नेपाली भाषा उपेक्षित हुँदै पो छ कि !

0
Shares

गणेश तिमिल्सिना, भाषा ।
संस्कृतको ‘बोल्नु’ अर्थ रहेको ‘भाष्’ धातुमा ‘अङ्’ र ‘टाप्’ प्रत्यय लागेर ‘भाषा’ शब्दको निर्माण हुन्छ । शाब्दिक हिसाबले हेर्दा जे बोलिन्छ त्यो नै भाषा हो तर त्यो अर्थयुक्त हुनु जरुरी छ । मानिस सामाजिक प्राणी भएकाले आफ्ना भावना व्यक्त गर्न र अरूका भावना बुझ्न भाषाको प्रयोग गर्दछ ।

विचार–विनिमयका तीन तरिका (स्पर्श, सङ्केत र आवाज) मध्ये सबैभन्दा प्रभावकारी मानिएको आवाजभित्र पनि मानिसको बोलीसँग सम्बन्धित माध्यम भाषा हो । भाषालाई समग्रमा ‘विचार सम्प्रेषणका लागि प्रयोगमा आउने सामाजिक तथा परम्परित वाक्प्रतीकहरूको व्यवस्था हो’ भन्न सकिन्छ ।

नेपाली भाषा

संसारको सबैभन्दा ठूलो मानिएको ‘भारोपेली’ भाषापरिवारको ‘सतम्’ वर्गअन्तर्गत रहेको ‘आर्य–इरानेली’ शाखाबाट नै नेपाली भाषाको विकास भएको मानिन्छ । प्राचीन आर्यभाषामा वैदिक तथा लौकिक संस्कृत पर्दछन् ।

मध्यकालीन आर्यभाषामा संस्कृतबाट विकसित प्राकृत भाषाहरू पर्दछन् भने आधुनिक आर्यभाषाअन्तर्गत प्राकृत हुँदै अस्तित्वमा आएका बोलीचालीका नेपाली, हिन्दी आदि भाषाहरू पर्दछन् ।

संस्कृतबाट खस, मागधी, अर्धमागधी, महाराष्ट्री, शौरसेनी, पैशाची आदि प्राकृत भाषाहरू भए र तिनमा पनि खस अपभ्रंशबाट नेपाली भाषाको उत्पत्ति भएको हो भन्ने कुरामा धेरै विद्वान्हरूको मतैक्य पाइन्छ ।

नेपाली भाषा अन्य आर्यभाषासँगै एघारौँ शताब्दीमा देखापरेर विकसित भएको भाषा हो । यसलाई पहिला खस कुरा, सिञ्जाली भाषा र प्राचीन नेपाली भनेर व्यवहार गर्ने गरेको पनि पाइन्छ । जे होस्, राजा दामुपालको समयको १०३८ को अभिलेख नेपाली भाषाको पहिलो स्वरूप बोकेको अभिलेख मानिन्छ र एघारौँ शताब्दीबाट नै नेपाली भाषाको प्रादुर्भाव भएको ठह¥याइन्छ ।

त्यसपछि भाषाको विस्तारक्रम जारी रह्यो । सङ्ग्राम मल्ल, अशोक चल्ल, अक्षय मल्ल, आदित्य मल्ल, पुण्य मल्ल, पृथ्वी मल्ल, अभय मल्ल आदिका अभिलेख तथा भास्वती, राजा गगनीराजको यात्रा आदि ग्रन्थहरूको रचनासँगै नेपाली भाषाले वर्तमान स्वरूप प्राप्त गरेको हो । सोह्रौँ शताब्दीपछि विभिन्न अभिलेखका साथै नेपाली वाङ्मयले समेत धेरै उन्नति ग¥यो ।

सूचना तथा सञ्चारका क्षेत्रमा नेपाली भाषाको स्थिति

साञ्चारिक क्षेत्रमा भएको दु्रत प्रगतिले अहिले विश्वलाई नै एक घरमा रूपान्तरित गरिदिएको छ । चिठीपत्रबाट पत्रपत्रिका, पर्चा, रेडियो, टेलिभिजन हुँदै अहिले खबरहरू विभिन्न अनलाइन पोर्टलबाट इन्टरनेट प्रयोग गरी जहाँ बसेर पनि पढ्न सक्ने अवस्था छ र नेपाली भाषा लेख्य रूपमा धेरै नै विकसित भइसकेको छ । बस, ट्रक आदिमा लेखिने सायरीदेखि ठेगानासम्म पनि नेपाली भाषाको व्यापक प्रयोग देख्न सकिन्छ ।

