तीन सय फर्मको भ्याट खारेज, ६८ को कारोबार रोक्का


सरोज यादव, विराटनगर ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले ६८ वटा व्यापारिक फर्मको सम्पूर्ण कारोबार रोक्का गर्नुका साथै बैंक खाता पनि रोक्का गरेको छ । कारबाहीमा परेका व्यावसायिक फर्महरूको घरजग्गा किनबेच गर्न पनि नपाउने गरी रोक लगाएको छ । त्यसैगरी २ सय ७२ वटा फर्मको भ्याट नम्बर खारेज गरेको छ ।

प्रमुख कर अधिकृत दिलिपकुमार गौतमका अनुसार यो एक आर्थिक वर्षभित्रमा गरिएको कारबाहीको विवरण हो । कारबाहीमा परेको व्यावसायिक फर्महरूबाट ८० करोड बराबर राजस्व उठाउन बा“की छ । राजस्व बुझाउन पटकपटक सूचना गर्दा पनि अटेर गरेपछि त्यस्ता व्यावसायिक फर्महरूलाई कारबाही गरेको हो । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७५ ÷०७६ मा ७ अर्ब १३ करोड ७८ लाख २४ हजार राजस्व संकलन गरेको छ ।

सो कार्यालयले लक्ष्यभन्दा ११ दशमलव २९ प्रतिशत बढी राजस्व संकलन गरेको हो । लक्ष्य ६ अर्ब ९० करोड २२ लाख ५१ हजार थियो । गत वर्षभन्दा १ अर्ब ६२ करोड बढी राजस्व संकलन भएको हो । सरकारले ४० करोडदेखि ८० करोडसम्मको कारोबार गर्ने व्यवसायीहरूको खाता मझौला करदाता कार्यालयमा राख्ने गरेको छ भने त्यो भन्दा बढीको कारोबार गर्नेहरू ठूला करदाताको कार्यालयअन्तर्गत पर्दछन् । आर्थिक वर्ष २०७५÷०७६ मा आन्तरिक राजस्व कार्यालय विराटनगरबाट १७ वटा व्यावसायिक फर्मको खातापत्र मझौला करदाताअन्तर्गत परेकोमा त्यति हु“दा पनि सो कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले मूल्य अभिवृद्धि करवापत १ अर्ब ३७ करोड ७ लाख १२ हजार, अन्तःशुल्क वापत ३ अर्ब ४२ करोड ६५ लाख ४१ हजार, आयकर वापत २ अर्ब ११ करोड ४४ लाख ९३ हजार राजस्व संकलन गरेको छ । ब्याज कर ७ करोड ३१ लाख, बहाल कर ९२ लाख ३८ हजार, स्वास्थ्य सेवा कर २ करोड ९९ लाख ४४ हजार, शिक्षा सेवा कर १ करोड ३७ लाख ९१ हजार रुपिया“ संकलन गरेको छ ।अघिल्लो आर्थिक वर्षमा भन्दा सबै कर असुलीमा वृद्धि भएको छ ।