नेपाल प्रहरी श्रीमान् संघ किन नखोल्ने ?


कपिल काफ्ले, काठमाडौं ।
नेपाल प्रहरी श्रीमती संघ हुन्छ भने ‘नेपाल प्रहरी श्रीमान् संघ चाहिं किन नबनाउने’ भन्ने प्रश्न उठेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई नक्सालस्थित संगठनको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित राष्ट्रिय दैनिक, अनलाइन न्युजपोर्टल र अन्य सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सुझाव दिए, ‘श्रीमती संघ सामन्ती अवशेष हो, राजतन्त्र हुँदा बडामहारानीका पछिलाग्ने हिसाबले कुनै बेला गठन भएको संस्था, तर आज यसको सान्दर्भिकता छैन, खारेज गरिनुपर्छ ।’

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले हालसम्म हासिल गरेका उपलव्धि र वर्तमान स्थितिका बारेमा प्रकाश पारेपछि, ‘सञ्चारविज्ञ सम्पादकज्यूहरुबाट सुझाव र केही जिज्ञासा छन् भने सुन्न चाहन्छौं’ भन्दै सबैसँग आह्वान गरेपछि केही वरिष्ठ सम्पादकहरुले यस प्रकारको सुझाव दिएका हुन् ।
‘तपाईं त धेरै विकसित देश घुम्नुभएको मानिस, त्यहाँ पनि श्रीमती संघ हुँदोरहेछ ?’ कूटनीतिक र भद्र विषय प्रवेशवाला प्रश्न थियो ।

‘समाय लैङ्गिक समानताको छ, हामी समानुपातिक समावेशितायुक्त जेसीको अवधारणामा छौं । नेपाल प्रहरी श्रीमती संघ खोलिएजस्तै नेपाल प्रहरी श्रीमान् संघ पनि खोल्ने कि ?’ अर्का सहभागीले अलि पेचिलो बनाए दोस्रो प्रश्नलाई ।
‘आजको लोकतान्त्रिक र प्रगतिशील समाजमा श्रीमान्–श्रीमतीको नातामा आधारित संगठन खोल्नु र श्रीमान् आईजीपी भएका कारण श्रीमती अध्यक्ष हुनेगरी खोलिएको संस्था प्रभावमा रहनु सुहाउने विषय होइन, तपाईंकै पालामा यसलाई किन बन्द नगर्ने’ प्रत्यक्ष विश्लेषणसहितको सीधा तेस्रो प्रश्न ।

महानिरीक्षक खनालले जबाफ दिएपछि थाहा भयो, नेपाल प्रहरी श्रीमती संघको उपस्थितिलाई लिएर पहिला पनि विवाद भएको रहेछ, डीआईजी भएकै बेला उहाँले पनि आफू नेतृत्वमा आए यसलाई बन्द गर्छु भनेर सोचाइ बनाउनुभएको पनि रहेछ, तर पहिलादेखि चल्दैआएको र स्वतन्त्र गैससका रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा आएका कारण उहाँले आजसम्म बन्द गर्न सक्नुभएको रहेनछ । भन्नुभयो, ‘नेपाल प्रहरी श्रीमती संघलाई नेपाल प्रहरीको ऐनले चिन्दैन, तर यसलाई कानुनले भने चिन्छ, यो विधिवत् रुपमा सीडीओ कार्यालयमा दर्ता छ ।’

प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राई, प्रवक्ता नायव महानिरीक्षक विश्वराज पोखरेललगायत २५ भन्दा बढी अधिकृतहरुहरुको उपस्थिति र करिब ४० सम्पादकको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा ‘जेसी’ को ‘सी’ त थियो तर ‘जे’ थिएन, दुवै पक्षबाट श्रीमती हुने नागरिकको अनुहार देखिएन, सबै अनुहार श्रीमान्हरुका मात्र थिए । यद्यपि महानिरीक्षक खनालको ‘ब्रिफिङ’मा नेपाल प्रहरीमा हाल आठ प्रतिशत महिला सहभागिता छ । नेपाल प्रहरी श्रीमान् संघ खोल्नेहो भने ६ हजार जति श्रीमान्हरु संगठित हुनसक्छन् ।

‘त्यसो त नौ प्रतिशत महिला सहभागिता हाम्रो लक्ष्य हो, तर अहिलेको अवस्थामा यो प्रतिशत आठ मात्र पुग्छ’ महानिरीक्षक खनालले भन्नुभयो, कुल दरबन्दीअनुसार करिब ११ हजारको नियुक्ति प्रक्रिया चलिरहेको छ, प्रक्रिया पूरा भएसँगै महिला सहभागिताको लक्ष्य पनि पूरा हुन्छ ।

उहाँको प्रस्तुतिअनुसार संयुक्त राष्ट्रसंघले तीन सय ३३ नागरिकका लागि एक प्रहरीको अनुपात निर्धारण गरेकोमा नेपालमा भने चार सय ३५ नागरिकका लागि एक प्रहरी पुग्छ । यति भएर पनि अपराध अनुसन्धानमा ७२.८ प्रतिशत सफलता नेपाल प्रहरीले हात पारेको निष्कर्ष महान्यायाधिवक्ताको कार्यालयले तयार पारेको प्रतिवेदनमा जनाइएको छ ।

पछिल्लो समय समुदाय–प्रहरी सहकार्यमा नेपाल प्रहरीले निकै राम्रो सफलता हासिल गरेको पनि महानिरीक्षक खनालले जानकारी गराउनुभयो । राज्यको पुनःसंरचनापछि खडा भएका सात सय ५३ स्थानीय सरकारसँग समुदाय–प्रहरी अवधारणाका साथ कार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भई काम पनि सुरु भएको छ । विद्यालयका विद्यार्थीलाई प्रहरीसँग एक दिन कार्यक्रमअन्तरगत प्रहरीका कार्यालय र कार्यक्षेत्रको भ्रमण गराई जानकारी दिने काम निकै सफल भएको विश्लेषण महानिरीक्षक खनालको थियो ।

अहिलेसम्म समुदाय–प्रहरी कार्यक्रम सुरु गरिएपछि करिब २२ हजार ‘इभेण्ट’ यसैसँग सम्बन्धित रहेर गरिएको जानकारी पनि उहाँले दिनुभयो ।
अन्तरक्रियाका सहभागीले प्रहरीलाई रानीबारी हत्याकाण्ड, प्रतिवन्धित विद्रोही समूहमाथिको नियन्त्रण, गुण्डा नायिकेहरुको निरफ्तारीलगायतका थुप्रै घटनामा सफलता हासिल गरेपनि निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्न नसकेकोमा आलोचना पनि गरे ।

‘दैवी प्रकोपहरुमा प्रहरीको सहयोग र सुरक्षा सराहनीय छ, मापसे (मादक पदार्थ सेवन) गरेर सवारी चलाउने कार्यलाई नियन्त्रण गर्न प्रहरी सफल भयो, त्यसैगरी लापसे (लागुपदार्थ सेवन) मा सफल होस्,’ सहभागीमध्ये कसैले अन्त्यमा शुभकामना दिए ।