बाढी पहिरोको पूर्वतयारी गर्न माग, भारतसँग कुरा गर्नुपर्छः देउवा


काठमाडौं, (नेस) ।
पूर्वतयारी नगर्दा बाढीपहिराले ठूलो जनधनको क्षति भएको भन्दै सांसदहरुले पूर्वतयारी अपनाउन र पूर्वसूचना प्रणालीको विकास गरेर क्षति कम गर्नुपर्ने माग गरेका छन् ।

संघीय संसद् राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसदहरुले विकास निर्माणका कामम मापदण्डविना नै अगाडि बढाइएकाले बाढीपहिरोको घटना बढिरहेकाले पूर्वसूचना प्रणालीको विकास गर्नुपर्ने माग गरेका हुन् ।
सांसद मीना बुढाले बाढीपहिरोलगायत समस्या आउनुपूर्व नै पूर्वतयारी, सूचना दिने व्यवस्थित प्रणालीको विकास गरे कम क्षति हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिलकुमारी रावल थापाले असार २६ गतेपछिको अविरल वर्षाले आएको बाढीपहिरोले धेरै जनधनको क्षति भएको उल्लेख गर्दै पहिले नै तयारी नगर्दा क्षति कम गर्न नसकिएको बताउनुभयो । उहाँले पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाई नागरिकलाई पनि सचेत र जागरुक बनाइनुपर्नेमा जोड दिनुभयो ।

सांसद कोमल वलीले गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोका कारण केही घरका मानिस अझै विद्यालयमा आश्रय लिइरहेकाले उनीहरुको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले मृतकका परिवारलाई राहत र घर बगाएकालाई आश्रयको व्यवस्था गरिनुपर्ने माग गर्नुभयो ।

‘विनायोजना उपभोक्ता समितिमार्फत काम भइरहेको, उपभोक्ता समितिमार्फत काम गर्दा यन्त्रको प्रयोग गर्न नपाउने व्यवस्था भए पनि कार्यान्वयन हुनसकेको छैन’ –वलीले भन्नुभयो ।

सांसद जितेन्द्रनारायण देवले बाढीपहिरो प्रत्येक वर्ष नियमित आकस्मिक जस्तै हुने गरेकाले सरकारले रचनात्मक छलफलको विषय बनाई एउटा सहमतिमा पुग्नुपर्ने माग गर्नुभयो ।

सांसद सुमनराज प्याकुरेलले बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपका कारण खाद्यान्न अभाव हुनसक्ने देखिएकाले राहतका प्याकेजको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले बाढी र डुबान भएको क्षेत्रमा सर्प र कीराको समस्या बढेकाले आउनसक्ने समस्याका बारेमा समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक साउन १२ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

भारतसँग कुरा गर्नुपर्छः देउवा
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बाढी र डुबान समस्याको स्थायी समाधानका लागि सरकारले भारतसँग कूटनीतिक पहल गर्नुपर्ने माग गर्नुभएको छ ।

बाढी र डुबानका बेला एकले अर्कालाई दोष दिएर मात्र समस्या समाधान नहुने बताउँदै उहाँले डुबान र बाढीको समस्या अन्त्य गर्न भारतसँग कूटनीतिक स्तरमा संवाद गरेर स्थायी समाधान खोज्नुपर्ने बताउनुभएको हो ।
एकले अर्कोलाई गाली गरेर नहुने बताउँदै उहाँले बाढी र डुबान प्रभावित धेरै जिल्ला आफूले भ्रमण गरेकाले डुबान प्रभावित कतिपय क्षेत्रमा स्थानीय सरकारसमेत पुग्न नसकेको बताउनुभयो ।

घरविहीन भएकालाई खाद्यान्न लत्ताकपडा दिने र ओत दिने काम सरकारको भएपनि केही नगरेको सभापति देउवाले आरोप लगाउनुभयो । ‘सरकार भनेको दुःख परेको बेला चाहिने हो’, उहाँले भन्नुभयो– ‘यस्तो भयावह स्थितिमा सरकारले ध्यान दिएन ।’

बुधबार सबैको संसद्मा बाढीपहिरोबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै सभापति देउवाले नेपालले भारतलाई भारतले नेपाललाई दोष दिएर पन्छिन नमिल्ने धारणा राख्नुभयो ।

संघीय संसद्को प्रतिनिधिसभाको बैठकमा बाढी, पहिरो र डुबानपीडितको राहतका लागि ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ पेस गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा.मीनेन्द्रप्रसाद रिजालले बाढी, पीडित र डुबानपीडितको राहत, उद्धार र पुनस्र्थापनाका लागि प्रतिनिधिसभाको बुधबारबाट सुरु भएको बैठकमा सो प्रस्ताव पेस गरेका हुन् ।

नेता रिजालले पेस गर्नुभएको सो प्रस्तावको राष्ट्रिय जनता पार्टी, नेपालका सांसद राजकिशोर यादवले समर्थन गर्नुभएको थियो ।