साक्षर जनशक्ति बढेसँगै हामीले पोलदेखि लिएर पर्खाल, घरका भित्ता आदिबाट जानकारी पाउँदै आएका छौँ, खैर पर्खाल र भित्ता विज्ञापनको माध्यम बनाइनु कत्तिको सान्दर्भिक होला यो विचारणीय छ । कार्यालय, होटल आदिको चिनारीका लागि समेत राखिने ‘बोर्ड’ पनि सूचनाका स्रोत नै मानिन्छन् । साक्षरता बढ्दै गए तापनि यस्ता विभिन्न माध्यमहरूमा प्रयोग गरिने नेपाली भाषाको स्थिति भने धेरै हदसम्म दयनीय देखिन्छ ।

अ. पत्रपत्रिका

पत्रपत्रिका सूचना प्राप्त गर्ने सशक्त माध्यम हो र यो पाठ्य सामग्री हो । नेपालमा बीसौँ शताब्दीको सुरुवातपछि पत्रपत्रिकाको प्रकाशन हुन थालेको हो । शिक्षित जनशक्ति यसमा लाग्ने भएकाले नेपाली भाषाको विकासमा यसको स्थान सर्वोपरि छ । अहिलेसम्म आइपुग्दा सयौँको सङ्ख्यामा पत्रपत्रिका दैनिक, साप्ताहिक, पाक्षिक, मासिक आदि रूपमा प्रकाशित हुने गरेका छन् ।

धेरैजसो प्रचलित पत्रिकाहरूमा भाषा सम्पादनका लागि भाषा सम्पादकको नियुक्ति गरिएको हुन्छ । भाषाको व्यवस्था सुदृढ होस् भन्ने उद्देश्यले भाषा सम्पादनको काम गराएर धेरै पत्रपत्रिका प्रकाशित हुने गर्छन् तर यिनमा पनि केही पक्षमा भने आफ्नै व्यवस्था हावी भएको पाइन्छ । पत्रपत्रिकामा प्रयुक्त रूप: काठमाडौं, अंक, रुप । मानक रूप: काठमाडौँ, अङ्क/अङ्क, रूप ।

केही पत्रिकामा भने भाषालाई खासै ख्याल गरेको पाइँदैन । विशेष गरेर वर्णविन्यासगत धेरै त्रुटि भेटिन्छन् । व्यवसायका रूपमा मात्र प्रकाशन गरिने यस्ता केही पत्रिकाहरूमा पदसङ्गति (लिङ्ग, वचन, पुरुष, आदर) का तहमा पनि प्रशस्त कमजोरी रहने गरेको पाइन्छ ।

आ. रेडियो/एफएम

रेडियो÷एफएम सूचना सम्प्रेषण गर्ने अर्को प्रभावकारी माध्यम हो र यो श्रव्य सामग्री हो । नेपालमा विक्रमको एक्काइसौँ शताब्दीको सुरुवातबाट नै रेडियो भित्रिएको हो । हालसम्म आइपुग्दा स्थानीय एफएमहरूले गर्दा यसको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । श्रोतासामु भाषाको लेख्य रूप नपुग्ने भएकाले बोलीचालीको सन्दर्भमा भाषाको व्यवस्थिति राम्रै देखिन्छ तर नेपाली भाषामै सञ्चालित कार्यक्रमहरू तथा विज्ञापनलगायतका कुरामा अङ्ग्रेजी शब्दको बाहुल्य देखिन्छ भने नेपाली विकल्पहरूको न्यून प्रयोग हुन्छ ।

