तिगत ईच्छा राख्नुभयो । यो नितान्त गलत हो । त्यो त वडा नं. ६ को जनताको पैसा हो नि । म जनप्रतिनिधि भएर आएको दुई वर्ष हुँदा पनि यो पैसा कहाँ छ भन्ने कुरा जानकारी छैन । यसको लागि निकट भविष्यमै सार्वजनिक सुनुवाई कार्यक्रम राख्ने योजना छ ।
कीर्तिपुर नगरपालिकाको नगरसभा सुख्खा बन्दरगाहको पक्षमा कि विपक्षमा ?
खै केमा भन्ने ! हाम्रो दृष्टिकोण प्रष्ट बनाऔं, कसैको लहैलहैमा नलागौं भन्ने कुरा नगरपालिकाको बैठकमा पनि राख्यौं । तर हामीलाई अपमानजनक तरिकाले वायक गरियो । स्थानीय सरकारसंँग केही सरोकार नै राखिएन । त्यसैले हामी त्यस कार्यक्रममा सहभागी नै भएनौं । उल्टै सुख्खाबन्दरगाहाको नक्सा पास शुल्क मिना गरिदिनू भन्ने पत्र आयो । तर त्यसलाई मैले ठाडै अस्वीकार गरें, अनि पूरै राजस्व तिरेर मात्र नक्सा पास भयो ।
यस क्षेत्रको पर्यटन विकासका लागि के के काम गर्नुपर्ला ?
आदिनाथ पार्क, टौदह पोखरीमा वाटर फाउन्टेन, , चिहान डाँडामा भ्यु टावर, सिसाको पुल, जिप ल्याण्ड, जू पार्क अनि यसैपालि चोभार–टौदह महोत्सव पनि गर्ने योजना छ । त्यसबाहेक वडा उज्यालो कार्यक्रम पनि ल्याएको छु । विषेश खालको बत्ती राखेर यस क्षेत्रलाई सहरीकरणतिर गएको आवास दिलाउँछु । यसका लागि तपाईंको पत्रिका मार्फत सम्पूर्ण जनसमुदाय संग सहयोग र साथको अपेक्षा गरेको छु ।
अन्त्यमा, तपाईलाई जनताले चुनेको नेतृत्व गरेको झण्डै आधा समय त गैसक्यो । आगामी नेतृत्व गर्ने कुरामा के सोचाइ छ ?
राजनीति गर्ने व्यक्तिको आकांक्षा भनेको माथि पुग्ने नै हो । त्यसका लागि मैले कर्म गर्नु पर्छ, समाजप्रति विशुद्ध भएर लाग्ने छु । मेरो लक्ष्य भनेको आफ्नो दृष्टिकोणमा निरन्तर अघि बढिरहनु हो । मेरो कार्यकालमा म कुनै भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भन्ने मैले कसम खाएको छु । तपाईं पत्रकारहरु जनसमुदाय कसैले भ्रष्टाचारको गन्धसम्म पाउनु भएको भए जानकारी दिनुहोस्, म जे सजाय भोग्न पनि तयार छु । राम्रो कामलाई राम्रो र नराम्रो कामलाई नराम्रो भनी टिप्पणी गरिदिनु होला ।
प्रतिक्रिया