डा.प्रभातचन्द्र ठाकुर
क्यान्सर के हो र कसरी न्यूनीकरण गर्ने भन्ने बारेमा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर ललितपुरका नाक, कान, घाँटी (हेडोनिक) क्यान्सर रोग विशेषज्ञ डा.प्रभातचन्द्र ठाकुरसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेपः
यस वर्ष नाक, कान, घाँटीको क्यान्सर दिवस कसरी मनाउँदै हुनुहुन्छ ?
जुलाई २७ नाक, कान, घाँटी हेडानिक क्यान्सर दिवस विश्व भरि नै मनाइन्छ । नेपालमा पनि केही वर्षदेखि यस दिनलाई विशेष दिवसका रुपमा सम्बोधन गर्दै आएका छौं । गत वर्ष पनि नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले बिरामीहरुसँग ‘सर्भाइभर मिट’ भन्ने प्रभावकारी कार्यक्रम गरेको थियो ।
यसका साथै विश्वका नाक, कान, घाँटीका चिकित्सकहरुको भेला गरी एक–आपसमा अनुभव आदान–प्रदान सहितको सम्मेलन पनि ग¥यौं । यो वर्ष पनि घाँटीको क्यान्सरको उपचारपछि स्वर गुमाएका व्यक्तिहरुको सानो क्लव बनाएर घाँटीको क्यान्सर किन र कसरी हुन्छ, पुनःस्थापना कसरी गर्ने भन्ने बारेमा जानकारी गराउँछौं । यसका साथै नयाँ प्रविधिको विकासको समेत जानकारी गराउने काम सोही क्लवमार्फत गराउने लक्ष्य छ ।
नेपालमा मुख, घाँटीको क्यान्सरका बिरामीको संख्या दिन–प्रतिदिन बढेको छ । यो उपचार जटिल भए पनि नेपालमा नै सम्भव छ र विदेशमा गएर नेपालको दाँजोमा पाँच छ गुना बढी खर्च गर्नुपर्ने दिन गए । नेपालकै चिकित्सकलाई विश्वास गर्नुस्, अबका दिनमा नेपालमै जुनसुुकै क्यान्सरको विदेशमा जस्तै उपचार सम्भव छ ।
नाक, कान, घाँटी (हेडोनिक) क्यान्सर रोगको क्षेत्रमा कहिले देखि काम शुरु गर्नुभयो ?
नाक, कान, घाँटी (हेडोनिक) क्यान्सर क्षेत्रमा काम गर्न थालेको ६ वर्षभन्दा बढी भैसक्यो । क्यान्सरबाहेक नाक, कान, घाँटीका क्षेत्रमा पनि तीन वर्ष काम गरें । चिकित्सा पेशामा नै लागेको नौ वर्ष भयो ।
चिकित्सा क्षेत्र त्यसमा पनि नाक, कान, घाँटीकै क्यान्सरका क्षेत्रमा चै कसरी आउनुभयो ?
यस फिल्डमा आउँनु एउटा संयोग पनि भन्नुपर्छ । म एमडी एमएस गर्न भारतको चण्डीगढमा पोष्टग्राजुएट गरिरहेको थिएँ । त्यस ठाउँमा मैले मुख, नाक, कान, घाँटीको क्यान्सरका बिरामी एकदम धेरै देखे । त्यतिबेला मलाई लाग्थ्यो, नेपालमा यस्ता जटिल शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि किमो थेरापी, रेडियो थेरापी, विकिरण थेरापीहरु कसरी सम्भव होला । त्यहाँ पनि एकदम अप्ठ्यारो भैराख्दा मेरो मनमा नेपालमा यस्तो उपचारहरु कहाँ र कसरी भैराखेको होला भन्ने लाग्थ्यो ।
म एमडी सकेर जब नेपाल फर्किएँ, संयोगले मेरो श्रीमती भरतपुर क्यान्सर अस्पतालमा एमडी गर्दै हुनुहुन्थ्यो । त्यही समयमा मैले पनि भरतपुर क्यान्सर अस्पतालमा काम गर्ने मौका पाएँ । नेपालको सबैभन्दा ठूलो क्यान्सर अस्पतालमा काम गर्न पाउनु मेरो लागि एउटा सौभाग्य थियो । यो अवसरले मलाई बिरामीको सेवा गर्न धेरै प्रेरित गर्यो ।
नेपालमा क्यान्सरका बिरामी उपचारको पहुँचमा आउन नसक्नुको मूल कारण के देख्नुहुन्छ ?