कार्यक्रम प्रस्तोता आपैmँमा सन्देशको संवाहक भए पनि अङ्गे्रजी शब्दहरू, वाक्य एवम् संवादको बेसी प्रयोग गरेर आपूmलाई आधुनिक साबित गर्न खोजेका हुन् कि भन्ने भान पर्न जान्छ । यिनमा एउटै कुरा पहिला अङ्ग्रेजीमा भनेर नेपालीमा अनुवाद गर्ने प्रवृत्ति पनि देखिन्छ । त्यति मात्र नभई विदेशी सामान धेरै पैसामा किनेर गुणस्तरीय र आकर्षक पहिरन लगाएँ भनेर गर्व गर्ने नेपाली समाजको झल्को स्तरीयता निर्धारणका लागि अङ्ग्रेजीमा दिइने विज्ञापनमा महसुस हुन्छ ।

विज्ञापन त झन् सबैले बुझ्नुपर्ने सरल र मौलिक भाषामा हुँदा पो प्रभावकारी हुन्थ्यो कि ! खैर, यसमा आआफ्नो बुझाइ रहन सक्ला । यसको अर्थ सकेसम्म आफ्नै भाषालाई बढावा दिऊँ भन्ने हो, अन्य भाषाबाट नेपाली प्रचलनमा आएका रुढ शब्दलाई समेत हटाई अरू शब्द खोजी गरेर प्रचलनमा ल्याऊँ भन्ने चाहिँ कदापि होइन । कतिपय भाषिकाहरूको प्रयोग गर्न खोज्दा पनि नमिलेर त्यसले विचलन निम्त्याउने गर्छ । केही उदाहरण ः लाइभ कन्भर्सेसन, लाइक………… लाइक…………, लिटरल्ली…………. लिटरल्ली……….., बट देन, टेक्निकल सपोर्ट, लास्ट गीत, सो अहिलेको टाइम, एउटा साइड एडभान्टेज अर्को साइड डिसएडभान्टेज – एउटा पक्ष फाइदा अर्को पक्ष बेफाइदा, यु डन्ट निड टु बि चेन्ज्ड – तपाईँ चेन्ज हुनुपर्दैन आदि ।

इ. टेलिभिजन/चलचित्र

टेलिभिजन सूचना सम्प्रेषणका लागि अहिलेको सबैभन्दा बढी उपयोगी माध्यम हो र यो श्रव्यदृश्य सामग्री हो । वि.सं. २०४१ सालमा नेपाल टेलिभिजनले प्रसारण सुरु गरेको थियो । अहिले धेरै टेलिभिजनहरूको स्थापना भइसकेको छ । धेरैपटक काटछाँट गरी टेलिभिजनमा विषयवस्तु प्रसारण गरिने भएकाले यसमा पनि भाषाको व्यवस्थालाई धेरै हदसम्म वास्ता गरिएको हुन्छ ।

व्यावहारिकतालाई हेर्ने हो भने नमस्कार भन्ने तर हात नजोड्ने प्रवृत्तिले अर्थ र संस्कृति बदलिन लागेको हो कि ! जिज्ञासा जाग्न सक्छ । कार्यक्रमको प्रसारणका क्रममा पनि हाइलाइट्स र ब्रेकिङ न्युजका सवालमा धेरै टेलिभिजनहरू चुक्ने गर्छन् । हतारमा छिटो खबर सम्प्रेषण गर्ने निहुँमा त्रुटिपूर्ण भाषाको प्रयोग हुने गरेको देखिन्छ यसका साथै चलचित्र प्रदर्शनको प्रारम्भमा सम्पादन गरेको जिम्मेवारी र नाममा पनि भाषाको भद्रगोल देख्न पाइन्छ ।

प्रयुक्त रूप ः परिक्षण प्रशारण, कम्युनिष्ट पार्टी, शृंखला, ………..को भनाई, व्यवसायीक, संगीत, छायांकन, द्धन्द, आवेदनसंगै । मानक रूप ः परीक्षण प्रसारण, कम्युनिस्ट पार्टी, शृङ्खला, ……….को भनाइ, व्यावसायिक, सङ्गीत, छायाङ्कन, द्वन्द्व, आवेदनसँगै ।

ई. विज्ञापन/बोर्ड/पर्चा

केहीको जानकारी गराउनुलाई विज्ञापन भनिन्छ । यो विज्ञापनको युग भएकाले अहिले यसका विभिन्न माध्यम भेटिन्छन् । हाम्रो देशमा कार्यालय भवनका पर्खालहरू, घरका बाहिरपट्टिका भित्ताहरू, पोलहरू आदिमा पोस्टर टाँसेर वा लेखेर तथा पेन्ट गरेर पनि विज्ञापन गर्ने चलन छ ।

