ललितपुर महानगरपालिका अघि बढ्दै

९० सालको भूकम्पले ध्वस्त बनाएको सम्पदा पुनर्निर्माण तीव्र


ईश्वरराज ढकाल, ललितपुर । ललितपुर महानगरपालिकाले बिक्रम सम्वत १९९० सालको भूकम्पले ध्वस्त भएको मन्दीरको पुननिर्माणलाई तीब्रता दिएको छ । महानगरले ८६ वर्षपछि पुननिर्माणलाई तिब्रता दिएको हो ।

सम्पदा संरक्षण समूहको आर्थिक सहयोगमा महानगरले पाटन दरबार क्षेत्रको दक्षिण पश्चिममा रहेको सत्रौ शताब्दी पुरानो भाइदेगःको निर्माण अन्तिम चरणमा पु¥याएको छ । महानगरका मेयर चिरिवावु महर्जनले महानगर क्षेत्र र विशेष गरी पाटन दरबार क्षेत्रमा रहेको सम्पदा संरक्षण गर्ने योजना अनुसार सन् १९९० सालमा ध्वस्त भएको सम्पदा निर्माणलाई तीब्रता दिएको बताउनुभयो । समुहले तीन वर्ष अघि भाइदेगः मन्दीर पुनःनिर्माण शुरु गरेको हो ।

समुहका सचिव एवं वास्तुविद् डा. रोहित रंजितकारले तीन तले सो मन्दिरको पहिलो तलाको काम सकिएको जानकारी दिनुभयो । करिब ८ करोड रुपिया लागतमा निर्माण गर्न लागिएको सो मन्दिर बिसं १९९० सालको भूकम्पले ध्वस्त भएको महानगरले जनाएको छ ।

वास्तुविद रंजितकारका अनुसार कृष्ण मन्दिर कै शैलीमा निर्माण गरिएको र हाल सानो आकारमा व्यवस्थापन गरिएको दरबार क्षेत्रको उमामहेश्वर मन्दीरको समेत ड्रइङ डिजाइन तयार गरी पुनर्निर्माण गर्ने क्रममा रहेको जानकारी दिनुभयो ।

संस्कृतिविद् सत्यमोहन जोशी संस्थापक अध्यक्ष रहनुभएको समूहले पाटनका करिब आधा दर्जन भन्दा बढी मन्दिरको पुननिर्माण गरिरहेको छ । हाल सो संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनु भएको छ ।

हामीले बिसं २०७२ को भूकम्पले ध्वस्त भएका र बिसं १९९० साल अर्थात ८६ वर्ष अघि ध्वस्त भएका र केहीको अस्तित्व समेत नभएका मन्दिरको उत्खनन गरी पुननिर्माण गर्ने योजनामा रहेको मेयर महर्जनले बताउनुभयो । महानगरले पुरानो अदालत भवन संगै रहेको भष्मेश्वर महादेव, देगु तलेजुसंगै मुलचोकमा रहेको मन्दिर पुननिर्माण गर्ने तयारी गरेको छ ।

मेयर महर्जनले भष्मेश्वर महादेव मन्दिर पुननिर्माण गर्न महानगरले चालु आर्थिक बर्षमा ५० लाख रुपिया विनियोजन गरेको जानकारी दिनुभयो । हामी बिसं २०७२ सालको भूकम्पले ध्वस्त भएका सम्पदासंगै सन् १९९० सालको भूकम्पले ध्वस्त भएका मन्दिरको समेत पुनर्निर्माण गर्ने योजनामा छौ–मेयर महर्जनले भन्नुभयो ।

उहाले महानगर क्षेत्रमा रहेको सबै सम्पदाको विषयमा अध्ययन गरी भत्किएका र ध्वस्त भएका सम्पदाको पुनर्निर्माणलाई निरन्तरता दिएको बताउनुभयो । उहाका अनुसार पाटन दरबार क्षेत्रमो मुलचोकमा रहेको मुःछे आगनको समेत पुननिर्माण गर्ने योजनामा रहेको छ ।

२४ वर्षदेखि बन्द रहेको मुल आगनलाई खुला गरी खड्गजात्रालाई व्यवस्थापन गरी संचालन गरिएको उहाको भनाई थियो । हामी जनप्रतिनिधि आउनासाथ सो आगन तत्काल खुला गरी दशैको परम्परा संचालन गरेका हौ–मेयर महर्जनले भन्नुभयो ।

 

आफ्नो गाडी कटौती गरी ट्याङ्कर खरिद

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आफूलाई गाडी किन्न छुट्याएको बजेटले विरुवालाई पानी हाल्ने प्रयोजनका लागि दुई वटा पानी ट्यांकर खरिद गर्न आदेश दिएको जानकारी दिनुभयो । मेयर महर्जनले ललितपुर महानगर क्षेत्रलाई हरित महानगर बनाउने योजना अन्तर्गत विरुवामा पानी हाल्न र खानेपानी हाहाकार भएको अवस्थामा स्थानीयलाई पिउने पानी व्यवस्था गर्न ट्याङकर किनेको जानकारी दिनुभयो ।

महानगर जिन्सी शाखा प्रमुख सागर थापाले गएको आर्थिक वर्षमा जनप्रतिनिधिलाई सवारी साधन खरिद गर्न छुट्याइएको २ करोड रुपिया मध्य करिब ६२ लाख रुपियामा पानी ट्याङकर खरिद गरिएको जानकारी दिनुभयो । अन्य स्थानीय निकायका प्रमुख , उपप्रमुख लगायत जनप्रतिनिधिले आफु चढ्ने सवारी साधन खरिद गरेपछि केही स्थानमा विरोध भएको थियो ।

सडक किनारामा विरुवा रोपेपछि त्यसलाई हुर्काउने दायित्व स्थानीय निकायकै भएकोले महानगर क्षेत्रका सडक किनार र विस्तारित चक्रपथमा रोपिएका विरुवा संरक्षण गर्न मेयरले दुई वटा ट्याङकर खरिद गर्न आदेश दिनु भएको थियो । महानगरले गत आवमा सवारी सधान खरिद गर्न विनियोजन गरेको रकमबाट दुई पानी ट्याङकर बाहेक कुनैपनि सवारी साधन खरिद नगरेको थापाले जानकारी दिनुभयो ।

मेयर महर्जनले नेपाल समाचारपवत्रसंग भन्नुभयो– ‘म अहिले चढेको गाडी पनि चलिरहकै छ, कहिलेकाहीँ बिग्रिन्छ, मर्मत गरेपछि चल्छ ।’ कति पटक त आफैले घकेलेर गाडी चढेको छु । मलाई विलासिता भन्दापनि महनगरवासीलाई सेवा दिनु उपयुक्त भएकोले सवारी साधन नचढेको हुँ । मेयर महर्जनले १६ वर्ष पुरानो अर्थात सन् २००४ मोडलको बा ३ च ७८५२ नम्बरको सवारी चड्ने गर्नु भएको छ