चन्द्रमामा पनि मानव निर्मित प्रदूषण


वासिङटन (एजेन्सी) ।
पृथ्वीको सायदै त्यस्तो ठाउँ होला जहाँ मानवले फोहर नफ्याकेको होस् । अब चन्द्रमामा पनि यसबाट अछुतो रहेन । चन्द्रमाको सतहमा ७ सय ९६ मानवनिर्मित बस्तु छाडिएको नासाले जनाएकोछ ।

ती मध्य ७ सय ६५ अर्थात ९६ प्रतिशत अमेरिकी चन्द्र अभियानका क्रममा छाडिएका हुन् । यद्यपी ती बस्तुहरु चन्द्रमामा कहाँ छन् भन्न नसकिने अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । तर ती बस्तुहरु चन्द्रमामा नै छन् भन्ने यकिन गर्न सकिने एजेन्सीले जनाएको छ । नासाले यस सम्बन्धमा चन्द्रमाको एक नक्सा पनि जारी गरेको छ । यसमा ठुला बस्तु छाडिएका स्थानहरुलाई देखाइएको छ ।

अमेरिकाले सन् १९६० को दशकमा रेन्जर स्पेसक्राफ्ट मार्फत कयौं मानवरहित मिसन चन्द्रमा पठाएका थिए । यद्यपी यी अभियानमा सफलता भने पाउन सकेको थिएन । रेन्जर ४, ५, ६, ७, ८ र ९ चन्द्रमाको सतहमा ठोक्किएर दुर्घटनाग्रस्त भएका थिए । रेन्जर ३ प्राविधिक गडवडीका कारण चन्द्रमाको अर्को कक्षमा पुगेको थियो । त्यसपछि नासाले लुनार अर्थिटर पठाएको थियो । यसले पहिलो पटक मानव अवतरणका लागि उपयुक्त हुने चन्द्रमामाको सतहका तस्वीर पठाएको थियो ।

सर्भेयर प्रोग्रामलाई चन्द्रमाको सतहका लागि उपयुक्त हुने गरि डिजाइन गरिउको थियो । उक्त यानलाई पनि ६० दशकको उत्तरार्धमा प्रक्षेपण गरिएको थियो । यस यानले पनि अपोलो मिसनको अवतरण कहाँ हुन सक्छ भन्ने पत्ता लगाएको थियो । साथै सर्भेयरले चन्द्रमाको भु आकृतीको डाटा पनि संकलन गरेको थियो ।

सन् २००९ मा नासाले लुनार क्रेटर अब्जरभेसन एन्ड सेन्सरिंग स्याटलाइट पठायो । यसले चन्द्रमामा पानी बरफका रुपमा उपलब्ध रहेको जानकारी दियो । यस जानकारी अनुसार चन्द्रमाको दक्षिण धु्रव नजिकका धाँजा तथा खाल्डाहरुमा हिँउ हुन सक्छ ।

सन् १९७२ देखि ७२ सम्ममा मानवले चन्द्रमाको धर्तीमा मात्र ६ पटक कदम राख्यो । यस अभियानका क्रममा कयौं बस्तुहरु चन्द्रमाको धरातल मै छोडियो । यी बस्तुहरु कहाँ छन्, ती स्थानका बारेमा जानकारी छैनन् । नासाको नक्सामा हरेक एक विन्दुले एक बस्तुलाई प्रतिनिधित्व गर्छ ।

अन्तरिक्ष यात्रीहरुले करिब सबै पोर्टेबल लाइफ सपोर्ट सिस्टम चन्द्रमामा छोडेर आएका थिए । ती बस्तुहरु सबै अन्तरिक्ष यात्रीलाई उनीहरुको स्पेससुट भित्र जीवित राख्न मद्दत गर्थे । प्रायजसो ती बस्तुहरु आभियानका लागि सामान्य नै थिए ।

अपोलो १७ का अन्तरिक्ष यात्रीले रिस्ट मिरर चन्द्रमामा छोडेर आए । यो सौर्य उर्जाबाट बल्ने फ्ल्यासलाइट जस्तै हो । यसको पृथ्वीमा त्यति उपयोगीत छैन । यो बाहेक अन्तरिक्ष यात्रीहरुले चन्द्रमामा साबुन, एन्टिब्याक्टेरियल क्रिम, हाइजिन किट पनि छोडेका थिए ।