यसरी गरिने विज्ञापनको औचित्यको सवाल र अव्यवस्था एकातिर हुँदाहुँदै यसमा प्रयुक्त भाषाको बेथिति अर्कातिर देखिन्छ । धेरै विज्ञापनमा वर्णविन्यासका विविध पक्षमा प्रहार भएको पाइन्छ । विज्ञापन मात्र नभएर कार्यालय, कम्पनीका बोर्ड तथा जानकारीमूलक पर्चाहरूमा पनि व्याकरणसम्मत भाषाको प्रयोगमा कन्जुसी नै देखिन्छ । विशेष गरेर यस्ता चिजहरूमा निम्नानुसारका त्रुटि पाइन्छन् ।

प्रयुक्त रूप ः गति सिमित, स्टील, निर्माण सामाग्री बिक्री केन्द्र, दोहोरी साझँ, काठमाण्डौ, ध्वनि प्रदुषण कम गरौँ । मानक रूप ः गति सीमित, स्टिल, निर्माण सामग्री बिक्री केन्द्र, दोहोरी साँझ, काठमाडौँ, ध्वनि प्रदूषण कम गरौँ ।
यिनमा प्रयोग गरिने भाषाले पाठकको मस्तिष्कमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले भाषिक अशुद्धिमा पाठकको प्रवृत्ति रहन जान्छ ।

उ. सवारी साधनमा प्रयुक्त सायरी, मुक्तक, भनाइ र ठेगाना

यातायातका साधनमा बस, ट्रक आदिले प्रमुख स्थान ओगटेका छन् । प्रायः यिनको पछाडिपट्टिको भागमा सायरी, मुक्तक तथा भनाइहरू लेख्ने गरेको पाइन्छ । प्रायः सुन्दर शैलीमा लेखिएका यस्ता रचनामा पनि विज्ञापनमा जस्तै भाषिक व्यवस्थाको ख्याल गरिँदैन । बसहरूमा लेखिएको ठेगानामा पनि बोलीचालीलाई आधार मान्ने गरेकाले हिज्जेगत अशुद्धि प्रशस्त रहेको महसुस हुन्छ ।

प्रयुक्त रूप ः अत्याधिक, व्याक्ति, पिरेम÷पिरिम, बेनि, आमाको आर्शिवाद, फेरी भेटौँला, जिबनभरी साथ दिने एउटै साथी रोजेको छु झुठो होईन भगवान कसम तिमीलाई नै खोजेको छु, नयाँ गाडी किनेर ड्राईभर लाई जिम्मा दिनु र भरखरै बिहे गरेर विदेश जानु उस्ता उस्तै हो, जिन्दगीले छिचोल्नुछ अभैm थुप्रै गल्छिहरू आकाश छुने कुरा गर्छन धर्तिका अल्छिहरू ।

मानक रूप:अत्यधिक, व्यक्ति, प्रेम, बेनी, आमाको आशीर्वाद, फेरि भेटौँला, जीवनभरि साथ दिने एउटै साथी रोजेको छु झुटो होइन भगवान् कसम तिमीलाई नै खोजेको छु, नयाँ गाडी किनेर ड्राइभरलाई जिम्मा दिनु र भर्खरै बिहे गरेर विदेश जानु उस्ताउस्तै हुन्, जिन्दगीले छिचोल्नु छ अभैm थुप्रै गल्छीहरू, आकाश छुने कुरा गर्छन् धर्तीका अल्छीहरू ।

ऊ. अनलाइन साइट

इन्टरनेट आजको विश्वको अपरिहार्य साधन बनेको छ । नेपालमा पनि इन्टरनेट अधिकांश मानिसको दैनिकी बनिसकेको छ । नेपालका दूरसञ्चार कम्पनीहरूले दिएको इन्टरनेट सुविधाका कारण मोबाइलमा नै इन्टरनेट चल्ने भएकाले प्रयोक्ताको सहजतालाई ध्यानमा राखी अनलाइन साइटहरू, त्यसमा पनि न्युज साइटहरू बढी खुलेका छन् । घटना घटेलगत्तै जतिसक्दो छिटो समाचार दिने काममा अनलाइन न्युज साइटहरू लागिपरेका हुन्छन् तर बढी लाइक र भ्यु पाउने हिसाबमा भाषिक पक्षलाई भने कतिपय अनलाइन न्युज साइटहरूले बेवास्ता गरेको पाइन्छ ।

