प्राज्ञिक थलोमा राजनीति सुहाउँदैन

0
Shares

दिलीप शाह
सुदूरपश्चिमको विकट जिल्ला जाजरकोट जन्मेर पढी हुर्केका दिलीप शाहले आफ्नो जागिर जीवनमा विभिन्न जिल्ला घुमिसक्नुभएको छ । आधा दर्जन कथा तथा उपन्यास लेखेर नेपाली साहित्यमा पाइलो टेक्नुभएका शाहसँग नेपाली साहित्यका विविध विषयमा केन्द्रित रहेर उहाँसँग नेपाल समाचारपत्रका लागि यदुप्रसाद भट्टले गरेको कुराकानीको सारसंक्षेपः

–तपाईं साहित्यकार कि व्यापारी ?
म साहित्यकार । व्यापारी होइन । मैले विशालबजार कम्पनीको म्यानेजमेन्ट मात्रै हेर्ने हो । मेरो यहाँ कुनै शेयर छैन । म व्यापारी हुँदै होइन । कसरी कुन आधारमा तपाईंले व्यापारी भन्नुभयो म छक्कै परेको छु ।

–साहित्यमा लाग्ने प्रेरणा कसरी प्राप्त भयो ?
पहिलो त मेरो परिवारमा दाइ पढेलेको मान्छे हुनुहुन्थ्यो । दाइले नै पढ्न उत्पे्ररित गर्नुभयो । दोस्रो म विद्यालयमा हुने वादविवाद, कवितावाचनजस्ता कार्यक्रममा पहिलो हुन्थेँ । तेस्रो कुरा म पढ्ने विद्यालयमा भर्खर वनारसबाट पढेर आएका शिक्षकहरु थिए । उनीहरुले काठमाडौंबाट २ सय जति नेपाली साहित्यका पुस्तकहरु बोकाएर ल्याएका थिए । सरहरुले विद्यालयमा मलाई एउटा कोठामा ती पुस्तक राखेर हेरविचार गर्न तथा अरुलाई पढ्न दिँदा नाम टिपेर दर्ता गरी दिन भनी भन्नुभयो । त्यही सिलसिलामा नजाँनिदो रुपमा सम, देवकोटा तथा बीपीका पुस्तकबाट प्रभावित भएछु । यसैले होला मलाई साहित्यतिर आकर्षित गरेको ।

–यहाँलाई अहिलेसम्म मन परेको कृति कुन हो ?
पहिले बीपीको कृति बढी मन परेको थियो । धेरै पढियो पनि । अहिलेको पुस्ताको चाहिँ महेशविक्रम शाहहरु बढी सशक्त लाग्छ । मैले कुनै पनि राजनीतिक दल विशेषका भनेर छानेर वा छुट्याएर पढ्ने गरेको छैन । तर पनि बीपीलाई विशुद्ध उपन्यासकारका रुपमा हेर्ने गरेको छु ।
–विधागत रुपमा छुट्याएर भन्नुपर्दा तपाईं कथाकार कि उपन्यासकार ?
विधागत रुपमा मलाई बढी कथा नै मन पर्छ । मेरो लगाव कथामा भनौं आख्यानमा बढी छ । यसको मतलब अरुमा छैन भन्ने चाहिँ होइन । उपन्यास पनि मेरो रोजाइको विधा नै हो त्यसैले त मैले कथा तथा उपन्यास दुवै विधामा कलम चलाएको छु ।

–तपाईका कृतिमा भाषिक शब्दावलीमा विविधता पाइन्छ । तराई, पहाड, हिमाल, गाउँ, शहर सबै छुनुभएको छ । कसरी होला ?
मलाई त्यो आमाको गर्भबाट आएको कुराहरु जस्ता लाग्छन् । स्वतःस्फूर्त रुपमा नै धेरै झर्रा शब्दहरुको प्रयोग भएको हो । मलाई फुरेपछि फु¥यो । कुनै निश्चित समय स्थानको आवश्यकता नै पर्दैन । जागिरको सिलसिलामा म ६८ जिल्ला घुमिसकेको छु । त्यसैले पनि धेरै ठाउँको परिवेश वातावरणका बारेमा मलाई ज्ञान छ । यसो समय मिल्दा तिनै परिवेश तथा भाषिकालाई आधार मानेर कथा लेख्छु ।

–प्रकृतिलाई कत्तिको मन पराउनुहुन्छ ? तपाईका कृतिमा त्यत्ति प्रकृतिको वर्णन गरेको पाइँदैन नि ?
प्रकृति र मानवबीच अन्योन्यास्रित सम्बन्ध छ । म एकदमै प्रकृति मन पराउने मान्छे हुँ, कसलाई प्रकृति मन पर्दैन होला र ? जहाँसम्म मेरा कृतिमा प्रकृतिको प्रसङ्ग छ । सायद यथार्थ घटनाक्रम, सामाजिक कुरीति, विसंगति आदि मेरा कथाका विषय बनेका छन्, हुन्छन् । त्यति धेरै प्रकृतिको वर्णनचाहिँ गरेको छैन ।

–अहिलेको युवा साहित्यकारको भविष्य कस्तो देख्नुहुन्छ ?
अहिले युवा साहित्यकारमा पठन संस्कृतिको विकास भएको मैले पाएको छैन । आफैं मात्र जान्नेसुन्ने, ठूलो भन्ने अहमता छजस्तो लाग्छ । हिजोको मान्छेमा एकले अर्कालाई के कस्तो लेख्यो भनी टीकाटिप्पणी गर्ने, समीक्षा गर्ने परिपाटी थियो । खै प्रविधिले हो कि केले हो मैले भर्खरै उदाउँदै गरेका साहित्यकारको भविष्य त्यति धेरै उज्जवल देखेको छैन ।

–तपाईं प्रयोगवादी कि यथार्थवादी साहित्यकार ?
म यथार्थ धरातलमा नै रहेर लेख्ने कोसिस गर्छु । प्रयोग गर्दागर्दै लेख्दालेख्दै प्रयोगवादीजस्तो देखिन्छ होला । तर मचाहिँ यथार्थवादी नै हुँ ।

–साहित्यका अन्य विधामा कत्तिको महत्व दिनुहुन्छ ?
म सबै विधालाई उत्तिकै महत्व दिन्छु । सबैको आफ्नै महत्व छ । अरुका कृतिलाई पनि उत्तिकै महत्व दिन्छु ।

–अन्त्यमा नेपाल समाचारपत्रमार्फत केही भन्न चाहनुहुन्छ ?
अहिलेको नेपाली साहित्यको विडम्बना भनौं कि के भनौं साहित्यकार भनेको पनि एमालेको, कांग्रेसको, माओवादीको भन्ने हुन्छ र ? प्रज्ञा प्रतिष्ठानजस्तो ठाउँमा राजनीतिक नियुक्ति सुहाउँदो होइन । एउटा खेमा बनाएर त्यसभित्र गुटउपगुटमा विभाजन गरी भागवन्डा गरिन्छ ।

हिजो व्यवस्थामा बिरलै यस्ता मान्छे प्रतिष्ठानमा छिरेका थिएनन् । तर आज राजनीतिक पहुँच, सोर्सफोर्सका आधारमा नियुक्त गरिन्छ । यस्ता व्यक्तिले नेपाली साहित्यलाई कसरी उचाइ प्रदान गर्लान्, शंकाको दृष्टिले हेर्नुपर्ने दिन आएको छ । प्राज्ञिक थलोमा राजनीति पटक्कै सुहाउँदैन ।