नाक, कान, घाँटीमा हुने क्यान्सरको समस्या भएका रोगीको संख्या नेपालमा बढेको छ । यसको प्रमुख कारण भनेको सूर्तिजन्य पदार्थ र रक्सी सेवन नै हो । क्यान्सर शुरुकै अवस्थामा उपचार गराएमा निको हुन्छ । तर नेपालमा अनभिज्ञ भएकै कारण रोग पूरै फैलिएर अन्तिम अवस्थामा अस्पताल आइपुग्छन् । अर्को भनेको नेपालको हेल्थ सिस्टम, दक्ष जनशक्ति नहुनु, परीक्षण प्रविधि गाउँ–गाउँसम्म नहुनाले क्यान्सरको पहिचान नै ढिलो हुन्छ ।
जतिबेला थाहा हुन्छ त्यतिबेलासम्म बिरामी निराश भैसक्ने र थप उपचारमै नजाने अवस्था छ । उपचारमा नजानुको मूल कारणहरुमा पहिलो त सामाजिक मिथ्या हो, क्यान्सर निको हुँदैन भन्ने धारणा । दोस्रो, आर्थिक कारण हो । नेपालमा स्वास्थ्य बीमा पनि छैन र क्यान्सरको उपचार आफैमा महँगो छ । आर्थिक भार ठूलै छ । उपचार गरेपनि क्यान्सर निको हुँदैन, किन पैसा सक्ने भनेर उपचारमा नआउनेको संख्या ठूलै रहेको छ ।
क्यान्सर रोगका बिरामी कुन उमेर समूहका बढी छन् ?
विश्वकै तथ्यांक हेर्दा क्यान्सरलगायत प्रायः रोग ५० वर्ष माथिका व्यक्तिमा नै देखिन्छ र नेपालमा पनि त्यस्तै छ । तर पछिल्लो समय नेपालमा मुखको क्यान्सरका बिरामी युवा अवस्थामा नै बढी देखा परेका छन् । यसको प्रमुख कारण सूर्तिजन्य पदार्थ गुट्खा, पान मसला, सुपारी, चुरोट, सूर्ति, हुक्का, गाँजा तान्नु नै देखिएको छ । सूर्तिजन्य पदार्थ जति लामो समय जति धेरै मात्रामा खायो उत्तिनै क्यान्सर बढी हुन्छ । सूर्तिजन्य पदार्थ सेवन शुरु गरेको १० देखि १५ वर्षको अवधिमा क्यान्सरका सेलको विकास हुने समस्याको शुरुवात भैसक्छ ।
पछिल्लो समय युवाहरुले माथि उल्लेख गरिएका पदार्थ प्रयोग गर्ने हुनाले सानै उमेरमा क्यान्सर शुरु भएकै हो । यसले धेरै अप्ठ्यारो भएको छ । भर्खर विवाह भएको हुन्छ, पहिलो बच्चा जन्मेको छ, जिम्मेवारी थपिएकै समयमा मूल मान्छे क्यान्सरबाट थलिएको हुन्छ । यस्तो अवस्थामा उसको आर्थिक भार पनि बढ्यो र समयमा उपचारको पहुँचमा पनि नपुग्ने सम्भावना थपिन्छ र निको हुने सम्भावना पनि कम भएर जान्छ ।
सूर्तिजन्य पदार्थ सेवन गरेको कति समयपछि क्यान्सर देखा पर्छ भन्ने कुनै अनुसन्धानले देखाएको छ कि ?