भाषाप्रति उदासीन बनेका यस्ता न्युज साइटहरूले हिज्जे विचार नगरीकन समाचार छाप्ने गर्छन् । वर्णगत रूपसाम्यका कारणले केही वर्णहरू एउटाको सट्टा अर्कै छापिएका हुन्छन् । जस्तै ः ब–व, द्य–ध, य–ए, श–ष–स, द्व–द्ध, रु–रू, ँ – ंर्, – ¥ (र्), मात्रा ( ि– ी, ु – ू, े – ै, ृ – ्िर ) ।

उच्चारणलाई हेरेर लेख्दा पनि शब्दको मानक रूप बिग्रन जान्छ । जस्तै ः क्यै – केही, प्युन – पिउन, बइना – बैना आदि । कथ्य र लेख्य भाषाको ख्याल नगर्दा मानक भाषामा विकृति देखिएको हो ।

पदयोग (पदहरू जोडिनु) र पदवियोग (पदहरू छुट्टिनु) का सन्दर्भमा पनि धेरै त्रुटिहरू पाइन्छन् । पदवियोग गर्नुपर्ने तर प्रयोगमा पदयोग भएर आएका केही उदाहरण निम्नानुसार छन्:
प्रयोगमा आएका ः गरेरमात्र, मिल्नेगरी, हुनसकेको । लेखिनुपर्ने ः गरेर मात्र, मिल्ने गरी, हुन सकेको ।

माथिका जस्तै पदयोग गर्नुपर्ने तर प्रयोगमा पदवियोग भएर आएका केही उदाहरण निम्नानुसार छन् :

प्रयोगमा आएका: पौडेल समेत, कार्यक्रम अन्तर्गत । लेखिनुपर्ने ः पौडेलसमेत, कार्यक्रमअन्तर्गत । सम्बन्धी, लगायत आदि नामयोगीहरूको प्रयोगमा पनि पदवियोग गरिएका धेरै उदाहरण भेटिन्छन् ।

हिज्जेगत अशुद्धिका केही उदाहरणहरूलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ, जसमा कतै वर्णलोप, कतै मात्रापरिवर्तन, कतै वर्णपरिवर्तन, कतै कुनै संयुक्त अक्षरको स्थानमा अर्कै संयुक्त अक्षर, कतै पञ्चम वर्णगत त कतै टङ्कणगत अशुद्धि देखिन्छन् ः
प्रयोगमा आएका अशुद्ध रूप ः आतंकारी, फरी, नियंत्रण, कन्सट्रक्सन, सकिदा, आखडा, बताउदै, सोमबारदेखी, बिहिन, भउको, संयुत्त, प्रापत, शितल, महत्वकाङ्क्षी, एकिन, भनाई (भन्+आइ), शिलन्यास, बिस्थापित, द्धारा, केन्द्रिय । शुद्ध रूप ः आतङ्ककारी, परी, नियन्त्रण, कन्स्ट्रक्सन, सकिँदा, अखडा, बताउँदै, सोमबारदेखि, विहीन, भएको, संयुक्त, प्राप्त, शीतल, महŒवाकाङ्क्षी, यकिन, भनाइ, शिलान्यास, विस्थापित, द्वारा, केन्द्रीय ।

भाषाको अर्को मह¤वपूर्ण पक्ष हो, पदसङ्गति । कतिपय लेखाइमा सङ्गति मिलाइएको हुँदैन भने कतिपयमा भद्दा महसुस हुने गरी अत्यधिक संयोजकको प्रयोग गरिएको हुन्छ । एउटै लेखमा प्रयुक्त एउटै शब्दमा फरक–फरक वर्णहरूको प्रयोग (राजस्व – राजश्व) गरिएको पनि देख्न सकिन्छ । यसबाट वर्तमान परिप्रेक्ष्यमा भाषामाथि हदैसम्मको खेलाँची भएको बुझ्न सकिन्छ ।

