मेगा बैंक १०औं वर्षमा


काठमाडौं, (नेस) ।
मेगा बैंक नेपाल १०औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालीन बैंकमा मेगा बैंकले सफलता प्राप्त गर्न सकेको बताउनुभयो ।
९ वर्षमा मेगा बैंकले शाखा सञ्जाल विस्तारमा ८ गुणा, एटीएम सञ्जाला ६ गुणा, निक्षेप संकलन १६ गुणा, कर्जा प्रवाह १५ गुणा, खुद मुनाफा आर्जन ७० गुणा, रोजगारीको अवसर सिर्जना ११ गुणा र राज्यलाई बुझाएको कर ७८ गुणाले वृद्धि गरेको बताउनुभयो ।

सरकारको मर्जर नीतिलाई आत्मसात गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएको अध्यक्ष शाहले बताउनुभयो । ‘मर्जरलाई हामीले नजिकबाट नियालिरहेका छौं । सोही अनुरुप मर्जर कमिटी बनिसकेको छ । मेगा बैंकले वित्तीय बजारमा प्राप्त गरेको परिचयलाई तथा आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्न हामीस“ग सामिप्यता राख्ने र सोच मिल्ने वित्तीय संस्थाहरुलाई आवद्ध गर्दै अझ सशक्त र व्यवस्थित ढंगले अगाडि बढनुको विकल्प हामीस“ग छैन ।’ अध्यक्ष शाहको भनाइ थियो ।

कार्यक्रममा मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताउनुभयो । एक दशकमै मेगा बैंकले समकालीन बैंकहरुको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मार्न सफल भएको बताउनुभयो ।

मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन १९ अर्ब बढेर करिब ८२ अर्ब पुगेको छ । त्यस्तै कर्जा प्रवाह १५ अर्ब ५० करोड बढेर करिब . ७३ अर्ब पुगेको छ । ग्राहक संख्या पनि झण्डै १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको छ । कर्जाको औसत आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार रहेको छ ।
देशभर मेगा बैंकका १०२ वटा शाखा र १९ एक्सटेन्सन काउन्टर छन् । १०२ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ केन्द्र र २५ सय मेगा रेमिट एजेन्ट रहेका छन् ।