ठ्याक्कै यति नै वर्षमा देखा पर्छ भन्ने छैन । जति धेरै प्रयोग गर्यो त्यति नै छिटो जटिल क्यान्सर हुन्छ । दिनमा २० खिल्ली चुरोट खाने व्यक्तिलाई १० वर्षभित्र असर गरिसक्छ ।
क्यान्सर न्यूनीकरण गर्नका लागि के गर्नुपर्छ र कुन कुन निकायको सक्रियता जरुरी देख्नुहुन्छ ?
रोग लाग्नै नदिन रोकथामको काम गर्न सकिन्छ । समाजमा जनचेतनाको आवश्यकता छ । ९० प्रतिशत नाक, कान, घाँटीको क्यान्सर सूर्ति सेवनकै कारण हुन्छ जो जहाँतहीं सजिलै उपलब्ध छ । यस विषयमा सरकारले मूल्यलगायत कानुनमा समेत कडाइ गर्नुपर्छ । नेपालमा कानुन बनेपनि कार्यान्वयन नभएकै कारण यो समस्या जटिल बन्दैछ । विदेशमा कानुनको पूर्ण पालना हुने भएकै कारण समस्या न्यूनीकरण भएको हो ।
वास्तवमै न्यूनीकरण गर्न सरकारले सक्रियता देखाउने हो भने विद्यालयस्तरमै ८ कक्षा देखिका विद्यार्थीहरुलाई व्यावहारिक शिक्षा, अडियो, भिडियो देखाएर शिक्षा दिएमा सम्भव छ । सरकारले एक विद्यालय एक नर्सको अवधारणा ल्याएको छ यस विषयमा उहाँहरुलाई प्रयोग गरेको खण्डमा न्यूनीकरण गर्न मद्दत पुग्छ । विद्यार्थीलाई शिक्षा दिएमा आफू पनि सतर्क हुन्छन्, परिवार र समाजलाई पनि सतर्क गराउन मद्दत मिल्छ ।
परिवार, समाज र राज्यनै क्यान्सर न्यूनीकरणमा लाग्नुपर्ने हो ?
हो, पहिला रोग नै लाग्न नदिने उपाय सिकाउनुप¥यो । अर्को रोग लागिसकेकालाई शुरुको अवस्थामा कसरी पत्ता लगाउने भन्ने बारेमा स्थानीय स्तरमा तालिम प्राप्त जनशक्ति भयो भने रिफरल सिस्टम हुन्छ र न्यूनीकरणमा मद्दत मिल्छ । राज्यले बीमा र राहत दिदै आएको छ त्यो न्यून छ । बिरामीलाई अन्तिम पीडाको सहजीकरणका लागि हस्पिटालिटी हुनु जरुरी छ ।
क्यान्सर रोग लागेकाको उपचार मात्र हैन रोग नै लाग्न नदिन सरकारले ध्यान दिनुपर्ने हैन र ?
सत्य कुरा नै यही हो । क्यान्सर लागिसकेपछि उपचार गरेर मात्र हुँदैन । ८० प्रतिशत क्यान्सरका बिरामीहरु एड्भान्स स्टेजमा आउँछन् । यसो हुँदा उपचार पनि जटिल, खर्च पनि धेरै र निको हुने सम्भावना पनि न्यून हुन्छ । पहिलो शुरुको अवस्थामा रोग पहिचान गरी उपचार सहज बनाउने, दोस्रो टोबाकोे, सूर्तिजन्य पदार्थको बेचविखन र प्रयोगमा कडाइ, रोगका बारेमा समाजलाई सचेत गराउने शिक्षा दिने । तेस्रो उपचारमा सहज पहुँच स्थापित गराउने दायित्व सरकारकै हो ।
भूटानले सूर्तिजन्य पदार्थ प्रतिबन्ध नै लगाउन सफल भयो, नेपाल सरकारले सक्दैन र ?