त्रिभुवन विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम विकास केन्द्र आदिमार्पmत भाषिक संशोधन गरेर पछिल्लो समय सरलताका नाममा भाषामा परिवर्तन ल्याउन खोजेकाहरू र भाषाको पुरानै स्वरूपमा भाषिक पहिचान लुकेको हुन्छ भनी पुरानै नियमलाई मान्य बनाउन लाग्नेहरूका बीचको सङ्घर्षले केही समय लियो । यस समयमा भाषामा देखिएको भद्रगोलले नेपाली भाषालाई झन् विकृत बनाएको कुरा यहाँ स्मरणीय छ ।

नेपाली भाषाको स्तरीकरण
भाषाको स्तरीय रूपको विकास गर्ने प्रक्रिया नै स्तरीकरण हो । यसबाट नै भाषाको मानक रूप निर्धारित हुन्छ । नेपाली भाषाको स्तरीकरणका लागि पनि व्याकरण, कोश, पत्रपत्रिका आदिको प्रकाशन भएका छन् ।

फोर्ट विलियम कलेजका प्राध्यापक जे. ए. एटनले लेखेको पहिलो नेपाली व्याकरण ‘ए ग्रामर अफ द नेपाली ल्याङ्ग्वेज’ (१८७७) देखि अहिलेसम्म आइपुग्दा धेरै विद्वान्हरूको नाम व्याकरणकारको सूचीमा समाविष्ट भइसकेको छ ।

त्यसैगरी नेपाली भाषाका प्रथम कोशकार डब्लू. जे. कर्कपेट्रिकद्वारा सन् १८११ मा लिखित ‘एन एकाउन्ट अफ द किङडम अफ नेपाल’ देखि अहिलेसम्म धेरै कोशहरू प्रकाशित छन् भने नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कोशलाई आधिकारिक मानिन्छ । पहिलो व्याकरण र कोश विदेशीले रचना गरे पनि पत्रिकाहरूको प्रकाशनबाट नेपाली भाषालाई स्तरीकृत गर्दै लैजाने काम नेपाली विद्वान्हरूबाट नै भएको देखिन्छ ।

वि.सं. १९४३ मा मोतीराम भट्टको सम्पादकत्वमा बनारसबाट प्रकाशित ‘गोरखा भारत जीवन’, मोतीकृष्णको सम्पादकत्वमा १९५५ मा काठमाडौँबाट प्रकाशित ‘सुधासागर’, नेपालको अहिलेसम्म प्रकाशनमा रहेको जेठो पत्रिका ‘गोरखापत्र’ (१९५८) देखि ‘माधवी’, ‘शारदा’, ‘रूपरेखा’, ‘मधुपर्क’, ‘गरिमा’ आदिले नेपाली भाषाको स्तरीकरणमा उल्लेखनीय भूमिका खेलेका छन् ।

विभिन्न पुरस्कारको स्थापना तथा ‘गोर्खा भाषा प्रकाशिनी समिति’ (१९७०), ‘भाषानुवाद परिषद्’ (१९९४), तत्कालीन ‘रोयल नेपाल एकेडेमी’ (२०१४), ‘त्रिभुवन विश्वविद्यालय’ (२०१६), ‘साझा प्रकाशन’ (२०२१) को स्थापनाले भाषाको स्तरीय रूपको विकासमा विशेष सहयोग पु¥याएका छन् । शिक्षा मन्त्रालय, सूचना विभाग, पाठ्यक्रम विकास केन्द्रको पनि नेपाली भाषाको स्तरीकरणमा महŒवपूर्ण योगदान रहेको छ ।

समय–समयमा नेपाली साहित्यकार तथा भाषाविद्हरूले स्तरीकरणका लागि निकै प्रयास गरेका छन् । मोतीराम भट्ट, जयपृथ्वीबहादुर सिंह, सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान, महानन्द सापकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, अम्बिकाप्रसाद उपाध्याय, रूद्रराज पाण्डे आदिको प्रयास स्मरणीय देखिन्छ ।

वि.सं. १९६५ मा मातृकाप्रसाद अधिकारीको छद्म नामबाट राममणि आ.दी.ले ‘माधवी’ पत्रिकामार्फत हलन्त बहिष्कारवादी आन्दोलनलाई चर्काएका थिए । यसका केही कमजोरी भए पनि उनी र उनका समर्थकले चालेको यो कदम भाषाको सुदृढीकरणका लागि नै थियो ।

यसै गरी २०१३ सालमा बालकृष्ण पोखरेल, तारानाथ शर्मा, बल्लभमणि दाहाल, चूडामणि रेग्मी आदिले नेपाली लेखरचनामा अत्यधिक तत्सम शब्द र आगन्तुक शब्दको प्रयोगले नेपाली भाषाको पहिचान नै खतरामा पर्न सक्छ भनी झर्रोवादी अभियान चलाएका थिए । ‘नौलो पाइलो’लगायतका पत्रपत्रिका प्रकाशित गरी यस अभियानले हिन्दी तथा संस्कृत शब्दको अत्यधिक प्रयोगमा नियन्त्रण गरेको देखिन्छ । यसका पनि केही कमजोरी भने रहेका थिए ।

नेपाली भाषाको विकासमा स्तरीकरणका विभिन्न प्रयासहरू भएका देखिन्छन् । कुनै समयमा प्रकाशित हुनु नै स्तरीकरणको खुड्किलो मानिन्थ्यो भने अहिले नेपाली भाषा विभिन्न माध्यमबाट व्यक्त हुने गरेको सबैलाई थाहा नै छ । यही विभिन्नताले भाषामा पनि विविधता पैदा गरी भाषाको मानकतामाथि खेलबाड गरिरहेको सन्दर्भ कसैबाट पनि लुकेको छैन । व्याकरण र कोशबाट स्थापित मान्यतालाई मूर्त रूप दिएर मानकीकरणका लागि जुट्नुपर्ने समय आइसकेको कुरालाई भाषाविद्हरूले गम्भीरतापूर्वक लिनुपर्ने हो कि ! कुरूप भाषिक स्थितिले हाम्रै कुरूप पहिचानलाई जिस्काइरहेको पो हो कि !

उपसंहार
भाषा विचार–विनिमयको साधन मात्र नभएर पहिचान बोकेको गौरवशाली धन हो । भाषाकै माध्यमबाट हाम्रा सभ्यता, संस्कृति, इतिहास आदिले बाहिर प्रकट हुने मौका पाउँछन् । हाम्रो भाषा भनेको केवल भाषा नभएर चिनारी पनि हो । यसलाई जोगाउने जिम्मेवारी हाम्रै हो । यहाँनेर नेपाली नाट्यसम्राट्को मह¤वपूर्ण उद्गारलाई जोड्नु सान्दर्भिक रहला:
भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति ।

जीत वैभव भाषामै बाँच्दछन् पछिसम्म यी ।। – बालकृष्ण सम
भाषा विभिन्न माध्यमबाट अभिव्यक्त हुने भएकाले यसको व्यवस्थिति र स्थिरताका लागि हामी सजग हुनु जरुरी छ । त्यसमा पनि लेख्य रूपमा आएको भाषा स्थायी रहन्छ । अहिले सबैभन्दा ठूलो प्रहार भाषामा भएको देखिन्छ । हाम्रा शब्दहरूको प्रयोगमा कमी आउनु नै हामी कमजोर बन्दै जानु हो । त्यसमा पनि बेथिति रहँदा भाषाले आफ्नो स्वरूप छोड्छ । पछिल्लो पुस्तामा यसको गलत प्रभाव पर्दै जान्छ । भाषिक विचलन निम्तिने र व्यवस्थामा खलबल पुग्ने भएकाले भाषाका प्रयोक्ताहरू सधैँ सचेत रहनुपर्छ ।

भाषाको यस्तो खालको बेथितिको अन्त्यका लागि सरोकारवालाहरूले चासो देखाउनुपर्ने बेला आइसकेको छ । भाषाको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न नसक्दा निम्तिने दुष्परिणामको भागीदार हामी सबै हुनुपर्ने भएकाले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाली विभाग (त्रिवि) लगायतका संस्था तथा भाषाविद्हरूले ठोस कदम चाल्नुपर्ने देखिन्छ ।

भाषा बचाऔँ र पहिचान कायम राखौँ ।