नेपाल जस्तो सानो मुलुकले जनस्वास्थ्यलाई ध्यान दिने हो भने बन्द गर्न नसक्ने होईन । क्यान्सर उपचारका क्षेत्रमा ठूलो धनराशि मात्र सकिएको छैन, राज्य र परिवार विखण्डित भैरहेको छ । राज्यको होनहार जनशक्ति सूर्ति सेवनकै कारण मुटु, दम, क्यान्सरजस्ता दीर्घ रोगका शिकार भएका छन् र जनधनको नै ठूलो नोक्सानी भैरहेको छ । सूर्तिजन्य पदार्थ सेवन युवा पुस्तामा फेसन नै भएको छ यसलाई जनचेतनाको माध्यमबाट न्यूनीकरण गर्नैपर्छ ।
राज्यले सूर्तिजन्य पदार्थ न्यूनीकरण गर्न ल्याएको कानुनका बारेमा के टिप्पणी गर्नुहुन्छ ?
सरकारले पारित गरेको कानुन अत्यन्तै राम्रो छ तर कार्यान्वयनमा कडाइ गरिनुपर्छ । राम्रो नराम्रो के हो भन्ने छुट्याउन नसक्ने उमेर समूहलाई लक्षित गरी चिकित्सक, नर्सजस्ता व्यक्तिले शिक्षा दिएमा राम्रो छाप पर्छ र समाजमा सचेतना जगाउनसक्ने अनुसन्धानले देखाएको छ । यस्ता विषयमा सरकारको ध्यान पुगेमा सूर्तिजन्य पदार्थ मात्र हैन क्यान्सर रोग नै न्यूनकरण गर्न सहज हुन्छ ।
लामो समय प्रयोग गरिसकेकालाई कसरी छुटाउने ?
यो एउटा लत हो, त्यसमा निर्भर बन्नु व्यावहारिक समस्या हो । शारीरिक र मानसिक समस्या हो । नखाँदा शारीरिक रुपमा छटपटी भएको महसुस हुनु, निद्रा नलागेको महसुस हुनु मानसिक समस्या हो । सूर्तिजन्य पदार्थको लत छोड्न दृढसंकल्प नै प्रमुख कुरा हो । सूर्तिजन्य पदार्थ प्रयोग नगर्दा निद्रा नलाग्ने, गाह«ो हुने हुँदैन । भ्रमपूर्ण सोचले मात्र त्यस्तो भएको हो ।
गाँजा सेवनले उच्च शिक्षा हासिलका लागि कलेज जाने युवाहरुमा समस्या ल्यायो, पढाइ नै छोड्नेको संख्या बढ्यो भनेर अभिभावक र कलेजको गुनासो सुनिन्छ । गाँजा सेवनले क्यान्सर हुन्छ कि हुँदैन ?
गाँजा पनि क्यान्सर गराउने एउटा तत्व हो । गाँजासँग सूर्तिजन्य पदार्थ मिसाएर सेवन गरिन्छ । हुक्का तान्ने, गाँजा तान्ने सबै स्मोकिङ नै हो । यो खाने या खानेको साथमा बस्नेलाई पनि असर गर्छ । गाँजा साइको ट्रपिक ड्रग हो । त्यसले मानसिक समस्या बढाउँछ । नखाएको बेलामा मानसिक तनाव हुने पनि हुनसक्छ । गाँजाले क्यान्सर मात्र हैन, मानसिक समस्या पनि गराउँछ । गाँजा सेवन खुलेर भन्दा लुकेर गर्नेको संख्या युवा पुस्तामा बढ्दो छ ।
यो लत छुटाउन के गर्नुपर्ला ?
यसको लागि सहज उपलब्धता हुनुहुन्न र मनोपरामर्शदाताको भूमिका सम्बन्धित निकायले तोक्नुपर्छ । त्यस्ता क्षेत्रमा मनोपरामर्श केन्द्रहरुको व्यवस्था गर्नुपर्छ । सँगै हिंड्ने साथी (पियर प्रेसर ग्रुप) का कारण गाँजा सेवन बढेको छ । परिवार, शिक्षक, समाज सबैले मिलेर परामर्शकै माध्यमबाट छुटाउन सकिन्छ ।
अन्तमा केही भन्नु छ कि ?
क्यान्सर रोगको मूल स्रोत सूर्तिजन्य पदार्थ हो । समयमै रोग पहिचान गरेर उपचार गराउँदा निको हुन्छ । क्यान्सर निको हुन्न भन्नु अहिलेको समयमा भ्रम मात्र हो ।
प्रतिक्रिया